376
अर्काकी छोरीलाई नक्कली कागजातका आधारमा आफ्नी छोरी बनाई नेपाली नागरिकता दिलाएको गम्भीर अभियोगमा जिल्ला अदालत पर्साले जेठ ८ गते नै पक्राउ पुर्जी जारी गरेको थियो। उक्त पुर्जीबारे मंगलबार सञ्चार माध्यमबाट सार्वजनिक भएलगत्तै कारबाहीबाट उम्किने दाउमा मेयर सिंह बुधबार बिहान अदालत खुल्नु अगावै आफ्ना कानुनी सल्लाहकार अधिवक्ता कमल मोहन पोखरेल र ठुलो दलबलसहित अदालत परिसर पुगेका थिए।
वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह जोडिएको नागरिकता किर्ते प्रकरणले सुशासनको नारा दिने वर्तमान व्यवस्थामा “सानालाई ऐन, ठुलालाई चैन” भन्ने उखानलाई पुनः चरितार्थ गरिदिएको छ।
अर्काकी छोरीलाई नक्कली कागजातका आधारमा आफ्नी छोरी बनाई नेपाली नागरिकता दिलाएको गम्भीर अभियोगमा जिल्ला अदालत पर्साले जेठ ८ गते नै पक्राउ पुर्जी जारी गरेको थियो। उक्त पुर्जीबारे मंगलबार सञ्चार माध्यमबाट सार्वजनिक भएलगत्तै कारबाहीबाट उम्किने दाउमा मेयर सिंह बुधबार बिहान अदालत खुल्नु अगावै आफ्ना कानुनी सल्लाहकार अधिवक्ता कमल मोहन पोखरेल र ठुलो दलबलसहित अदालत परिसर पुगेका थिए।
मेयर सिंह अदालत परिसरमा डुलिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनी विरुद्ध कानुनी लडाइँ लडिरहेका लियाकत अली पनि सहयोगीसहित अदालत पुगेका थिए, तर त्यतिवेलासम्म सिंह त्यहाँबाट हिँडिसकेका थिए।
यस सम्बन्धमा अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले अदालत खुल्नु अगाडि आउनेहरूले गर्ने स्टन्टप्रति संस्था जबाफदेही नहुने बताए पनि पीडित पक्ष अली भने सो कुरामा सन्तुष्ट छैनन्।
प्रत्यक्षदर्शीका अनुसार मेयर सिंह र श्रेस्तेदार मल्लिकबीच कार्यकक्षमै शङ्कास्पद कुराकानी भएको थियो । यस रहस्यमय घटनाले वीरगञ्जका आम नगरबासीमा नगरप्रमुख कानुनभन्दा माथि रहेको र कानुन कार्यान्वयन गराउने निकायहरू उनकै हित अनुकूल परिचालित भइरहेको गम्भीर सन्देश प्रवाह गरेको आरोप नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का सभापति मोहम्मद सहबुद्दिनको छ।
सामाजिक सञ्जालमा मेयरको भिडियो चलेको देखेपछि मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक शैलेन्द्र खड्कालाई मेयर राजेशमान सिंहलाई गिरफ्तार गर्न पठाइएको, तर सो बखत अदालत परिसरबाट मेयर सिंह फरार भएको पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले बताउनुभयो।
यता बार एसोसिएसनका पूर्व केन्द्रीय उपाध्यक्ष अधिवक्ता बिनय सिंहले सरकारी वकिलको कार्यालयले बदनियतपूर्ण ढंगले मुद्दाको प्रक्रियाबाट मेयर राजेशमान सिंह र उनकी कान्छी श्रीमती भनिएकी रिता भट्टराईको नाम लुकाउनु पूर्णतः गैरकानुनी र लज्जास्पद भएको दाबी गरे। देशमा ठुला-ठुला काण्डमा प्रधानमन्त्रीसम्मको नाम समेत उल्लेख हुने गरेको अवस्थामा मेयरको नाम नियतवश हटाउनुमा “दालमा केही कालो छ” भन्दै अधिवक्ता सिंहले यसलाई श्रेस्तेदारले सच्याउनुपर्नेमा जोड दिए। बार एसोसिएसन पर्साका अध्यक्ष रामनारायण कुर्मीले पनि यो सम्पूर्ण प्रपञ्चले कानुनी राज्यको उपहास गर्दै धज्जी उडाएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
किर्ते नागरिकता प्रकरण: मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी,सरकारी वकिलको भूमिकामाथि प्रश्न