Home » Blog » नगवा विद्रोह

नगवा विद्रोह

Ankushdaily
0 comment 148 views

(स्तम्भकार कुमार रुपाखेती)

अस्ती मैले अंकुश दैनिकमा “गाली गलौजको निर्वाचन” लेखेको थिएँ । तर अब यसको स्तर उठेर लखेटालखेटी र खेदाखेद सम्म पुगेको छ । अस्ती नगवामा जेनजी युवाहरूले एमाले उम्मेदवारलाई खेदेर भगाएका छन् । वीरगञ्जमा कतै कालो हाँडी (करिया हाँडी) एमाले उम्मेदवारलाई लखेट्ने प्रयोजनका लागि रेडी तैयार राखिएको चर्चा छ ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा जेनजी आन्दोलन क्रुरतापुर्वक दबाउने क्रममा ठूलो जनधनको हानि भयो । यो हत्याकाण्डपछि मुलुकभरि नै एमाले उम्मेदवारहरूको दोहलो काढ्न थालिएको र खेदाखेदको वातावरण सृजना भएको छ ।

अर्को महत्वपूर्ण कुरा के छ भने मधेस आन्दोलनबाट उदाएका स्वार्थी अनुहारहरूले एमालेको कुर्ता पैजामा भिरेर, भ्रम सृजना गरेको, मधेस आन्दोलनको उपहास गरेको चर्चाले चिया पसलसम्म गर्माएको छ । स्मरणीय कुरा के छ भने एमालेका एकमात्र “स्टार चुनाव प्रचारक” खड्ग ओली दुम दबाएर झापामा सीमित हुनाले पनि एमाले उम्मेदवारहरू टुहुरो साबित हुँदै गएका छन् । यो टुहुरोपन पर्सा क्षेत्र नं. १ मा झनै दयनीय बनेको छ ।
“भाग रे छौडी आँधी आइल झै ।”

सबैलाई थाहै छ जसपा नेपालका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई मधेस प्रदेश नामाकरण गरेर वाहवाही कमाएका थिए । मधेस आन्दोलनको मर्म र उद्देश्यलाई ओझेलमा पार्न कांग्रेस, एमालेहरूले थुप्रै अनुपयुक्त नाम ल्याए पनि लालबाबुको अडानले हाम्रो आठवटै जिल्ला मधेस प्रदेश बन्यो ।

लालबाबुकै रोजाइमा पर्सा १ बाट छाता छापले स्वच्छ छविका रामनरेश यादवलाई उच्च मनोबलका साथ उम्मेदवार बनाएको छ । “मिले स्वरमे स्वर हमारा–तुम्हारा” भन्दै केही नवसिखुवा, उपबुज्रकहरू पर्सा एमालेमा छिरेपछि यहाँ भाँडभैलो देखिन्छ । एमालेमा भर्ना भएका नयाँ रंगरुटहरूको माकाफुई अझै कम भएको छैन । नगवा विद्रोह यसैको परिणाम हो ।

पर्सा क्षेत्र नं. १ मा असली–नकली चेहरा बिरुद्द जेहाद छेडिएको बुझिन्छ । मधेसको खोल ओढ्नेहरू बेनकाब हुने क्रम जारी छ । “जय मधेस” भन्नेहरूले “लाल सलाम” भनेको तनिक पनि पचाउन सकेनन् मधेसी मतदाताहरूले । एमाले बनेका सेनाविहीन सेनापतिहरू रणभुल्लामा परेका छन् । एमालेका यस्ता अभिमन्युहरू एमालेको चक्रव्यूहमा नराम्रो गरी फसिसकेका छन् । नखाउ भने दिनभरिको सिकार, खाँउ भने कान्छा बाउको अनुहार ।

उहिले–उहिले “टालटुली बटुली, कति राम्री पुतली” भनेर केटाकेटीलाई टालाटुलीबाट बनाएको पुतली दिएर खुसी पारिन्थ्यो । एमालेले पनि टालाटुली बटुली, कति राम्री पुतली भन्दै आव देखा न ताव उम्मेदवार घोषणा गरिदियो । रङ्गा खुस हुआ, लेकिन मतदाता नाखुस ।

पर्सा १ मा पहिलादेखि नै एमालेको प्रदर्शन फितलो छ, झन् अहिले त एमालेभित्रै किचलो छ । निर्वाचनको एक महिना अघिदेखि नै खेदा–खेद, भागमभागका दृश्यले एमालेको वास्तविक अवस्था छर्लङ्ग भएको छ । कतिपय मतदाताहरूले त केही क्षेत्रमा एमाले उम्मेदवारको खिल्ली उडाउँदै “ये खण्डहर, कभी इमारत थी” समेत भन्दैछन् ।

पर्सा क्षेत्र नं. १ मा धेरै पहिलेका चिरञ्जीवी आचार्य पछि योग्य उम्मेदवारको खडेरी परेको, खण्डहर बनेको हल्ला छ । चिरञ्जीवी आचार्य, बालगोपाल थापा, नागेन्द्र चौधरी, मनोज चौधरी जस्ता होनहारहरू अचेल एमाले भन्न लाज मान्छन् । त्यसैले मतदाताहरूलाई मेरो सल्लाह छ, “मधेसी तिमी रहन्छौ कहाँ, मधेस नै नरहे” । त्यसैले यहाँका मतदाताले यसपल्ट छातीमा हात राखेर मन, वचन र कर्मले मतदान गर्नुहोस् ।

“जिस्का जुत्ता, उसिका सर” भन्नेहरूलाई मतपत्रबाट चारोखाना चित गर्नुस् । अस्ती यहाँको एउटा मतदाताले “मन्त्रीजी छातासे लडतारन भनेर मलाई लजाइ दियो”। मन्त्रीको इज्जत जोगाउँदै मैले “ह भाइ मन्त्रीजी, छातासे लडतारन” भनेर मन्त्रीको रहल–पहल इज्जत जोगाइ दिएँ । अब त्यो छाता छापको विगतको मन्त्रीको हो, खोइ, मैले चासो राखिनँ ।

वास्तवमा पर्सामा अहिले को कुन छापबाट उम्मेदवार छन् भन्ने रणभुल्ला र अन्यौल कायम छ । धेरैलाई यो चाहिँ थाहा छ कि छाताबाट रामनरेश यादव, कांग्रेसबाट अनिल रुँगटा अनि अन्य खुदरिया, छ्यासमिसे दलहरूबाट को–को, कुन–कुन चिन्हबाट भन्ने भ्रम छ पर्सा क्षेत्र नं. १ मा । उम्मेदवारहरूले उम्मेदवारी दर्ताको समयमा समेत दल बदल गरेकोले यहाँ छाता र रुख बाहेकका उम्मेदवार र चुनाव चिन्हबारे मतदाता अनभिज्ञ छन् ।

मिसन इलेक्शनमा समेत छाता र रुख नै अग्रपंक्तिमा छन् । बिरोलो घाँटीमा घण्टी बाँध्न हिँड्ने सानो समूह पनि सडकमा देखिन्छन् । भागमभाग, खेदाखेदवाला निर्वाचन रे, हाई दादा ।

नगवा मधेस आन्दोलनको “हट स्पट” “हट केक”थियो, जहाँ प्रदीप यादवले राम्रो मत पाउँथे । उनीप्रति “नगवा विद्रोह” एक टड्कारो प्रश्नचिन्ह हो ।
आगे आगे देखते जाइये, होता है क्या । हमरा त एकेगो बात थाहा बाटे—”केतनो पंछि उडे आकाश, फिर घरतीके आस” ।

“नगवा विद्रोह” विरोधको विगुल हो । यो हावा चारैतिर नफैलियोस्—“चौटा खान गएकी बुढी झोलमा डुबी । सधै —“रामनाम जपना- पराया माल अपना” हुन्छ र ? जय सियाराम । जय–जय सियाराम ।

मधेस आन्दोलनका बखत जागेको नगवा अहिले फेरि जोश खरोसका साथ जागेको छ । नगवावासीलाई “जागते रहो” भन्ने सन्देश पनि छ । जागते रहो ।
“खुदा मेहरवान तो गधाहा पहलवान, के जवाना नईखे हो भाई ”।

साभार:- अंकुश दैनिक पत्रिकाबाट

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.