16
वीरगंज ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले ‘सीमा बासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत सञ्चालन गरेको सात दिने केश कर्तक (हजाम) तालिम आइतवार विधिवत रूपमा सम्पन्न भएको छ।
जिल्लाको पकाहाँमैनपुर गाउँपालिका–४ लहावरथकरीस्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्ममा आयोजित एक विशेष समारोहका बीच तालिमको समापन गरिएको हो। समापन कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गणका गणपति एवं सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टले तालिम सफलतापूर्वक सम्पन्न गर्ने प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै कार्यक्रमको समापन गर्नुभयो। उक्त अवसरमा बोल्दै एसपी भट्टले सीमा क्षेत्रका नागरिकहरूसँग सुमधुर सम्बन्ध कायम राख्न र स्थानीय युवाहरूलाई सीपमुलक तालिममार्फत स्वरोजगार बनाउन यस्ता कार्यक्रमहरू प्रभावकारी हुने बताउनुभयो।
कार्यक्रममा सो गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक लोक नाथ उप्रेती, पकाहाँमैनपुर गाउँपालिका वडा नं. ४ र ५ का वडा अध्यक्ष तथा सदस्यहरू, मिर्जापुर र पकाहाँमैनपुर बि.ओ.पि. का प्रमुखहरू, प्रहरी चौकी खेस्राहाका प्रमुख, पत्रकार, सीमा सहजीकरण समितिका पदाधिकारीहरू तथा तालिममा सहभागी प्रशिक्षार्थीहरू लगायत गुल्मका कर्मचारीहरू गरी करिब ५० जनाको उपस्थिति रहेको थियो।
