Home » Blog » मोगेम्बो खुस हुआ ।

मोगेम्बो खुस हुआ ।

Ankushdaily
0 comment 29 views
(स्तम्भकार : कुमार रुपाखेती)
रंगा खुस भयो, मोगेम्बो खुस भयो स्तरमा महाधिवेशनमा भीडभाड देखेर ओली खुसहुआ । राजालाई खुस बनाउन विगतमा पञ्चहरूले यस्तै भेला गर्थे। उहिलेको पञ्च भेला र ओलीको भेला उस्तै–उस्तै हो। २०४६ को पहिलो जनआन्दोलन ताका राजालाई खुस पार्न पञ्च महापञ्चहरूले ठूला–ठूला, विशाल जमघटवाला पञ्च र्‍यालीको नाटक गरेर राजाको पक्षमा जनसागर ओराल्थे । बिचरा राजा वीरेन्द्रले तैपनि अन्ततः विवश झै बहुदल घोषणा गर्दा पञ्च र्‍यालीवालाहरू स्यालको सिँङ नै हराए। ओली र एमालेको भीडभाड पनि उस्तै–उस्तै हो । पञ्चे छनक देखाउँदै एमालेको महाधिवेशनले विश्राम लिँदैछ। पञ्च र्‍याली र कमरेड र्‍याली दुवै मोगेम्बो र रंगा खुस हुआ स्तरकै देखिन्छ । ओलीटिक्सको पोलिटिक्स बुझिनसक्नु छ ।
यो भीड महाधिवेशनको नाममा ओलीलाई जिताउन, ईश्वर पोखरेल समूहलाई तर्साउन काठमाडौँ मार्चपास गराइएको हो । पोखरेल समूह त प्रतिनिधि छनोटदेखि नै ओली ग्याङ्गको छटनी र पजनीमा पर्दै आएको छ । तर पनि चुनाव पेचिलो देखिएकाले ईदी अमिन पारामा ओलीले आफैँलाई अध्यक्ष घोषणा गर्दै विपक्षीलाई रफादफा गर्ने योजनामा छन् रे । एमालेमा ओलीहरूको खोटा सिक्का चलनचल्तीमा आए पनि नेपालको पोलिटिक्समा ओलीटिक्स नचल्ने पक्का–पक्की छ ।
बिद्या भण्डारीसँग खफा ओलीले मदन भण्डारीको जबजको शिकार गरेको देखिन्छ। अब त ओली महिला विरोधी समेत प्रतीत हुन थालेका छन् । प्रधानमन्त्री सुसिला कार्की, बिद्या भण्डारीविरुद्ध तथानाम, अण्टसण्ट बरबराएको देखिन्छ । उषा किरण, वृन्दा पाण्डे, अष्टलक्ष्मी शाक्यहरूलाई घाइते बाघ झैँ झम्टिन थालेर महिला विरोधी आचरण देखाउँदै आएका छन् ।
महाधिवेशनमा राखिएका भीमकाय टि.भी. स्क्रिनहरूमा जेनजी आन्दोलनमा जलेका, जलाइएका सिंहदरबार, अदालत आदि देखाएर जेनजीहरूको कर्तुत साबित गर्न खोजिएको छ तर जथाभावी गोली हानी सहिद बनाइएको जनताको ओलीको कारनामा गायब छन्। तर पनि ओलीलाई घुलो चटाउन युवा एमालेहरू लागिपरिरहेकै छन् । आदतअनुसार गुण्डाहरूको जमात राखेर महाधिवेशनमा महाभारत गराउन समेत ओली गुफ्तगु गर्दैछन् रे । विगतमा पनि ओलीको यस्तै रवैयाले गर्दा एमाले छियाबिया हुँदै गएको छ । यो महाधिवेशनले समेत एमालेलाई बलियो होइन, कमजोर बनाउने निश्चित छ । तर पनि ओलीविहीन र ओलीसहितवाला कमरेडहरूबीच भीषण जंग जारी छ । ओली अजम्बरी हुन् कि एमाले अजम्बरी हो छुट्याउन गाह्रो छैन् ।
पञ्चायतकालमा राजाले कोही कसैलाई कुनै कुराको जवाफ दिनु नपरे झै ओलीसँग एमालेमा कुनै सवाल–जवाफ गर्न पाइँदैन । ओलीकै मनमर्जी चल्छ।
यस्तै रवैयाले एमाले महाधिवेशन जुवाको खालमा परिणत भएको छ रे । महाधिवेशनरूपी यो जुवाघर र जुवा खेलमा कसले जित्छ, कसले हार्छ भन्ने कुनै माइबाप नै छैन । दासप्रथामा हुर्किएका एमालेहरू अझै पनि “ओली–ओली” भनिरहेको सुनिन्छ । ओली त अझै पनि आफु र आफ्ना आसेपासेलाई निरन्तरता दिने चक्करमा छन्, जसले गर्दा महाधिवेशन नै किन गरेको भन्ने गाइगुइँ छ ।
भाडामा, पैसामा गएका कमरेडहरू त आधाभन्दा बढी सल्लाघारीमा टाउको गन्ती गराएर रफुचक्कर भइसके रे । अझै पनि शक्तिशाली हुँ भन्ने भ्रममा छन् ओली । टाउकोमा खड्ग लटकेको समेत ओलीलाई थाहा छैन । जेनजी आन्दोलनका बखत थर्र कामेर सेनाको हेलिकप्टरबाट भागेका ओलीलाई भीम रावलले “भगुवा” भनिदिए । हुन पनि हो, प्रधानमन्त्री पदमा रहँदा भाग्नुपर्नेले बेताज बादशाह बनेको सुहाउँदैन ।
अधिकांश एमाले महाधिवेशन प्रतिनिधिहरू “राम्रो होइन, हाम्रो” लाई बनाइएको छ । यस्ता हाम्राहरूलाई जिल्लाबाट ओलीका हमशक्लहरूले बाइज्जत खर्च–वर्च दिएर सल्लाघारी पुर्‍याएका छन् । अब यस्ताहरुले ठेकेदारको आदेशमा ओलीलाई नै भोट हाल्ने हुन् । पहिले नै बोलकबोल गरेर यिनीहरूलाई ठोक बजाई लगिएको छ ।
पुलिसवाला गुण्डा झै ओली “एमालेवाला गुण्डा” बन्ने निश्चित छ रे । ओली समर्थक भन्दैछन् “डोली सजाके रखना” हामी त यही भन्छै “एमाले बचाके रखना”।
नेपालमा एउटा पोपुलर गित यस्तो छ “ए काउली नचिनेको मान्छे, माया लाउली, दुःख पाउली“ । त्यसैले महाधिवेशन प्रतिनिधिहरूले ओलीको विगत र वर्तमान बुझ्नु जरुरी छ । अन्यथा ओलीले एघारौँ महाधिवेशनको मुखौडा ओढेर सबैलाई भड्खालोमा हाल्नेवाला छन् ।
यति बुझ्नुस ओली, “भुस्कौल विद्यार्थी बस्ता मोट” हुँन । चारपल्ट प्रधानमन्त्री बने, के ख्यासे । उल्टै ओमनी जस्ता थुप्रै काण्डै काण्ड गरे, जेनजीहरूमाथि गोली दागे आदि–इत्यादि ।
भुस्कौल ओलीले पार्टी अध्यक्ष पद जित्न, जिल्ला–जिल्लाबाट भुस्कौल प्रतिनिधि छानेर सल्लाघारीमा थुपारेका छन् रे । कस्तो उल्टो छ, विश्वप्रख्यात फुटबलर मेस्सी कोलकाता स्टेडियममा धेरै बेर बसेनन् भनेर प्रशंसकहरूले ठूलै हंगामा र तोडफोड गरे, हाम्रो मुलुकमा ओली एमाले अध्यक्षमा धेरै बसे, बसेको बस्यै किन गरे भनेर हंगामा छ ।
जेनजी अगुवाहरूले काठमाडौँ प्रवेश निषेध गरेपछि ओली महाधिवेशनका लालाबालाहरुको लावालस्करसहित भक्तपुरबाट बन्द सत्र भन्दै भृकुटीमण्डप काठमाडौँमा हाजिर भए । यसअघि काठमाडौँ छिर्न ओली आनाकानी गर्थे । भदौ २३ गते जेनजीहरूको हत्यापछि उनी आफैँ तर्सिएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.