Home » Blog » बैना लिएर जग्गा नदिएको आरोपमा अञ्जु देवी र मयंक केडियाविरुद्ध प्रशासनमा उजुरी

बैना लिएर जग्गा नदिएको आरोपमा अञ्जु देवी र मयंक केडियाविरुद्ध प्रशासनमा उजुरी

Ankushdaily
0 comments 425 views
वीरगञ्ज ।
पर्साको वीरगञ्जमा करोडौँको जग्गा कारोबारलाई लिएर गम्भीर आर्थिक विवाद सतहमा आएको छ। सम्झौताअनुसार बैना रकम बुझाइसकेपछि जग्गाधनी पक्षले नामसारी गर्न अस्वीकार गरेको तथा उल्टै धम्की दिएको आरोपसहित पीडित पक्षले मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दर्ता गराएको हो।
वीरगञ्ज महानगरपालिका–१४ निवासी ५५ वर्षीय वीरेन्द्र प्रसाद कुर्मीले काठमाडौंको नक्साल बस्ने ७१ वर्षीया अञ्जु देवी केडिया र उनका भतिज मयंक केडियाविरुद्ध दर्ता नम्बर १६२० (मिति २०८३ वैशाख २९ गते) मा निवेदन दिएका छन्।
उजुरीअनुसार, विपक्षी अञ्जु देवीको नाममा रहेको पर्साको साविक भिस्वा गाविसस्थित जग्गा ५ करोड ७५ लाख रुपैयाँमा खरिद गर्ने सहमति भएको थियो। उक्त कारोबार मिलाउन विपक्षीका कर्मचारी भनिएका शानवाज अलाबेजमार्फत ९ लाख ५१ हजार रुपैयाँ बैना (टोकन मनी) बैंकमार्फत बुझाइएको दाबी गरिएको छ।
सम्झौतापछि निवेदक र उनका साझेदारहरूले उक्त जग्गालाई प्लटिङ योग्य बनाउन माटो पुर्ने, इँटा तथा बालुवा खसाल्ने लगायतका पूर्वाधार निर्माणमा करिब ७५ लाख रुपैयाँ लगानी गरिसकेको उल्लेख छ।
तर, जग्गा पास गर्ने प्रक्रिया अघि बढिरहेका बेला मध्यस्थकर्ता शानवाजको निधन भएपछि परिस्थिति उल्टिएको निवेदनमा भनिएको छ। त्यसपछि सिधै जग्गाधनी अञ्जु देवी र मयंक केडियासँग बाँकी रकम बुझाएर नामसारी गर्न आग्रह गर्दा उनीहरूले अस्वीकार गरेको आरोप लगाइएको छ।
पीडित पक्षका अनुसार अहिले उक्त जग्गाको बजार मूल्य करिब १० करोड रुपैयाँ पुगेपछि विपक्षीहरू पुरानो सम्झौताअनुसार जग्गा दिनबाट पछि हटेका हुन्। उल्टै गालीगलौज र कुटपिटको धम्की दिएको आरोप पनि उजुरीमा समावेश गरिएको छ।
मध्यस्थकर्ताको निधनलाई अवसर बनाई सम्झौता तोड्ने प्रयास गरिएको दाबी गर्दै कुर्मीले आफूलाई अपूरणीय आर्थिक क्षति हुन लागेको बताएका छन्। उनले बैनाबापत बुझाइएको ९ लाख ५१ हजार रुपैयाँ कट्टा गरी बाँकी रकम बुझाउन तयार रहेको उल्लेख गर्दै सहमतिअनुसार जग्गा आफ्नो नाममा पास गराइदिन तथा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन प्रशासनसँग माग गरेका छन्।

सम्बन्धित पोस्टहरू