Home » Blog » पाँचौं परवानीपुर गोल्डकपको तयारी पूरा, वैशाख ५ देखि सुरु हुँदै

पाँचौं परवानीपुर गोल्डकपको तयारी पूरा, वैशाख ५ देखि सुरु हुँदै

Ankushdaily
0 comments 13 views
वीरगन्ज।
आयोजक शक्ति युवा क्लबले आगामी वैशाख ५ गतेदेखि १२ गतेसम्म आयोजना हुन लागेको ‘पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८३’ को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। बिहीबार बिहान परवानीपुर खेलमैदानमा आयोजित पत्रकार सम्मेलनमार्फत क्लबले प्रतियोगिताको अन्तिम तयारी सकिएको औपचारिक जानकारी गराएको हो। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ सुरु हुन लागेको यस प्रतियोगिताका खेलहरू दैनिक दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछन्।
प्रतियोगिताका संयोजक सञ्जय मण्डलका अनुसार एक सातासम्म चल्ने यस प्रतियोगितामा नेपालका सात र भारतको एक गरी कुल आठवटा टिमको सहभागिता रहनेछ। प्रतियोगितामा आयोजक शक्ति युवा क्लबसहित वीरगन्ज युनाइटेड क्लब, वीरगन्ज युथ क्लब, रिगल हेटौँडा एन्फा क्लब, नव जनजागृति युवा क्लब (सिमरा), चिडिया दह क्लब (रौतहट), निजगढ फुटबल क्लब र योङ स्टार क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। करिब १७ लाख रुपैयाँको लागतमा सम्पन्न हुन लागेको उक्त प्रतियोगिताको जानकारी सहसंयोजक दीपक यादवले दिएका हुन्।
क्लबका अध्यक्ष सुबोध श्रीवास्तवले प्रतियोगिताको विजेता टोलीलाई २ लाख र उपविजेतालाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताए। यसका साथै उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड र प्रत्येक दिनको ‘म्यान अफ द म्याच’लाई समेत उचित नगद पुरस्कारको व्यवस्था गरिएको छ भने सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लाई ५ हजार १ सय रुपैयाँ नगदबाट पुरस्कृत गरिनेछ। अध्यक्ष श्रीवास्तवले प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, चन्दादाता, उद्योगी–व्यवसायी, सञ्चारकर्मी र सम्पूर्ण खेलप्रेमी महानुभावहरूमा सहयोगका लागि अपिलसमेत गरेका छन्।
पत्रकार सम्मेलनमा क्लबका उपाध्यक्ष हुलास यादव, महासचिव ध्रुव साह, कोषाध्यक्ष सोनालाल मण्डल, प्रशिक्षक पंकज चौधरी, पूर्व फुटबल खेलाडी विनोद न्यौपाने, प्रहरी चौकी परवानीपुरका इन्चार्ज शक्ति श्रेष्ठलगायत तिवारी यादव, राजेश यादव, सलिम आलम र इमाम आलमजस्ता क्लबका सदस्य तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यसैबीच, प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजकले स्थानीय अग्रज समाजसेवी, राजनीतिक दलका प्रतिनिधि, खेलाडी र सञ्चारकर्मीहरूसँग एक अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको छ। उक्त अन्तरक्रियामा सहभागीहरूले खेलकुद र खेलाडीलाई राजनीतिबाट पूर्ण रूपमा अलग राखेर खेलको विकासमा लाग्नुपर्नेमा विशेष जोड दिएका थिए।

सम्बन्धित पोस्टहरू