Home » Blog » गर्छिन पुकार आमा, रोईकराई जोडले …

गर्छिन पुकार आमा, रोईकराई जोडले …

Ankushdaily
0 comments 11 views
(स्तम्भकार कुमार रुपाखेती)
स्व. कवि म.वि.वि. शाहको मत हुने कविता “गर्छिन पुकार आमा रोई कराई जोडले, सक्दीन हेर्न भन्छिन् सन्तान थरि थरिका… आज सान्दर्भिक देखिन्छ ।” केही समय अघि नेपालमा के.पि. ओली अर्थात ”बा” युग थियो, त्यसपछि सुसिला कार्कीको “आमा” शासन शुरु भयो । अहिले वालेन युगको चकाचौंध छ । आमाले भविष्यमा राष्ट्रपति पाउनु त कता हो कता, उल्टै आमाका चहेता आदर्श श्रेष्ठको पदखोसुवा भयो, आमाकी चहेती सपना मल्लको प्रधानन्यायाधीश बन्ने सपना चकनाचुर भयो, आमाकै सुविधाको सरकारी गाडी खोसियो । यसरी राष्ट्रपति बन्ने आमाको ख्वाइस अधुरो रहने भए पछि आगबबुला भएकी आमाको दिन अचेल वालेनलाई गाली गर्दै बित्न थालेको छ ।
हिजो साख्यै आमा छोरा देखिने सुसिला र वालेन अब सौतेला व्यवहारमा उभिएका छन् । आमाको राष्ट्रपति पदमा बाबुराम भट्टराईले आँखा लगाए रे । घाटघाटको पानी पिएका बाबुराम आमाको प्रधानमन्त्री पदको शपथ ग्रहण कार्यक्रममा उपस्थित भए, गोरखाबाट रा.स्व.पा. लाई सहयोग गर्न सांसदको उम्मेदवारी फिर्ता लिए । यसरी भावी राष्ट्रपति पद “एक अनार सौँ बिमार” सावित हुँदैछ । त्यसो त पद जोगाउन राष्ट्रपति रामचन्द्र पौडेल समेत “जसो जसो बाहुन बाजे, उसो उसो स्वाहा” भन्दै वालेन मन्त्र जप्न विवश छन् । पूर्व राजा ज्ञानेन्द्र पहिले देखि नै (दरबार हत्याकाण्ड पछि) देश, देशाटन गर्ने, मन्दिर र डाँडाकाँडा घुम्ने गरेका थिए । त्यतिखेर राजाको धार्मिक भ्रमणमा समेत ओली, प्रचण्डहरू राजनीतिको गन्ध देख्थे र राजालाई धम्क्याउँथे ।
समयले कोल्टे फेर्‍यो, आज ओली, प्रचण्डहरू गाउँघर घुम्न गाह्रो भएको छ । राजा नंखुलेआम, बेरोकटोक घुम्दैछन् । राजाको विरोधको कुरा छोडौं, वालेनले भित्ता सम्म पुर्‍याउँदा समेत ओली र एमाले अक्क न बक्क छन् । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वेच्छाले विदेशबाट नफर्के इन्टरपोलको सहयोग लिने रे । अनि सहकारी ठग जी.बी. राईलाई खोजतलास नगर्न रे । एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयमा खाली गराउने रे । बिगार्न, भत्काउने, समात्ने, तर्साउने बाहेक रा.स्व.पा.को बहुमतको सरकारले केही लछारपाटो लगाउन सकेको छैन । रा.स्व.पा.को एकलौटी पेलाई र बलमिच्याइँ देख्दा मुलुकबाट पञ्चायती व्यवस्था झै कांग्रेस, कम्युनिष्टहरूको समेत सफाया भइसकेको आभास हुन थालेको छ । कांग्रेस, कम्युनिष्टहरू त दुलो पसेको बेला बिचरी सुसिला आमा, रोई कराई जोडले…

सम्बन्धित पोस्टहरू