Home » Blog » आफ्नै पूर्वमन्त्रालयको निर्णय उल्लंघन गर्दै रवि लामिछानेद्वारा ‘रुफ टप’ गाडीको प्रयोग

आफ्नै पूर्वमन्त्रालयको निर्णय उल्लंघन गर्दै रवि लामिछानेद्वारा ‘रुफ टप’ गाडीको प्रयोग

Ankushdaily
0 comments 18 views
विरगन्ज ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको सुरक्षा निर्देशनलाई बेवास्ता गर्दै चुनावी प्रचारप्रसारमा ‘रुफ टप’ गाडीको प्रयोग गरेका छन्।
झापाको दमकमा आयोजित एक कार्यक्रमका क्रममा लामिछानेले गुडिरहेको सवारी साधनको छतमा बसेर समर्थकहरूलाई अभिवादन गरेका हुन्, जबकि गृह मन्त्रालयले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो कार्यमा रोक लगाउने निर्णय गरेको थियो। गत बिहीबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले उम्मेदवारहरूको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निर्वाचन प्रचारप्रसारका क्रममा ‘रुफ टप’ गाडी प्रयोग नगर्न र नगराउन स्पष्ट निर्देशन जारी गरेको थियो। आफ्नै नेतृत्वमा रहिसकेको मन्त्रालयले गरेको सुरक्षा निर्णयलाई पूर्वगृहमन्त्रीबाटै पालना नगरिनुले कानुनी परिपालना र सुरक्षा मापदण्डमाथि प्रश्न खडा गरिदिएको छ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार उम्मेदवारहरूको सुरक्षामा आकस्मिक खतरा उत्पन्न हुन सक्ने निष्कर्ष निकाल्दै मन्त्रालयले यो प्रतिबन्धात्मक निर्णय लिएको हो। प्रवक्ता काफ्लेले सरकारको यो निर्णय पालना भए–नभएको बारे सुक्ष्म अनुगमन भइरहेको र सुरक्षा जोखिमलाई नजरअन्दाज नगर्न सचेत गराएका छन्। पछिल्लो समय निर्वाचन लक्षित कार्यक्रमहरूमा उम्मेदवारहरूले ‘रुफ टप’ गाडीको प्रयोग गर्ने लहर चलेपछि मन्त्रालयले यसलाई सुरक्षा चुनौतीको रूपमा व्याख्या गरेको थियो। यसअघि काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह तथा रास्वपाकै अन्य उम्मेदवार र नेताहरूले पनि यस्ता सवारी साधनको प्रयोग गर्दै आएका थिए।
यद्यपि, सरकारको औपचारिक निर्णय र सुरक्षा खतराको चेतावनीपछि यस्ता गाडीको प्रयोगमा केही कमी आए पनि दलका शीर्ष नेताहरूबाटै यसको उल्लंघन हुनुले चुनावी आचारसंहिता र सुरक्षा अनुशासनमा चुनौती थपेको देखिन्छ।

सम्बन्धित पोस्टहरू