Home » Blog » ५ करोडको सहमति, १० करोडको लोभ ! केडिया अर्गनाइजेसनभित्र जग्गा प्रकरणले उठायो नैतिकताको प्रश्न

५ करोडको सहमति, १० करोडको लोभ ! केडिया अर्गनाइजेसनभित्र जग्गा प्रकरणले उठायो नैतिकताको प्रश्न

Ankushdaily
0 comments 358 views
वीरगञ्ज ।
नेपालकै प्रतिष्ठित व्यापारिक घराना मानिने केडिया अर्गनाइजेसन यतिबेला सम्पत्ति र पैसाको लोभका कारण गम्भीर विवादमा तानिएको छ। अर्बौँ रुपैयाँको कारोबार गर्ने यो घरानाका सदस्यहरू सामान्य बैना–बट्टाको लेनदेनमै विवादमा परेपछि व्यापारिक तथा सामाजिक वृत्तमा यसको प्रतिष्ठामाथि गम्भीर प्रश्न उठेको छ।
छिपहरमाई गाउँपालिकाको न्यायिक समितिमा परेको उजुरीअनुसार, वीरगञ्जका वीरेन्द्र प्रसाद कुर्मी र केडिया परिवारबीच जग्गा खरिद–बिक्रीको विषयमा तीव्र विवाद उत्पन्न भएको हो। विपक्षीका रूपमा ७१ वर्षीया अन्जु देवी केडिया र ४२ वर्षीय मयंक केडियाको नाम उल्लेख छ। उनीहरूले सुरुमा ५ करोड ७५ लाख रुपैयाँमा जग्गा बिक्री गर्ने मौखिक तथा टेलिफोनिक सहमति गरी ९ लाख ५१ हजार रुपैयाँ बैना बुझेको आरोप लगाइएको छ।
उजुरीअनुसार, सोही सहमतिका आधारमा निवेदक कुर्मीले उक्त जग्गालाई प्लटिङ योग्य बनाउन माटो, इँटा, बालुवा तथा श्रम खर्च गरेर करिब ७५ लाख रुपैयाँ लगानी गरेका थिए। जग्गाको स्वरूप परिवर्तन भई मूल्य बढेपछि भने केडिया पक्ष पुरानो सहमतिबाट पछि हट्न खोजेको आरोप छ।
निवेदकको दाबीअनुसार, जग्गाको मूल्य १० करोड रुपैयाँ पुगेको बहाना बनाउँदै मयंक केडियाले पुरानो सम्झौता अस्वीकार गर्ने र जग्गा नै नदिने “बदनियतपूर्ण खेल” खेलेका छन्। आफ्नै कर्मचारीलाई मध्यस्थकर्ता बनाएर गरिएको लेनदेनपछि जग्गाको भाउ बढेपछि सहमति तोड्ने प्रयास गरिएको आरोप उजुरीमा उल्लेख छ।
जग्गा बसोबासयोग्य बनाउन ठूलो लगानी गरिसकेपछि अहिले विपक्षी पक्षले “जग्गा दिन्नौँ” भन्दै अन्यायपूर्ण व्यवहार गरेको निवेदकको भनाइ छ। यो घटनाले व्यापारिक जगतमा विश्वासको संकट गहिरिँदै गएको मात्र होइन, अत्यधिक सम्पत्तिको लोभले वर्षौँदेखि निर्माण भएको प्रतिष्ठा र विरासतसमेत जोखिममा पर्न थालेको संकेत गरेको छ।
हाल यो मुद्दा छिपहरमाई गाउँपालिकाको न्यायिक समितिमा विचाराधीन रहेको छ। तर, सार्वजनिक भएको यो विवादले केडिया अर्गनाइजेसनभित्रको आन्तरिक कलह, सम्पत्तिप्रतिको चरम आकर्षण र नैतिक संकटलाई भने खुला रूपमा सतहमा ल्याइदिएको छ। मयंक केडियासँग सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

सम्बन्धित पोस्टहरू