Home » Blog » पर्यटन रेलले नेपाल–भारतलाई जोड्ने पहिलो एजेन्सी आईआरसिटिसी

पर्यटन रेलले नेपाल–भारतलाई जोड्ने पहिलो एजेन्सी आईआरसिटिसी

अंकुश दैनिक
0 comments 7 views

यितेन्द्र शर्मा
भारतीय रेल्वेको खानपान तथा पर्यटन सेवा आईआरसिटिसी देशको पहिलो एजेन्सी हुनेछ, जसले भारत गौरव योजना अन्तर्गत नेपाल र भारतलाई पर्यटन ट्रेनसित जोड्नेछ । भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीको सफदरगंज रेल्वे स्टेशनबाट २१ जुनमा यो विशेष ट्रेन प्रस्थान गर्नेछ, जुन श्री रामायण यात्रा सर्किट अन्तरगतका प्रमुख तीर्थस्थलहरुको भ्रमण गराउनेछ । यसले भारत र नेपालका करिब ८ हजार किलोमिटर दुरीलाई पुरा गर्नेछ । आईआरसिटिसीका अनुसार यो ट्रेन स्वदेश दर्शन योजना अन्तरगत पहिचान गरिएका प्रमुख श्रीराम र सिताको जीवनसित सम्बन्धित प्रमुख ऐतिहासिक तीर्थस्थलहरु सम्म पुग्नेछ । नेपालको जनकपुरस्थित श्रीराम जानकी मन्दिर पनि यस यात्रा अन्तर्गत आउनेछ । यस्तो पहिलो घटना हुनेछ, जब कुनै भारतीय पर्यटन ट्रेन नेपाल पुग्नेछ ।
यस ट्रेनमा ६ सय जना यात्रुले यात्रा गर्ने व्यवस्था मिलाइएको छ । यात्रा मार्गमा अयोध्या, बक्सर, जनकपुर, चित्रकुट, नासिक, हम्पी, रामेश्वरम, काँचीपुरम, र भद्राचलम जस्ता प्रमुख स्थल हुनेछ । भारत गौरव पर्यटन ट्रेन त्यहाँको केन्द्र सरकारको “हेरौं आफ्नो देश” योजनाको एक अङ्ग हो । यसको उद्देश्य घरेलु यात्रालाई महत्व दिनु हो साथै नेपाल–भारत बीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनु पनि हो ।
यो ट्रेन भगवान श्री रामको जन्मस्थल अयोध्यालाई आफ्नो पहिलो बिश्रामस्थल बनाउनेछ । तीर्थयात्रीहरुलाई श्रीराम जन्मभूमि मन्दिर तथा हनुमान मन्दिरका अतिरिक्त नन्दीग्रामस्थित भारत मन्दिरको पनि दर्शन गराउनेछ । आईआरसिटिसीको तर्फबाट पर्यटकहरुलाई सुरक्षाकिट पनि उपपलब्ध गराइनेछ । जसमा फेस मास्क, ह्याण्ड ग्लब्स र सेनिटाइजर पनि हुनेछ । यात्राको भाडा प्रति व्यक्ति ६५ हजार भारतीय रुपैया हुनेछ । यो ट्रेन उत्तर प्रदेश, नेपाल, बिहार, मध्यप्रदेश, महाराष्ट्र, कर्नाटक, तमिलनाडू, आन्ध्रप्रदेश तथा तेलंगाना भएर यात्रा गर्नेछ । पर्यटन ट्रेनले दुई देशबीचको धार्मिक एवं सांस्कृतिक सम्बन्धलाई बलियो बनाउनेछ ।

सम्बन्धित पोस्टहरू