Home » Blog » संघीय सरकारको मातहतमा रहेको सडकको महानगरपालिकाद्वारा निर्माण कार्य शुरु

संघीय सरकारको मातहतमा रहेको सडकको महानगरपालिकाद्वारा निर्माण कार्य शुरु

अंकुश दैनिक
0 comments 11 views

संतोष रन्जितकार
वीरगंज, २ माघ ।
जिर्ण अवस्थामा रहको वीरगञ्ज महानगरपालिकाको घण्टाघरदेखि पावर हाउस चोकसम्मको सडक बनाउने काम शुरु भएको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले आफ्नो आन्तरिक स्रोतबाट उक्त जिर्ण भइसकेको सडकको निर्माण गराउन लागेको हो । महानगरपालिकाले सो सडक निर्माणको लागि टेण्डर समेत आह्वान गरेर ठेक्कामा काम शुरु गरिसकेको छ ।
संघीय सरकारको मातहतमा रहेको उक्त सडकलाई निर्माण गर्न सरकारले कुनै चासो नदेखाएपछि महानगरपालिकाले बाध्य भएर निर्माण गर्नुपरेको हो । बिरगंज घण्टाघर चोक देखि पावरहाउस चोक सम्मको मुख्य सडक मर्मत सम्भारको काम आज देखि शुरु गरिएको छ । घण्टाघर देखि पावर हाउस चोक सम्म बाँया पट्टीको कालोपत्रे सडक ठाँउ ठाँउमा उप्किएर खाल्डा खुल्डी पर्दा सवारीसाधन र यात्रुलाइ सास्ती भएको गुनासो आएपछि महानगरपालिकाले आज देखि उक्त सडकको मर्मत सम्भारको काम शुरु गरेको हो ।
पुरानो कालोपत्रे उप्क्याएर त्यसको ठाँउमा नयाँ कालो पत्रे गर्न थालिएको हो । १ हजार ८ सय लम्बाइ रहेको उक्त सडक मर्मत र कालोपत्रेको ठेक्का सिद्धबाबा समा जेभि कन्ट्रक्सनले २ करोड ३ लाख रुपैयामा सकारेको छ । निर्माण कम्पनी र महानगरपालिका बिच भएको सम्झौतामा सडक मर्मत सम्भार र कालोपत्रेको काम , सम्झौता भएको दिन देखि ४५ दिन भित्र सक्नु पर्ने उल्लेख रहेको महानगरपालिकाका इन्जिनियर राकेश साहले जानकारी दिनुभयो ।


नगर प्रमुख विजय कुमार सरावगीले अहिले घण्टाघरदेखि पावरहाउस सम्मको कालोपत्रे सडक पुरै उप्काएर नयाँ निर्माण गर्न थालिएको बताउनुभयो । महानगरको मुख्य सडकहरु जीर्ण भएर सवारी साधन चलाउन समेत समस्या भइरहेको अवस्थामा जीर्ण सडकहरुको मर्मत सम्भारका लागि महानगरपालिकाले काम अगाडि बढाएको नगरप्रमुख सरावगीले बताउनु भयो ।
उहाँले सडक विभागको सडक निर्माण सम्बन्धी मापदण्ड अनुसार नै काम गर्नुपर्ने भएकोले सानातिना खाल्डाखुल्डीको काममा महानगरपालिकालाई नीतिगत समस्या भएकोले जीर्ण सडकको मर्मत सभ्मारमा केहि ढिला हुन पुगेको बताउनुभयो । कतिपय स्थानमा सघन सहरी विकास आयोजनको काम भईरहेकोले बाँकी महानगरपालिकाले गर्नुपर्ने मर्मत सम्भारका लागि काम शुरु गरिएको नगरप्रमुख सरावगीले बताउनुभयो ।

सम्बन्धित पोस्टहरू