Home » Blog » वैज्ञानिक मेयर

वैज्ञानिक मेयर

Ankushdaily
0 comment 68 views

(स्तम्भकार कुमार रुपाखेती)

वैज्ञानिक महाबिर पुनले बिसौँ वर्षदेखि थउसिएको कृषि औजार कारखाना वीरगञ्ज सञ्चालनमा ल्याएको देखासिकी गर्दै वीरगञ्जका मेयर राजेशमानले वर्षौँदेखि बन्द भएको यातायात संस्थानको खाली जग्गामा रेल सङ्ग्रहालय (म्युजियम) खोल्ने रे । अहिलेको बी.पी. उद्यान रहेको क्षेत्रलाई हाम्रो बराजुको पालामा स्टेशन रोड भनिन्थ्यो । अंग्रेजको सहयोगमा राणा शासकहरूले वीरगञ्जमा पहिलोपटक अमलेखगञ्जसम्म चल्ने रेल सञ्चालन गरेका थिए, जसको अहिले वीरगञ्जदेखि अमलेखगञ्जसम्म कुनै नामोनिशान छैन ।

वन मन्त्री हुँदा प्रदीप यादवको चिडियाखाना, राजेशमानको रात्री बजार, छपकैया तरकारी बजार र अहिले दिउँसै सपना देखेको रेल सङ्ग्रहालय आदि एउटै चट्टाबट्टाको “झुठा है तेरा वादा” स्तरको विकास हो । हिन्दीमा एउटा लोकप्रिय गीत छ, “होनीको अनहोनी कर दे, अनहोनीको होनी, एक जगह अब जमा हो तीनो अमर अकबर एन्थोनी… ।बेचारा एक्लो एन्थोनी । ”सतुवाले भरिएको हडीया(हाडी) ताल सुतेर सपना देख्ने सोमनाथ पण्डितजस्तो सोच्न बन्देज छ र ? रावणले त बाँसको सिँढी लगाएर चन्द्रमा छुने सपना देखेको थियो । हाम्रो मेयरले त जनकपुरधाम रेल स्टेसनमा फ्याँकिएका कवाड भएका रेल इन्जिन, रेलका डिब्बा, रेल गुड्ने चक्का,फलामे लिक, वीरगञ्ज ल्याएर रेल म्युजियम बनाउने रे । राजेशमान भन्छन्, “फोहोरबाट मोहर”, अर्थात् जनकपुरधामको कवाडबाट वीरगञ्ज रेल सङ्ग्रहालय । वाह नेपाली काइदा, सबैलाई फाइदा । बड़े मियाँ तो बड़े मियाँ, छोटे मियाँ सुभान अल्लाह । एउटाको चिडियाखाना, छोटे मियाँको सङ्ग्रहालय । वाह क्याबात है मेयर साहेब । राम बनवल जोडी हो यो ।

धन्न मेयर साहेबले वीरगञ्ज चिनीमिल सञ्चालन गर्ने रिस्क लिएनन् । हुन त निर्वाचनको मुखमा चिनी मिल बनाउँछु भनेको भए झन् सुनमा सुगन्ध हुने थियो, साहेब । हो नि, थलिएको आदर्शनगर रंगशाला, नारायणी रंगशाला मर्मत गरेर खेल र खेलाडी उत्पादन गर्नुको सट्टा शनिचरे फलामे ठाडो जनकपुरबाट ल्याएर वीरगञ्ज रेल सङ्ग्रहालयको अनहोनी ढिँढोरा पिट्नु राम्रो हो । “दुर के ढोल सुहावन” भन्ने कुरा महानगरका मेयरलाई थाहै छ । जनकपुरमा रेलका कवाडी सामान कवाड पसलमा पनि किन्न सकिन्छ ।

शारीरिक, मानसिक र खेलकुद विकासका प्रतीक रंगशालाहरूमा बस स्थल, स्याल कराओस साहेबको सङ्ग्रहालय नधरमरा ओस् । अनि मेयर साहेब, त्यो अन्तर्राष्ट्रिय स्तरको स्वीमिङ पुलको के गर्ने खै ? बालेनलाई गँजेडि भन्छन्, यहाँ त गाँजा सेवन नगरे पनि विकासको नशामा लठ्ठिने साहेबहरू छन् । यो वीरगञ्जको अहोभाग्य हो ।

सङ्ग्रहालय अथवा म्युजियमको अर्थ के हो भनि मलाई मेयरसँग प्रश्न गर्ने मन छ । मसित बाउबाजेले वीरगञ्ज-अमलेखगञ्ज रेल चढ्दाको त्यतिबेलाको रेल टिकट पनि छ । सङ्ग्रहालयको ढिँढोरा पिट्नेहरूसँग त्यस्तो के छ ? जनकपुरबाट ल्याइने रेल सामग्रीलाई कसरी यहाँको सङ्ग्रहालय मान्ने ? काम नपाएकी बुहारी पाडाको . . . कन्याउ भनेको यही हो ।

अस्ती एउटा नेताजीलाई चुनाव प्रचारको क्रममा एउटा मतदाताले “जोकर” भनि खिसिट्युरी गरेछ, नेताजीले जवाफमा “मेरो यही परिचय काफी छ” भनेछन् । चेतना भया मेयर साहेब । हनुमानझैँ सबैले गोवर्धन पहाड बोक्न सक्छन् र ? मेयरको रेल म्युजियमलाई एक जनाले फेक न्युज भने । उदाहरणमा उनले रात्री बजार, छपकैया बजार देखाए । यस्तो प्रतिक्रियालाई साहेबले खुट्टा तानेको आरोप लगाउँछन् । प्रचण्ड, ओली, गगन थापा, बालेन साहलाई सम्बन्धित दलले उधारो प्रधानमन्त्री घोषणा गर्न सक्छन् । डा. बाबुराम भट्टराई उधारो राष्ट्रपति बन्न सक्छन् भने वीरगञ्जमा उधारो रेल म्युजियम राजेशमानले किन नबनाउने ?

७६ जना युवाहरूको हत्यारा के.पी. ओलीसँग सार्वजनिक बहस गर्दिन भन्ने बालेनजस्तै राजेशमानले जतिसुकै झुठ फरेब गरे पनि रेल सङ्ग्रहालय बनाउने भिजन छैन किन नभन्ने ?हनुमानले झै सबैले कहाँ सूर्य निल्न सक्छन् र ? खेलकुद विकासका लागि नेपाल स्पोर्ट्स समिति २०२६ यही माघ २२ गतेदेखि काठमाडौँमा हुँदैछ । साहेबलाई खेलकुदमा चासो भए पो थाहा हुन्छ । यो जिन्दगीले पनि के–के देखाउँछ । रेलको पतनपछि रेल सङ्ग्रहालय देखाउँछ । परोपकारी, विकासप्रेमीहरूले नजाने के–के सपना देखाउँछन् । देखाऊ भाइ देखाऊ । टाँय टाय फिस्स पनि देखाउ ।

स्मरणीय छ, स्टेशन रोडलाई पछि महेन्द्र पार्क भनियो, थिरबम मल्ल वीरगञ्जको प्रथम सहिदको सालिक राखेपछि थिरबम मल्ल पार्क भनियो, अहिले घण्टाघर, बी.पी. उद्यान भनिन्छ । एकताका त्यसलाई बसपार्क पनि भनिन्थ्यो । हिमालय जनता ट्रान्सपोर्ट थाहा छ कि छैन । अझै कसैकसैले घण्टाघरमा टेम्पु स्ट्यान्ड पनि भन्छन् । राजेशमानको सपना साकार भएपछि “म्युजियम रोड” नामाकरण गरौँला । म त अचेल उनलाई वैज्ञानिक मेयर भन्न थालेको छु । सङ्ग्रहालय निर्माता ।

साभार:- अंकुश दैनिक पत्रिकाबाट

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.