Home » Blog » पार्टी प्रवेश – पार्टी निषेध

पार्टी प्रवेश – पार्टी निषेध

Ankushdaily
0 comment 27 views

(स्तम्भकार कुमार रुपाखेती)

आदर्शनगर रंगशालामा खेलकुदका कार्यक्रम हुँदैन, नारायणी रंगशालामा फुटबल प्रतियोगिता हुँदैन, स्विमिङ पूलमा पानी हुँदैन,सभागृहमा (टाउन हल) सांस्कृतिक कार्यक्रम हुँदैन आदि इत्यादि अपत्यारिला कुराहरू हाम्रो महानगरमा सरेआम देखिन्छन् । वाह रे वीरगन्ज । आज टाउनहलमा एमालेको पार्टी प्रवेश कार्यक्रम रे । धन्य, टाउनहलले सांस्कृतिक कार्यक्रमको सट्टा राजनीतिक कार्यक्रम गर्ने रोजगारी पाएको छ । एमाले मात्रै होइन, सबै साना–ठूला राजनैतिक दलहरूले दस्तुरी तिरेर सभागृहमा कार्यक्रम गर्दै आएका छन् । अन्य दलहरूले वडा–वडामै समर्थकहरू भेला गरेर पार्टी प्रवेश कार्यक्रम गरेको देखिन्छ । तर एमालेले होलसेलमा टाउनहलमा भिड देखाउन खोज्नुको रहस्य के हो ? के कारणले एमाले नेताहरूको रोजाइ वडाको सट्टा टाउन हल बन्यो ?

भोट माग्न वडा–वडामा धाउने अनि पार्टी प्रवेशलाई टाउनहल रोज्नुका थुप्रै कारण छन् । अस्ति नगवामा पार्टी प्रवेशमा अनहोनी भएपछि एमालेले होसियारी देखाएर टाउनहलमा सिफ्ट भएको चर्चा छ । तर मतदान त वडाले गर्छ, निरीह टाउनहलले के गर्छ ? त्यसै पनि पार्टी प्रवेश त खुला गाउँमा सबैले देख्ने सुन्ने गरी गर्ने चलन छ । चारदिवारी भित्रको कार्यक्रमले खुल्ला जस्तो प्रचार पाउँदैन । कोठे बैठक र किचेन क्याबिनेटका लागि ओली पनि नामुद नै थिए। पार्टी प्रवेशका लागि आरामदायी कोठामा बसेर दे दनादन फोन आउन थालेको मतदाताहरू बताउँछन् । कतिपयले पार्टी प्रवेशमा खास रुचि नदेखाएको, आनाकानी गरेको तथा हाकाहाकी पार्टी प्रवेश नगर्ने जवाफ दिएको पनि देखियो । यसरी पार्टी प्रवेशको निमन्त्रणा बाँड्नेहरू यो तीन महिनाको अवधिमा कम्तीमा तीन वटा पार्टी प्रवेश गरेर निराश फर्केका धुरन्धरहरू हुन् ।

छिन–छिनमा पार्टी इन, पार्टी आउट हुने नेताहरूको बिचलित चरित्र देखेर आजकाल पार्टी प्रवेश कार्यक्रम “एक देखावा” साबित भएको छ । तर पनि निर्वाचनअघि कमजोरहरूले बरियारी (बलियो) देखाउन पार्टी प्रवेश मञ्चन गरिरहन्छन् । पार्टी प्रवेश एउटा तमाशा बाहेक केही होइन । यो प्रवेश प्रक्रिया फ्लप (असफल) कार्यक्रम साबित भइसकेको छ । २०७९ को स्थानीय निर्वाचनमा एमालेका मेयर उम्मेदवार विजय सरावगीको तामझाम, भिडभाड, लावालस्कर सहितको विशाल जुलुस देखेर ‘आयो, आयो सरावगी आयो’ भन्ने हल्ला हावा भरेको बैलुन झै फिस्स भयो ।

छाताछापमा राजेशमान विजयी भए । यस्ता घटनाले देखाउँछ भिडको भरोसा हुँदैन । भीड तमाशा हेर्न भिडभाड गर्छ । त्यसैले धनाढ्य दलहरूले पार्टी प्रवेशको नाममा साम, दाम, दण्ड, भेद, रुपैयाँ, पैसाको खोला बगाएर मतदातालाई दिग्भ्रमित गरेको पाइन्छ । एमाले त वडा–वडामा संगठित भएको दल भनिन्छ । अनि वडा नपसेर कोठा किन पसेको होला । खैर, सबैको आ–आफ्नै किसिमको समस्या हुन्छ । एमालेको पनि आफ्नै विकराल समस्याको चाङ होला । स्यालको सिङ कसैले नदेखे पनि स्यालको सिङ हुन्छ भने झै वडा–वडामा संगठन, वडा कमिटी नभए पनि कसै–कसैले छ भने होलान । नेतृत्वपंक्तिलाई विश्वास लागेन होला, अनि त टाउन हल रोजेको होला । केही राजनैतिक दलका कार्यकर्ताहरूमा अनुशासनको कमी, स्कुलिङ्गको अभाव र धैर्यताको कमी देखिन्छ । सिद्धान्त, आदेश, नीति पोलेर खाइसके । मतदाताहरू यस्ताहरुसित आजित छन् । वेदागी, नयाँ चेहरा–मोहरा खोज्दैछन् । पर्सामा मात्र होइन, मुलुकभरि नै रैथाने, पुराना अनुहार नर्कान थालेका छन् । छातीमा हात राखेर भन्नुस्— बालेनले ओलीको छक्का छुटाएका छन् कि छैनन् । अनि पर्सामा पनि नयाँ अनुहार पुरानाकालागि हाउगुजी साबित भएकै छन् ।
हाय रे टाउनहल ।

पद सानो, गाँस ठूलो गर्नहरू नेपालमा थुप्रै छन् । वीरगन्जमा पनि होलान । ठूला शक्तिशाली पार्टीको कुरै चर्को । हामी त कमजोर मतदाता । अनि चुनावमा करामत देखाउने पनि मतदाता । बलियो मतदाता । बेचारा मतदाता कसैले नठानुन ।

साभार:- अंकुश दैनिक पत्रिकाबाट

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.