Home » Blog » हिन्दूवादी पार्टीबाट जिते मुस्लिम अञ्जारले

हिन्दूवादी पार्टीबाट जिते मुस्लिम अञ्जारले

अंकुश दैनिक
0 comment 4 views

काँकडभिट्टा (झापा), २० असार । उनको नाम हो–अन्जार आलम, धर्म मुस्लिम । तर चुनाव जितेका छन् हिन्दूवादी राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ।

जात र धर्मको कट्टरताले नेपाली समाजलाई गाँजिरहेको बेला एउटा अलग सन्देश दिन सफल भएका छन् झापाको सीमान्त दक्षिणी गाउँपालिका कचनकबलबाट अध्यक्ष पदमा निर्वाचित अन्जार आलमले ।

उहाँ स्थानीय तहको चुनावमा कचनकबल गाउँपालिकाको अध्यक्ष पदमा राप्रपाबाट उम्मेदवार बन्नुभएको थियो । केचना, बनियानी, पथरियालगायतका गाविस मिलाएर बनाइएको कचनकबल गाउँपालिकामा नेपालकै सबैभन्दा होचो भूभाग पनि छ ।

मुलुककै सबैभन्दा होचो भूभाग भएको गाउँपालिकाको निर्वाचनबाट अन्जारले धार्मिक सहिष्णुताको अनुपम र सर्वोच्च नमुना पनि प्रस्तुत गर्नुभएको छ, जुन यतिबेला मुलुकभरि चर्चित समाचार बनिरहेको छ ।

अन्जार स्थानीय क्षेत्रमा निकै लोकप्रिय हुनुहुन्छ । पहिलो जिल्ला विकास समितिको निर्वाचनमा उहाँ त्यसै क्षेत्रबाट जिल्ला सदस्य निर्वाचित हुनुभएको थियो । जनप्रतिनिधिको अनुभव पहिल्यै सङ्गालिसकेका उहाँ राप्रपाका पुराना कार्यकर्ता हुनुहुन्छ । राप्रपाको स्थापनाकालदेखि नै सो पार्टीमा लागेका उहाँ दक्षिणपूर्वी झापामा पार्टीको खम्बा बनेर उभिँदै आउनुभएको राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन बताउनुहुन्छ ।

“इमान्दार र जनताको सेवकको रुपमा उहाँले आफ्नो छवि बनाउनुभएको छ”, महामन्त्री लिङ्देनले भनुभयो–“अहिलेको जस्तो प्रतिकूल परिस्थितिमा पनि गाउँपालिका जित्नु उहाँको लोकप्रियताको प्रतिफल मान्नु पर्छ ।”

आइतबार राति नै अन्जारले चुनाव जितिसकेको घोषणा आइसकेको थियो । उपाध्यक्षमा पनि राप्रपाकै निम्सरी राजवंशीले जित्नुभएको थियो । तर विजय जुलुस भने सोमबार बिहान मात्रै भएको थियो ।

जुलुसमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन प्रमुख अतिथि हुनुहुन्थ्यो । बिहानको जुलुसमा अन्जार हजारौँको भीडमा नायकझैँ अभिवादन फर्काइरहनुभएको थियो । राप्रपाको झन्डा फरफराइरहेको थियो भने समर्थकले नारा घन्काइरहेका थिए ।

बनियानी बजारको कालीमन्दिरमा अन्जारलगायत उहाँको विजयी टोलीले हिन्दू देवता साक्षी राखेर भ्रष्टाचार नगर्ने शपथ लिएको छ । नियमले दिने सुविधाबाहेक एक पैसा पनि नलिने उहाँले मन्दिर र जनतासामु कसम खानुभयो ।

“नेपालको पहिचानको रुपमा हिन्दूराष्ट्र हुनुपर्छ”, मुस्लिमको छोरा हिन्दूवादी पार्टीको नेता कसरी भन्ने आम जिज्ञासातर्फ लक्षित गर्दै अन्जार भन्नुहुन्छ– “हाम्रो पार्टीले सबै जनताले हिन्दू बन्नुपर्छ त भनेको छैन नि !”

राप्रपा भनेको हिन्दूवादी पार्टी हो भन्ने आम बुझाई भएपनि झापाको कचनकबलमा मात्र होइन, मुस्लिम बहुल नेपालगञ्जको प्रमुखमा पनि राप्रपाले नै जित हात पारेको छ । रासस

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.