Home » Blog » रिजाल र चौरसिया कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

रिजाल र चौरसिया कांग्रेस केन्द्रीय सदस्यमा मनोनित

Ankushdaily
0 comments 85 views
विरगंज ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय कार्यसमितिमा पर्साका दुई प्रभावशाली नेताहरू रमेश रिजाल र अजयकुमार चौरसियालाई मनोनित गर्नुभएको छ। पार्टी विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) ले दिएको अधिकार प्रयोग गर्दै सभापति थापाले उहाँहरूलाई केन्द्रीय सदस्यको जिम्मेवारी सुम्पिनुभएको हो। मधेस राजनीति र कांग्रेसको साङ्गठनिक सुदृढीकरणमा लामो अनुभव सँगाल्नुभएका रिजाल र चौरसियाको मनोनयनलाई पर्सा कांग्रेस र समग्र पार्टी वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
सभापति थापाले रिजाल र चौरसियासँगै अन्य १७ जनालाई पनि केन्द्रीय कार्यसमितिमा मनोनित गर्नुभएको छ। मनोनित हुनेहरूमा धनुषाका महेन्द्र यादव, कास्कीका जीवन परियार, चितवनका उमेश श्रेष्ठ र दिनेश कोइराला, मोरङकी सुजाता कोइराला, दार्चुलाका दिलेन्द्रप्रसाद बडू, गुल्मीका डा. चन्द्रकान्त भण्डारी र उदयपुरकी लक्ष्मी परियार हुनुहुन्छ। त्यस्तै, सोलुखुम्बुका आङ्गेलु शेर्पा, सप्तरीका दिनेशकुमार यादव, सुनसरीका राजीव कोइराला र राजीव ढुंगाना, प्यूठानका प्रा.डा. गोविन्दराज पोखरेल, कैलालीका सुशिला मिश्र भट्ट र डा. जीवन राना, महोत्तरीकी नागिना यादव र धादिङकी सीता थपलिया (उर्मिला) लाई पनि केन्द्रीय सदस्य बनाइएको छ।
पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, समावेशी प्रतिनिधित्व र पार्टीको आगामी कार्यदिशालाई थप मजबुत बनाउन यो मनोनयन गरिएको हो। विभिन्न जिल्ला र क्षेत्रका अनुभवी नेताहरू समेटिएको यस नयाँ टिमले कांग्रेसको साङ्गठनिक विस्तार र नीतिगत सुधारमा महत्वपूर्ण योगदान पुऱ्याउने विश्वास व्यक्त गरिएको छ।

सम्बन्धित पोस्टहरू