Home » Blog » मारवाडी प्रिमियर लिग–३ को ट्रफी सार्वजनिक, प्रतियोगिता फागुन २९ देखि

मारवाडी प्रिमियर लिग–३ को ट्रफी सार्वजनिक, प्रतियोगिता फागुन २९ देखि

Ankushdaily
0 comments 53 views
सन्तोष रन्जितकार,
विरगंज ।
‘मारवाडी प्रिमियर लिग–३’ क्रिकेट प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ। मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको यस प्रतियोगिताको ट्रफी स्थानीय होटेल तृषलामा आयोजित एक विशेष समारोहका बीच अनावरण गरिएको हो।
स्वर्गीय सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजना हुन लागेको यस प्रतियोगिता आगामी फागुन २९ गते शुक्रबारदेखि वीरगञ्जस्थित आदर्शनगर रंगशालामा सुरु हुँदैछ। आयोजकका अनुसार युवाहरूलाई खेलकुदको माध्यमबाट एकताबद्ध गर्ने, स्वर्गीय खेतानप्रति सम्मान प्रकट गर्ने र वीरगञ्जमा क्रिकेट खेलको विकास तथा विस्तार गर्ने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गर्न लागिएको हो।
उपाधिका लागि कुल १० वटा टिमले प्रतिस्पर्धा गर्ने यस प्रतियोगितामा जम्मा २३ वटा खेलहरू सञ्चालन हुनेछन्। जसमा बीटीएस प्लास्टर्स, टाइगर्स, जगुआर र कञ्चनजङ्गा लगायतका टिमहरूको सहभागिता रहनेछ। कार्यक्रम संयोजक केशव खेतानले यस प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद गतिविधिलाई थप ऊर्जा प्रदान गर्नुका साथै स्थानीय खेलाडी र दर्शकहरूको उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गरेका छन्।
औपचारिक समारोहअघि प्रतियोगिताको ट्रफीलाई टिमका कप्तान तथा खेलाडीहरूको उपस्थितिमा वीरगञ्जका प्रमुख धार्मिक तथा ऐतिहासिक स्थलहरू— मितेरी पुल, शंकराचार्य गेट, चिनीमिलस्थित पशुपतिनाथ मन्दिर र माइस्थान मन्दिरमा समेत प्रदर्शन गरिएको थियो। ग्रीन सिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा मारवाडी युवा मञ्चका अध्यक्ष अनुज रुङ्टा, सशस्त्र प्रहरी भन्सार गुल्मका प्रहरी निरीक्षक निरज थापा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू