5
बारा ।
नेपाली काँग्रेस बाराको १४ औँ अधिवेशन अन्तर्गत शनिबार गरिएको मतदान प्रक्रियालाई स्थगित गरेर मतपत्रलाई जलाइएको छ । सभापति पदका उम्मेदवार राजेश राय यादवले जबरजस्ती अरुको मत खसाउने गरेको भेटिएपछि खसेको मतपत्रलाई बदर गरि जलाउने काम गरिएको नेपाली काँग्रेस कलैया उपमहानगरपालिकाका नगर सचिव मुकेश यादवले बताएका हुन् ।
निर्वाचन क्षेत्र नम्बर ४ को मतदाताहरुको मतपत्र लिएर कलैया उप–महानगरपालिकाको प्रमुख समेत रहेका यादवले मत खसाउन थालेपछि मतदान स्थालमा तनावको अवस्था सृजना भएको थियो ।
नेपाली काँग्रेस बाराका सभापति जयचन्द चौरसियाले सभापतिको उम्मेदवार यादवले आफ्नो लागि अरुको मतपत्र खोसेर मत खसाल्न थालेको भेटिएपछि खसालिएका सबै मतपत्रहरुलाई बदर गर्न माग गरिएको बताएका छन् ।
सभापति उम्मेदवार यादवले जबरजस्ती अरुको मतदान गरेको देखेर सभापतिका अर्का उम्मेदवरहरु शम्भुबहादुर बुढाथोकी र रामानन्द यादव प्यानलले बिरोध गर्दा मतदान स्थल श्री सिद्धेश्वर संस्कृत बिद्यालयमा दुई समुह बिच झडपको अवस्था सृजना भएको थियो ।
शनिबार मतदानमा व्यापक अनियमिता गरिएको कारणले तनावपुर्ण अवस्था सृजना भएकोले शनिबार गरिएको मतदान प्रक्रिया नै रद गरिएको निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताएका छन् ।
लामो समयदेखि विभिन्न कारणले धकेलिँदै आएको जिल्ला कार्यसमिति चयनका लागि शनिबार भइरहेको निर्वाचनमा १६ सयको हाराहारीमा प्रतिनिधिले मतदान गरेपछि व्यवस्थापकीय कमजोरीका कारण स्थगित गरिएको निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए ।
मतदान आज बिहान १० बजेदेखि सुरु गर्ने भनिएपनि दिउँसो १ बजेदेखि मात्र सुरु भएको थियो । आठ सयभन्दा बढी प्रतिनिधिले मतदान गर्न बाकी नै रहँदा निर्वाचन स्थगित भएको थियो । आज खसेको सबै मतसमेत बदर गरिएको र छिट्टै अर्को नयाँ मिति घोषणा गरिने उप्रेतीले जानकारी दिए ।
अधिवेशनमा सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेशराय यादवले उम्मेदवारी दिएका छन् भने इतरको शेखर कोईराला पक्षबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् ।
४ वटा निर्वाचन क्षेत्र गरी नेपाली काँग्रेस बारामा लगभग २४ सय मतदाताहरु रहेको नेपाली काँग्रेस बाराका सचिव मनोज भट्टले बताएका छन् ।