Home » Blog » अदालत र नागरिकबीचको दूरी घटाउँदै जनकपुरमा ऐतिहासिक ‘न्यायिक महोत्सव’ सम्पन्न

अदालत र नागरिकबीचको दूरी घटाउँदै जनकपुरमा ऐतिहासिक ‘न्यायिक महोत्सव’ सम्पन्न

Ankushdaily
0 comments 34 views

वीरगन्ज ।

न्याय प्रणालीलाई जनमुखी र सहज बनाउने ऐतिहासिक सङ्कल्पसहित कानुन दिवसको अवसरमा जनकपुरमा आयोजना गरिएको ‘न्यायिक महोत्सव–२०८३’ भव्यताका साथ सम्पन्न भएको छ। अदालत र नागरिकबीचको दूरी घटाउँदै न्यायालयप्रति जनविश्वास अभिवृद्धि गर्ने मूल उद्देश्य राखिएको यस महोत्सवलाई नेपालको न्यायिक इतिहासमै पहिलो र उदाहरणीय अभ्यास मानिएको छ। उक्त कार्यक्रम उच्च अदालत जनकपुरको मूल आयोजना तथा उच्च अदालतका राजविराज र वीरगन्ज इजलास एवम् नेपाल बार एसोसिएसन जनकपुरको सह–आयोजनामा सम्पन्न भएको हो।

महोत्सवको मूल समारोहअघि नागरिकमा न्यायिक जागरण ल्याउने उद्देश्यले उच्च अदालत परिसरबाट जनचेतनामूलक र्याली निकालिएको थियो। जनक चोक र जानकी मन्दिर हुँदै महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा पुगेर उक्त र्याली एक विशाल सभामा परिणत भएको थियो। करिब तीन हजार जनाको सहभागिता रहेको सभामा मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाल कर्ण, मुख्यमन्त्री कृष्णप्रसाद यादव, सभामुख रामअशिष यादव र शिक्षा मन्त्री रानी शर्मा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। साथै, प्रदेशअन्तर्गतका उच्च तथा सबै आठ जिल्ला अदालतका न्यायाधीश, कानुन व्यवसायी, प्रशासनिक तथा सुरक्षा अधिकारी, स्थानीय जनप्रतिनिधि र कानुनका विद्यार्थीहरूको साझा उपस्थितिले कार्यक्रमको गरिमालाई थप उचाइ प्रदान गरेको थियो।

अदालती प्रक्रिया झन्झटिलो र पहुँचबाहिर हुन्छ भन्ने आम नागरिकको भ्रम चिर्नु यस महोत्सवको प्रमुख लक्ष्य थियो। सम्पूर्ण सरोकारवाला निकायलाई एकै ठाउँमा भेला गराएर नागरिकका प्रत्यक्ष गुनासा र न्यायिक समस्या संकलन गर्दै खुला अन्तरक्रियामार्फत समाधानको पहलसमेत गरिएको थियो। न्याय सम्पादनमा सरोकार राख्ने सबै पक्ष र सर्वसाधारणबीच भएको यस प्रकारको प्रत्यक्ष संवादले समाजमा न्याय तथा समानताको प्रवर्द्धन गर्दै नागरिकलाई कानुनी रूपमा सशक्त बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

आयोजकको अनुरोधमा सन्त रामपालजी महाराजको सतलोक आश्रम (धनुषा) का करिब पाँच सय स्वयंसेवकले सहभागीहरूका लागि निःशुल्क बास, चिया–खाजा र शुद्ध शाकाहारी भोजनको उत्कृष्ट प्रबन्ध मिलाएका थिए। कार्यक्रम स्थलको सरसफाइ र स्वयंसेवकहरूको उच्च अनुशासनको प्रशंसा गर्दै उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश टेकनारायण कुँवर र महोत्तरी जिल्ला अदालतका न्यायाधीश रमाकान्त यादवले यस्तो नि:स्वार्थ सेवाभावले समाज रूपान्तरणमा गहिरो र सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो।

सम्बन्धित पोस्टहरू