Home » Blog » थोरै सुन्ने, कम बोल्ने, धमिलो देख्ने अर्थात् बालेन

थोरै सुन्ने, कम बोल्ने, धमिलो देख्ने अर्थात् बालेन

Ankushdaily
0 comments 46 views
(स्तम्भकार कुमार रुपाखेती)
बालेन साहको थुप्रै अवगुण हुन सक्छन् । तर तीन वटा विशेषता काबिले तारिफ छन् । पहिलो त उनी कम बोल्छन्, दोस्रो कान कमजोर छ, कम सुन्छन्, तेस्रो कालो चश्माले गर्दा कम देख्छन् । अब आँखा तेजिलो भएको भए कानले सुन्ने भएको भए, राष्ट्रपति रामचन्द्रलाई चिनेको भए राष्ट्रपतिले भाषण गरिरहँदा किन उठेर लुरुलुरु जान्थे ।
आफैले बनाएको नीति तथा कार्यक्रम कण्ठ भएकाले अथवा दिसा पिसाबले च्यापेकाले अथवा कुनै चिजको तलतलले गर्दा वा राष्ट्रपतिको घोद्रो स्वर सुन्न नसकेर उनी सदनबाट बाहिरिए । अर्को महत्त्वपूर्ण कुरा के छ भने बालेन संघ, संगठन, संस्था बलियो भएको, संगठित भएको देख्न चाहँदैनन् तर अदालती आदेशले उनको चाहनामा ब्रेक लगाई उनको मूड अफ भएकोले उनी हान्ने गोरु झै सदन छाडेर निस्किए । राष्ट्रिय पोसाक दौरा सुरुवालदेखि उनी परहेज गर्छन् । उनी रा.स्व.पा को कार्यक्रम, बैठक र रा.स्व.पा.को केन्द्रीय कार्यालय जाँदैनन् । गिरिजाप्रसाद कोइरालाले गणेशमान सिंहलाई सर्वमान्य नेताको पगरी भिराए झै रवि लामिछानेले बालेनलाई रा.स्व.पा.को शीर्ष नेताको बिल्ला भिराएका छन् । अनि शीर्ष नेता रा.स्व.पा.को छोटे नेताहरूको बैठकमा किन सिरकत गर्ने । जंगेपारामा देश हाँकेकै छन् । आफ्नो ‘गोरे गोरे मुखडा’मा कालो चश्मा लगाएकै छन् ।
राष्ट्रपतिको गन्थन मन्थन वाला भाषण सुनेर, दौरा सुरुवालमा ठाटिएर अथवा बेफ्वाँकमा दलको बैठकमा भाग लिनुभन्दा घर पुगेर श्रीमतीसँग बसेर छोरी खेलाउन बालेनलाई आनन्द आउँछ । अनि त “मन चंगा त कठौति मे गंगा” भन्दै उनी घरतिर कुलेलाम ठोक्छन् । प्रधानमन्त्री बनेपछि र्‍याप गीत गाएर टाइम पास गर्न समेत बिचरालाई अफ्ठ्यारो छ । राष्ट्रपतिको नसुन्नेले सभापति लामिछानेको किन सुन्थे ? घण्टीछापवाला भन्छन्, सय दिनसम्म बालेनको विरोध गर्नु अनुचित हो रे । “अरे बाबा जसले तीस दिनमै चारैतिर भद्रगोल गरिसक्यो, उसले त सय दिनमा सत्यानास, हायलकायल, सर्वनास पनि गर्न सक्छ । अनि कसरी सय दिनसम्म टुलुटुलु हेरेर बस्ने भन्दै दलहरू सुगबुगाउन थालेका छन् । तर जो जति सुकै हरकतमा आए पनि आफ्नै पार्टी सभापतिको नसुन्नेले राष्ट्रपति अथवा विपक्षीको सुन्ने कुरै आएन किनकि जसको बोल्ने, सुन्ने, देख्ने क्षमता हुँदैन उसले जनताको पनि सुन्दैन । विपक्षीको सुन्न नचाहेर अध्यादेश ल्याएकै हो । गाँधीले भनेकै छन् – “बुरा मत सुनो, बुरा मत बोलो, बुरा मत देखो ।” स्याबास प्रधानमन्त्रीज्यू ।
सदनमा तपाईँको दुई तिहाइभन्दा विपक्षी बलवान छन् भन्ने हेक्का तपाईँलाई रहेछ । भारतमा मोदीको हलुका हर्कतलाई भारीभरकम भनि प्रस्तुत गर्ने भारतीय मिडियालाई “गोदी मिडिया” भनिन्छ । सञ्चारमा तपाईँलाई बड्का हस्ती देखाउने होडवाजी नेपालदेखि विदेशसम्म सक्रिय रहेछन् । गोदी मिडिया भने झैँ नेपालमा तपाईँको हावादारी तारिफ गर्नेहरूलाई “शाह मिडिया, वाह मिडिया” भनिन्छ । आगे बालेनजी आफैँ र्‍यापर गीतकार हो, यसैमा एउटा र्‍याप गीत जाओस् ।
स्मरण रहोस्, लोकल चुनाव, स्थानीय तहमा आफ्नो पार्टी बुरी तरह पराजित भएपछि ब्रिटेनका प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ । हाम्रो स्थानीय तहको निर्वाचन परिणामले तपाईँको हविगत समेत ब्रिटेनका प्रधानमन्त्रीजस्तो नहोस् । आगे आपकी मर्ज़ी ।

सम्बन्धित पोस्टहरू