यितेन्द्र शर्मा
वित्तिय तथा मानवीय संकट गहिरिँदै गएपछि श्रीलंका टाट पल्टिने अवस्थामा पुगिसकेको श्रीलंकाका सांसद तथा पूर्व शिक्षामन्त्री बिजयदासा राजापाक्षेले चिनियाँ राष्ट्रपति सी जिनपीङलाई एक पत्र लेख्दै श्रीलंका चीनको ऋणको पासोमा परेको उल्लेख गरेका छन् ।
श्रीलंका पोदुजना पेरुमाना पार्टीका सांसद राजपाक्षेले श्रीलंकाका लागि चिनियाँ राजदूत काई झेन होङमार्फत राष्ट्रपति सीलाई पठाएको ४५ बुँदे पत्रमा यस्तो माग गरिएको छ । सांसद राजपाक्षेले वर्तमान सरकारलाई प्रजातान्त्रिक पद्दतिबाट हटाइनुपर्ने आह्वान समेत गरेका छन् ।
श्रीलंकास्थित चिनियाँ दूतावास, श्रीलंकाली राष्ट्रपति, प्रधानमन्त्री र विदेश मन्त्रालयलाई समेत बोद्धार्थ दिएर गत साता (३ जनवरी) लेखिएको सो पत्रमा चीनले श्रीलंकालाई ऋणको पासोमा पारेको उल्लेख गरिएको द इकोनोमिक टाइम्सले टाइमले जनाएको छ ।
सांसद राजपाक्षेले आफ्ना पत्रमा कोरोना भाइरस विरुद्धको भ्याक्सिनका लागि चीनले अतिरिक्त रकम लिएको र गुणस्तरहीन मल आपुर्ति गरेको समेत उल्लेख गरेका छन् । चीनले पठाएको मल गुणस्तरहीन भएको भन्दै श्रीलंकाले अस्वीकार गरेपछि मल बोकेको चिनियाँ पानी जहाज लामो समयदेखि श्रीलंका नजिक समुद्रमै छ । एकातिर चीनले सो मल फिर्ता लिन मानेको छैन भने अर्कोतिर श्रीलंकाले पनि सो मल स्वीकार नगर्ने बताएको छ ।
सांसद राजपाक्षेको पत्रमा डेढ दशक यता विभिन्न मुलुकसँग गरिएको सम्झौता पुनरावलोकन गरिनुपर्ने र भ्रष्टाचार अन्त्य गर्नुपर्ने माग उल्लेख छ । तपाईले (चिनियाँ राष्ट्रपति) प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा उपलब्ध गराउनु भएको सहयोग ऋणकै रुपमा आएको छ । त्यो पनि ८ प्रतिशतसम्मको व्यवसायिक ब्याजदरमा ऋणको रुपमा आएको छ । पत्रको १५ नम्बर बुँदामा राजपाक्षेले भनेका छन् । नोरो च्यालेई पावर प्लान्टबाहेक अन्य परियोजनामा अनावश्यक लगानी भएको दाबी उनको छ । श्रीलंकालाई ऋणको पासोमा पार्ने नियतले चिनियाँ लगानी आएको छ र ति सबै लगानी बालुवामा पानी हाले सरह सावित भएको देखिन्छ । विश्वशक्ति बन्नका लागि चीनले श्रीलंकाली अर्थतन्त्रलाई नियन्त्रणमा लिन खोजेको आरोप समेत सांसदले लगाएका छन् ।
कोलम्बोका सांसद राजपाक्षेले चीन कोलम्बो बन्दरगाह, दक्षिणी टर्मिनल कोईलाबाट ऊर्जा निस्कने प्लान्ट, मट्टालास्थित अन्तर्राष्ट्रिय विमानस्थल र क्रिकेट स्टेडियम जस्ता आयोजनामा चीन प्रवेश गरेको उल्लेख गरेका छन् । श्रीलंकाको हम्बनटोटा बन्दरगाह निर्माणमा चीनले ऋण दिएको थियो । उक्त ऋणमा श्रीलंका नराम्रो फसिसकेको कारण ९९ वर्षको निम्ति भाडामा चीनलाई दिनुको विकल्प छैन । सन् २००५ मा महिन्द्र राजपाक्षे सरकरले चीनसंग ६५ प्रतिशत भन्दा धेरै ब्याजदरमा ऋण लिएको उल्लेख गरेका छन् । कोलम्बोबाट सांसद रहेका राजपाक्षेको राष्ट्रपति गोटाबायो राजपाक्षे र प्रधानमन्त्री महिन्द्र राजापाक्षेसित कुनै सम्बन्ध भने रहेको छैन । श्रीलंकामा चरम वित्तिय संकट भएको र नियन्त्रण गर्न कठिन भएको भन्दै केन्द्रिय बैंकका प्रमुखले केही महिना अघि नै आफ्नो पदबाट राजीनामा गरेका थिए । श्रीलंकाली सरकारको चिनियाँ मोहका कारण देशलाई ठुलो क्षति भइरहेकोले सरकारले विकल्प खोज्नुपर्ने आवश्यकता पनि ति सांसदले औल्याएका छन् । बिस्तार–बिस्तारै श्रीलंकाका सत्ताधारी दलका सांसदहरु पनि अपाm्नो देश चिनियँ ऋणको पासोमा पर्न थालेको स्वीकार गर्न थालेका छन् ।
8