Home » Blog » पार्टी जोगाउन मध्यमार्गी भूमिका आवश्यक छ : डा. कोइराला

पार्टी जोगाउन मध्यमार्गी भूमिका आवश्यक छ : डा. कोइराला

Ankushdaily
0 comment 8 views
काठमाडौं ।
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफू मध्यमार्गी धारमा उभिएकै कारण पार्टीभित्र विभिन्न किसिमका दबाब झेल्नुपरेको बताएका छन्। उनले मध्यमार्ग र सत्यको बाटो सधैं कठिन र चुनौतीपूर्ण हुने उल्लेख गर्दै अन्ततः विजय सत्यको पक्षमै हुने विश्वास व्यक्त गरे। आफू सत्यको मार्गमै अघि बढिरहेको र त्यसबाट विचलित नहुने उनको स्पष्ट भनाइ थियो।
पार्टी अतिवादको प्रभावमा परेको उल्लेख गर्दै डा. कोइरालाले आफू कुनै पनि अतिवादी घेराभित्र नपरी मध्यममार्गी बाटोमै दृढ रहने बताए। पार्टी अप्ठ्यारो अवस्थामा रहेका बेला मध्यमार्गी भूमिकामार्फत कांग्रेसलाई संकटबाट जोगाउनु आवश्यक रहेकोमा उनले जोड दिए।
छलफलका क्रममा सहभागी नेताहरूले पार्टीको १५औँ महाधिवेशनको विषयमा अन्योल कायमै रहेको र त्यसको सुनिश्चितता आवश्यक रहेको धारणा राखे। तोकिएको मितिमा निर्वाचन हुनेमा ढुक्क हुन नसकिने अवस्था रहेको उनीहरूको भनाइ थियो।
आज काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै डा. कोइरालाले यही फागुन २१ गते हुने निर्वाचनमा आफू सहभागी हुने जानकारी दिए। देश र लोकतन्त्र संकटमा रहेकाले निर्वाचनमा जानु नै एकमात्र विकल्प रहेको भन्दै उनले नेता–कार्यकर्तालाई सक्रिय सहभागिताका लागि आह्वान गरे।
निर्वाचन सहज बनाउन माघ ६ गते तोकिएको मनोनयन मिति सार्न निर्वाचन आयोगसँग अनुरोध गरिएको जानकारी पनि उनले दिए। साथै, सरकारले निर्वाचनको अनुकूल वातावरण सिर्जना गरी सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने भए पनि हालसम्म त्यसको स्पष्ट प्रत्याभूति नभएको बताए।
पार्टीभित्र देखिएको विवाद अदालतमा पुगेकाले अदालतको निर्णय स्वीकार गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले निर्वाचनसँगै १५औँ महाधिवेशनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।
कार्यक्रममा सुझाव राख्ने क्रममा जिल्लाका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आयोगबाट अन्याय भए पनि अदालतले न्याय गर्नेमा विश्वास रहेको बताएका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.