Home » Blog » म राजेशमानको वकालत गर्छु !

म राजेशमानको वकालत गर्छु !

Ankushdaily
0 comment 219 views

(स्तम्भकार कुमार रुपाखेती)

केही मान्छेहरू हात धोएर राजेशमानको पछि लागेको देखिन्छ । उनको रेल्वे म्युजियमको विरोध हुन्छ, स्विमिङ पुलको दुरुपयोग भयो भनिन्छ, सरकारी लगानीको जग्गामा माछा, बाख्रा पालेर बदमासी गर्‍यो भनिन्छ । जथाभावी कर्मचारी भर्ना अनि निकाल्यो भनिन्छ । वहालवालाले समयमा तलब पाएन, रिटायर्ड हुने कर्मचारीले सेवा सुविधा, तलब भत्ता पाएन भन्ने हल्ला हुन्छ ।

विपक्षीहरूले यस्ता थुप्रै घटनाहरू चर्चामा ल्याएपछि मलाई उनको अनुहार सम्झेर “बेचारा राजेशमान” भन्न मन लाग्छ । संघ सरकारले सिफारिस गरेर पठाएको नयाँ हाकिमको गन्ध राजेशमानलाई मन परेन अनि हाजिर गर्न दिएनन् । नयाँको गन्ध पनि पुराना अरविन्द कर्णझैँ मगमग बास्ना आउने हुनुपर्ने राजेशमानको अडानलाई म काविले तारिफ मान्छु । कार्यकक्षमा राष्ट्रपतिको फोटो राख्न अटेर गर्ने राजेशमानको सामु नाथे नयाँ हाकिम ?

तपाईंहरूलाई अनौठो लाग्ला – म वकिल नभए पनि राजेशमानको वकालत गर्छु ।सरकारले नयाँ हाकिमलाई हाजिर गर्न नदिएको बहानामा राजेशमानको अफिस, महानगरपालिकाको आर्थिक, प्रशासनिक अधिकारमा बन्देज लगाएर हातमुख जोर्न गाह्रो भएकाले बिचरा मेयरले केहीसँग मिलेर “काले काले मिलेर खाऊ भाले” भन्दै छपकैयामा रहेको फोहर पानी प्रशोधन केन्द्रमा माछा र बाख्रा पालेर रोजीरोटीको प्रवन्ध गर्नु कहाँको अपराध हो ? उल्टै अख्तियारले पूर्जी काटेर बोलाउन मिल्छ ? बालेन सरकारले भन्छ – “स्वरोजगार बन, आफ्नो रोजगारी स्वयं सृजना गर।” अनि राजेशमानले माछा, बाख्रा पालेर स्वयं रोजगारी सृजना मात्र गरेनन्, अरविन्द्र कर्ण जस्ताहरूलाई रोजगारी समेत दिए । सरकारी लगानीको पानी प्रशोधन केन्द्रबाट माछा, बाख्रा बेचेको कर राजस्व तिर्नु पनि आवश्यक छैन । किनकि उनि स्वयं मेयर हुन र पालिका भन्दा माथिका हुन । उन्ले विगतमा थुप्रै नचाहिँदो गरेर कसले के ख्यास्न सक्यो ।

सरकारले राजेशमानले नियम मिचेर बनाएको जनस्वास्थ्य प्रयोगशाला भाँच्न सक्छ? हिजो ठूला-ठूला काण्ड गर्दा ओली, देउवा सरकारले केही गर्न नसक्ने, अहिले रा.स्व.पा.को एकल सरकारले पनि केही गर्ने आँट गर्न सक्दैन । तर बेला-बेलामा म राजेशमानलाई “धन बढेको राम्रो, मन बढेको नराम्रो” भनेर सम्झाउँछु । तर उनले आफ्नो तार्किक तर्कले मलाई नै कनभिन्स गरिदिन्छन् ।

अस्ती मैले भनेको साहेब – छपकैयाको सरकारी सम्पत्तिमा माछा, बाख्रा पालन गर्दा अरूको आँखा लाग्छ, बरु स्वीमिङ पोखरीमा पानी भरेर माछाका भुरा छाडि दिऊ, घडिअर्वा पोखरी पनि हजुरकै हो । तर उनको साहस मान्नै पर्छ, उनले कसैले नदेख्ने छपकैया पानी प्रशोधन केन्द्रलाई माछा पालन, बाख्रा पालन र खेती मिसानीलाई “लुट कान्छा लुट” को क्षेत्र बनाए । यसरी उनको दुस्साहसलाई पनि म सलुट गर्छु । हेर्दै जानु होला, विगतमा झैँ यसपालि पनि वैशाख १४ गते अख्तियार कार्यालय हेटौडाबाट मोछमा ताव दिँदै मुसुमुसु हाँस्दै जितेर आउनेछन् र म उनको पिठ्यू थपथपाउँदै क्या बात, “हाम्रो अजेय मेयर जिन्दावाद” को नारा लगाउँछु । उधारो लिएको नतिर्ने उनको पुरानै बानी हो ।

यस्ता थुप्रै साहसिक कारनामा गर्ने बाइज्जत बरि हुने कला राजेशमानमा छ भन्ने कुरामा म ढुक्क छु । काग कराउँदै छ, पिना सुक्दै छ भन्ने साहेबको महान वाणीले प्रभावित म सधैं साहेबको वकालतमा निःशुल्क हाजिर रहन्छु ।

साभार:- अंकुश दैनिक पत्रिकाबाट

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.