Home » Blog » मुन्नी बदनाम हुई, डार्लिङ तेरे लिए !

मुन्नी बदनाम हुई, डार्लिङ तेरे लिए !

Ankushdaily
0 comment 91 views
(स्तम्भकार कुमार रुपाखेती)
लाख छुपाओ, छुप न सकेगा, राज हो जितना गहरा … असली नकली चेहरा….. । अहिले नेपालका पूर्व प्रधानमन्त्रीहरूको बिजोग छ । थुनामा, हाजिरी जमानीमा, गिरफ्तारिमा, खोजतलासमा, हत्या अभियोग तथा भ्रष्टाचारको जंजालमा अधिकांश पूर्व प्रधानमन्त्रीहरूको नालिबेली छताछुल्ल भइरहेको छ । ओली, देउवा, प्रचण्ड, माधव नेपाल, बाबुराम, झलनाथ आदि सबै वर्तमान सरकारको नजरमा कसुरदार देखिन्छन् । ओली हाजिरी जमानीमा छुटे, देउवाको खोजतलास जारी छ, प्रचण्ड, माधव, बाबुराम, झलनाथ आदिका कर्तुतका फाइल खोलिँदै छन् । प्रजातन्त्रको दुहाई दिँदै देउवा, ओली, प्रचण्ड पटक–पटक प्रधानमन्त्री बने, रोलक्रम मिलाएर माधव, बाबुराम र झलनाथले समेत एक पटक एक थान प्रधानमन्त्री बन्ने मौका पाए ।
आफ्नो अधूरो कार्यकालमा यी सबैले साना–ठूला काण्ड खुल्ला किताबझै गुपचुपरूपमा गरे । ‘जसले मह काढ्छ, उसले हात चाट्छ’ प्रमाणित गरे । एउटा प्रधानमन्त्री बन्नेबित्तिकै अर्को ‘झर्ला र खाऊँला’ भन्दै लाइनमा रहन्थे । प्रधानमन्त्री बन्दा यीनीहरूले राणा खलकझै रोलक्रम, आलोपालो प्रणाली र गठबन्धनको मुखौटा प्रयोग गर्दथे । यीनीहरूको अयोग्यताकै कारण प्रजातन्त्रमा समेत लोकेन्द्र बहादुर चन्द र सूर्यबहादुर थापा जस्ता खुंखार महापञ्च समेत प्रधानमन्त्री बने । तर सूर्यबहादुर थापा र लोकेन्द्र बहादुर चन्दलाई हत्या, हिंसा र लुटखसौटको बात लागेन, बरु उल्टै गणतन्त्रको वकालत गर्ने देउवा, ओली, प्रचण्ड, बाबुराम र झलनाथलाई विभिन्न कसुर गरेको बात लागेको छ । के देउवा, ओली, प्रचण्डहरू भ्रष्टाचार गरी अकुत कमाउन राजनीतिमा छिरेका, प्रधानमन्त्री बनेको भन्ने बहस चलेको छ ।
देउवा, ओली, प्रचण्ड त दलपति समेत हुन् । सबै पुराना, खारिएका र अनुभवी भनिने यी तथाकथित शीर्ष नेताहरू बदनामीको दलदलमा पुरिँदा समेत र विभिन्न आरोप र अफवाहले बजार गर्माउँदा पनि यिन्का दल, कार्यकर्ता, समर्थकहरू बहिरो गुँगा बनेका छन् । ‘चोरके दाह्रीमे तिन्का’ साबित भएको छ । पार्टी सभापति, अध्यक्ष, संयोजक, शीर्ष नेता आदिको त्रियाचरित्रको दण्ड सजायको भागीदार ठुला दल कांग्रेस, एमाले, माओवादी भए, लज्जाजनक पराजय भए निर्वाचनमा । फितावाल चप्पल र झुत्रा लुगा लगाउने हैसियतका यिनीहरू प्रधानमन्त्री, मन्त्री बन्नेबित्तिकै राजसी ठाँट र झुत्राबाट आलिशान महल, शाही रहनसहन र बालबच्चाको शाही परवरिश, विदेशी गाडी र शक्ति र पदको चमकदमकले यिन्को घमण्ड रावणझै देखियो ।विनाशकाले विपरीत बुद्धि भएको रावण सीता हरण गर्न गयो ।
हाम्रा दागी प्रधानमन्त्रीहरू मुलुक र जनताको शान्ति हरण गर्दै भगवान बन्न थाले । अनि त अस्तीको आमनिर्वाचनले कांग्रेस कम्युनिस्टहरूको ‘जय श्रीराम’ गरिदियो, हस्ती मेटाइदियो । भीमसेन थापा, जंगबहादुरहरू पनि यही माटोका प्रधानमन्त्री थिए । तर देउवा, ओली, प्रचण्ड, माधव, बाबुराम, झलनाथहरूले प्रधानमन्त्री पदको सम्मानलाई ‘मिट्टिमा मिलाइ दियो रे’। आधा दर्जन समकालीन प्रधानमन्त्रीहरू विभिन्न काण्डमा समावेश हुनु संसारकै पहिलो कुकर्म साबित भएको छ । सुन चोर पनि चोर हो, नुन चोर पनि चोर हो । बड़े मियाँ तो बड़े मियाँ, छोटे मियाँ सुभानअल्लाह भनेझै यिन्का पालाका मन्त्री, अफिसर समेत सरकारको रडारमा छन् । एउटा शायरले भनेका छन्— ‘कितना भी तुम गले लगाओ, लाख निभालो यारी …… सुधर नहीं सकते वे, जिनकी फ़ितरत में है ग़द्दारी’ ।
राजाले अक्षम घोषणा गरेका देउवा र वर्तमान सरकारले भ्रष्टाचारी भन्दै खोजतलास गरेका देउवा पाँच पटक प्रधानमन्त्री बने, हत्या अभियोगका ओली चार पटक प्रधानमन्त्री । वाफ रे वाफ, ‘करे कोई, भरे कोई’ भनेझै ओली, देउवा, प्रचण्डको काला करतुतको सजाय यिन्का दलले पायो । ठूला दल भनिने यीनीहरू घण्टी छापको अगाडि लिलिपुट साबित भए । अब वर्तमान सरकार समेत अगराउन, छितराउन थालेको छ । तेह्र दिनमै बर्खास्त गर्नुपर्नेलाई मन्त्री बनाउने र चौध दिनमा बाइज्जत बरी गर्नुपर्ने ओलीलाई बन्दी बनाउने ? नेपालीहरू सत्ता परिवर्तनमा रमाउने जमात भएका छन् । अब हेर्नुस् न, बेलायतको पीआरधारी व्यक्ति डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्ति गरिए । यस्तो संवेदनशील पदमा कुनै अर्को मुलुकको नागरिकलाई नियुक्ति दिन कानुनले रोक्छ । तर रवि, बालेनलाई रोक्ने कसले ? प्रतिपक्ष कोमामा छ यार। मनपर्दो गरौँ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.