Home » Blog » विभिन्न पार्टी परित्याग गरी सयौंले रोजे ‘घण्टी’

विभिन्न पार्टी परित्याग गरी सयौंले रोजे ‘घण्टी’

Ankushdaily
0 comment 44 views
वीरगञ्ज ।
रोयल पार्टी प्यालेसमा आयोजित एक विशेष कार्यक्रमका बीच विभिन्न राजनीतिक दल परित्याग गरी सयौं व्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। पर्सा क्षेत्र नं. ४ अन्तर्गत विभिन्न गाउँहरूबाट नेकपा एमाले, नेपाली कांग्रेस, जसपा नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा सुशासन पार्टी परित्याग गरी उनीहरू रास्वपामा समाहित भएका हुन्। पार्टी प्रवेश गर्ने मुख्य व्यक्तित्वहरूमा कालिकामाई गाउँपालिका वडा नं. १ का वडाध्यक्ष लालबाबु चौरसिया (जसपा नेपालबाट निर्वाचित), पूर्व गाविस अध्यक्ष नेजामुदिन मियाँ र पूर्व वडाध्यक्ष महादेव चौरसिया रहेका छन्।
पार्टी प्रवेश कार्यक्रममा अन्य दलका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। नेपाली कांग्रेसबाट प्रसाद शिवशंकर चौरसिया, नरेन्द्र राय तिवारी, राजेन्द्र प्रसाद चौरसिया, राजु प्रसाद पटेल, हिरो राउत कुर्मी, छविलाल प्रसाद राउत; राप्रपाका ललन ठाकुर र सुशासन पार्टीका लक्ष्मण महतो लगायतका नेताहरू निःशर्त रास्वपामा प्रवेश गरेका छन्। त्यसैगरी, कालिकामाई गाउँपालिका–२ का एमाले नेताहरू मनमोहन प्रसाद चौरसिया, राजेश साह, अकलेश कुशवाहा लगायत र कालिकामाई–५ का जसपा नेता रमेश प्रसाद पटेल, शम्भु प्रसाद चौहानसहितका व्यक्तिहरू पनि पार्टीमा जोडिएका छन्। यसका साथै, ‘जेनजी’ समूहका राजनिश चौरसिया, कृष्णा कुशवाहा, बिरेन्द्र प्रसाद साह लगायतका युवाहरूको समूहले पनि रास्वपाको सदस्यता लिएका छन्।
नवप्रवेशीहरूलाई रास्वपाका केन्द्रीय सदस्य नन्दन यादव, जिल्ला सभापति हरि पन्त, क्षेत्रीय सभापति जितेन्द्र मिश्र, जिल्ला उपसभापति तुल्सा पौडेल र नेता टेकबहादुर शाक्य लगायतले अबिर तथा टीका लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले यो जनलहरले पर्सा क्षेत्र नं. ४ मा रास्वपा थप शसक्त बनेको दाबी गर्दै आगामी फागुनमा हुने निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउन कार्यकर्तालाई सक्रिय रहन निर्देशन दिए।
सोही अवसरमा क्षेत्रीय सभापति जितेन्द्र मिश्रले पर्सा क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि रास्वपाका तर्फबाट टेकबहादुर शाक्य उम्मेदवार रहने जानकारी गराउँदै उनलाई भारी बहुमतले जिताउन आह्वान गरे। रास्वपा क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण कृष्ण पासवानले गरेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.