Home » Blog » पर्सागढीको बढनियारमा ‘घरदैलोमा डाक्टर’ शिविर सम्पन्न, २५० जना लाभान्वित

पर्सागढीको बढनियारमा ‘घरदैलोमा डाक्टर’ शिविर सम्पन्न, २५० जना लाभान्वित

Ankushdaily
0 comments 22 views
विरगंज ।
पर्सागढी नगरपालिकाको बढनियारमा ‘घरदैलोमा डाक्टर’ नामक निःशुल्क स्वास्थ्य शिविरको दोस्रो शृङ्खला सम्पन्न भएको छ। आर्थिक अभाव र अन्य कारणले अस्पतालसम्म पहुँच नभएका विपन्न नागरिकलाई लक्षित गर्दै जुनतारा बचत सहकारी संस्थाको आयोजना र वीरगञ्जस्थित प्रभु हस्पिटलको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। शिविरमा सुगर परीक्षण तथा निःशुल्क औषधि वितरणसहित १९० महिला र ६० पुरुष गरी जम्मा २५० जना स्थानीयले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्।
जुनतारा सहकारीकी अध्यक्ष मञ्जु क्षेत्रीको अध्यक्षता तथा प्रभु हस्पिटलकी सञ्चालिका एवं स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापा गुप्ताको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो। शिविरमा वरिष्ठ फिजिसियन डा. रवि रञ्जन साहको विशेष उपस्थितिमा बिरामीहरूको स्वास्थ्य जाँच गरिएको थियो। पत्रकार तथा सामाजिक अभियन्ता बलिराम शुक्लाको विशेष पहल र समन्वयमा आयोजना भएको यस शिविरले गाउँमै विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा स्थानीय हर्षित भएका छन्।
स्वास्थ्य सेवालाई व्यावसायिक मात्र नभई सेवामुखीसमेत बनाउने उद्देश्यले नागरिकसँग हातेमालो गर्दै यस्ता कार्यक्रम आयोजना गरिएको प्रभु हस्पिटलका कार्यक्रम प्रमुख दिलीप राज कार्कीले बताए। शिविरमा पहिचान भएका दीर्घरोगी, ज्येष्ठ नागरिक तथा गम्भीर प्रकृतिका महिला बिरामीलाई प्रभु अस्पतालमा थप उपचार गराउँदा विशेष सहयोग र सहुलियत प्रदान गरिने डा. लक्ष्मी थापाले प्रतिबद्धता व्यक्त गरेकी छन्। आगामी साताहरूमा पनि अन्य दुर्गम तथा पिछडिएका क्षेत्रमा यस्तै किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिने अस्पतालले जनाएको छ। कार्यक्रममा अभियन्ता शुक्ला र अध्यक्ष क्षेत्रीले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यमा निरन्तर सहकार्य र समन्वय रहने बताएका छन्।

सम्बन्धित पोस्टहरू