Home » Blog » ज.स.पा. नेपालको भगौडाहरू

ज.स.पा. नेपालको भगौडाहरू

Ankushdaily
0 comment 324 views
( स्तम्भकार कुमार रुपाखेती )
विगतको मधेसी जनअधिकार फोरमलाई अहिले ज.स.पा. नेपाल भनिन्छ। विभिन्न भागदौड र बाधा–अवरोधका बाबजुद यो पार्टी सग्लो नै देखिन्छ। “भाग मिल्खा भाग” प्रवृत्तिका केही महानुभावहरूले “खोला तर्‍यो, लौरो बिर्सियो” जस्तै ज.स.पा. नेपालबाट विजयी भएपछि ठेंगा देखाउँदै भगौडाको श्रेणीमा नाम दर्ज गराए। ज.स.पा. नेपालका यस्ता नामुद र खुखाँर भगौडाहरूमा सर्वश्री विमल श्रीवास्तव, प्रदीप यादव, हरिनारायण रौनियार, जन्नत अन्सारी, विजय सरावगी, राजेशमान सिँह, प्रह्लाद गिरी, मंजुर अन्सारी, भीमा यादव आदि हुन्। यी भगौडाहरू मध्ये सांसद,विधायक,मेयर, मन्त्रीसम्मका पद मधेसीको आवरणमा गुलछर्रा उडाए। राष्ट्रिय स्तरमा रेणु यादव, इस्तियाक राई, जयप्रकाश गुप्ता, विजय गच्छेदार, बबन सिंह, अमर यादव आदि हुन्। पद नपाएकै झोकमा पर्साकै भाग्यनाथ गुप्ता राजनीतिबाटै हराए। पछिकै करिना बेगम, रामकुमार शर्मा, शशि कपूरहरू पुरानै घर फर्किएर रौनक बढाएका छन्।
जो जता भगौडाको रूपमा लुक्न–छिप्न गए पनि ज.स.पा. नेपाल समुन्द्रबाट एक लोटा पानी झिके झै विशाल सखुवाको रूखझैं ठिङ्ग उभिएकै छ।
आज फेरि समयले कोल्टो फेरेको छ। पद र पैसाका लागि पार्टी फोडुवाहरू एकपटक फेरि टुहुरो बनेका छन्। अशोक राईहरु नेपाली कम्युनिस्ट पार्टी प्रचण्डको पार्टीमा विलिन हुन्ने पक्कापक्की भएपछि मधेसवादी दल ज.स.पा. नेपालबाट गएका जस्ता इस्तियाक राई,रेणु यादव र प्रदीप यादवहरुको बाह्र बजेको छ, विजोग छ ।
मैले स्पष्ट रुपमा भन्नु पर्दा अशोक राई, राजेन्द्र श्रेष्ठ जस्ता मंगोल अनुहारले प्रचण्डलाई रोजेका छन् भने मधेसी मूलका इस्तियाक राई, रेणु यादव, प्रदीप यादवहरू मधेसवादी दलमा पस्ने छिर्के दाउ खोज्दैछन्।
अशोक राईको “मुक्का छाप” मध्ये केही प्रचण्डकोमा, केही एमालेमा र प्रदीप यादवहरू मधेसवादी दलमा पस्ने भन्दै छियाबिया, राईछिया भएका छन्। यता धाक्कड उपेन्द्र यादवले समेत “पुरानो घर फर्क” भन्न थालेका छन्। जसमा ज.स.पा. नेपालका उपेन्द्र यादव समेत कार्यकर्ताहरुसित सल्लाह नगरी “आँव देखा न ताव” निर्णय गर्ने गरेका छन्।
खासगरी यो हल्ला पछि पर्सा जिल्लाको राजनीति गर्माएको छ। कतिपय ज.स.पा. नेपालका सक्रिय र प्रतिबद्ध कार्यकर्ताहरू उनीहरूको पार्टी प्रवेश, पुनः पार्टी प्रवेशको हल्लाबाट खिन्न र उदास छन्। पार्टी अध्यक्ष उपेन्द्र यादव अमेरिकामा रहेको बेला खलनायकी गर्दै पद र अवसर खोज्दै पार्टी टुक्राएको कुरा उपेन्द्र यति छिटो कसरी बिर्सिए ? “युज एन्ड थ्रो” प्रयोग गर र फाल भन्नेहरूको चलखेल गर्ने पार्टी हो र जसपा नेपाल ?
मधेस र मधेसीको हित र विकाश गर्नेहरुलाई पार्टी प्रवेश खुल्ला गर्दै स्वागत गरौँ । भागदौड र पार्टी फोडुवाहरुलाई प्रवेश कायम राख्नु जसपा नेपालकै लागि नोक्सानी व्यापार हुन सक्छ । उपेन्द्र, लालबाबु सचेत हुनैपर्छ।
सिमरामा एमालेको दादागिरी देखिहाल्नु भयो। सडकमा टायर बालेर बसेका जेनजीका विद्यार्थीहरूलाई एमालेका झोलेहरूले रामधुलाई गरेर तानाशाही देखाएर गाईजात्रा र मधेसलाई अशान्त पारेका छन्। यिन्को स्वभाव नै जण्डू र उग्र हुन्छ। जण्डू र उग्रताबाट सावधान बनौँ।
उपेन्द्रको रातो तूल बिछाएर स्वागत गर्ने नितीलाई पर्सामा प्रवेश निषेध भन्दै विरोधको स्वर समेत सुनिनु जसपा नेपाललाई निल्नु न ओकल्नु नहोस्। भगौडा प्रहरीलाई त सरकारले फेरि भर्ना गर्दैन भने उपेन्द्रलाई एकाएक कसरी भगौडा र धोकेबाजहरूको याद आयो ? “आ बैल मुझे मार न गरौँ, प्लीज”। जसपा नेपाललाई भगौडा बाहुल्य पार्टीमा परिणत गर्ने कि प्रतिबद्ध, ईमान्दार कार्यकर्ताहरुलाई भगाउने?

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.