संतोष रन्जितकार
वीरगंज, २७ पुस ।
जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले संविधानमै नभएको अधिकारको प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् । बीरगन्ज श्रीपुरस्थित लालबंगलामा सोमबार आयोजना गरिएको बृहत विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनताको सार्वभौमिक अधिकार कुण्ठित गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई नभएको बताएका हुन् ।

वर्तमान प्रधानमन्त्री ओलीले देशमा अधिकारको लागि भएको लोकतान्त्रिक आन्दोलनको उपलब्धिलाई समाप्त गर्ने खेलको रुपमा प्रतिनिधि सभा भंग गरेको यादवले आरोप लगाए । प्रधानमन्त्री ओलीको प्रतिनिधिसभापछि प्रदेशसभा भ· गर्ने तथा संघियतालाई समेत भ· गर्ने मनसाय बनाएको बताए । उनले प्रतिनिधिसभा भंग गर्ने षडयन्त्र त्यसको पहिलो कदम रहेको यादवले बताए । पार्टीको घरेलु झगडामा जनताको कुनै दोष नरहेको भन्दै यादवले अनाहकमा जनताको अधिकारलाई ओलीले कुण्ठित गर्न खोजेको आरोप लगाए ।
जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादवको अध्यक्षतामा सम्पन्न भएको विरोध सभालाई सम्बोधन गर्दै जसपाका कार्यकारणी सदस्य लक्ष्मणलाल कर्णले ओलीले संविधान नै नपढेको टिप्पणी गर्दै भाई–भाईको झगडामा ओलीले बस्तीमै आगो लगाएको बताए । ओली संविधान विरोधी, लोकतन्त्र विरोधी तथा संघियता विरोधी रहेको आरोप लगाउदैं विघटित प्रतिनिधिसभाका सदस्य समेत रहेका नेता कर्णले ओली बदमास प्रवृतिका मान्छे भएकोले उनलाई कारवाही गर्नु पर्ने बताए । नेता कर्णले कांग्रेस माथि कटाक्ष गर्दै पानी बिनाको माछा जस्तै कांग्रेसको अवस्था रहेको वताए । कांग्रेस अब छट्पटिएर मर्ने कर्णले दाबी गरे ।
त्यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश नं. २ का मुख्यमन्त्री लालबावु राउत गद्दीले ओलीको कदम गैरसंवैधानिक रहेको कुरा देशका चार पूर्व न्यायधिशहरुले समेत खोलेर बताई सकेकाले सर्वोच्चको फैसला जनताको पक्षमा आउने दाबी गरे । मुख्यमन्त्री राउतले ओलीले संविधान नै नपढेको हठी मान्छे रहेको टिप्पणी गरे । ओली पार्टी र देश दुवै चलाउन असफल रहेको यो सरकार काण्डै काण्डमा फसेको आरोप समेत लगाए ।
विरोधमा सभामा बोल्दै विघटित संसदका सांसद प्रदीप यादवले चुनावसँग जसपा नडराएको भन्दै त्यो भन्दा पहिला संविधानको रक्षा गर्ने सवालमा पनि पछि नहट्ने बताए ।
सोही कार्यक्रमका बीच पर्सा क्षेत्र नं. ३ को क बाट प्रदेश सभा सदस्य पदमा निर्वाचन लडेका नेपाल संघीय समाजवादी पार्टीका नेता भगवान गिरीलाई जसपा अध्यक्ष यादव लगायतले फुलमाला अबिर लगाई जसपामा स्वागत गरेका छन् ।
बीरगन्जको लालबंगलामा आयोजना भएको बृहत विरोध सभा अगाडि हात्ती, घोडा तथा बाजागाजा सहित जसपाले जनप्रदर्शन गरेको थियो ।
सो सभामा विघटित प्रतिनिधिसभा सदस्य रामसहाय यादव, हरिनारायण रौनियार, प्रदेशसभा सदस्य सिंहासन कलवार, रमेश पटेल, करिमा बेगम, जन्नत अंसारी, प्रह्लाद गिरी, बीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, सुरेन्द्र कुर्मी, शशिकपुर मियाँ, सुनिल सिरोहिया, राजेशमान सिंह, प्रदिप जैसवाल लगायत बारा र पर्साका नेता कार्यकर्ताहरु उल्लेखनीय उपस्थिति रहेको थियो ।