Home » Blog » रास्वपाभित्र निर्वाचनको टिकट खरिदबिक्री भएको सनसनीपूर्ण अडियो सार्वजनिक, सुशासनको नारामाथि नैतिक प्रश्न

रास्वपाभित्र निर्वाचनको टिकट खरिदबिक्री भएको सनसनीपूर्ण अडियो सार्वजनिक, सुशासनको नारामाथि नैतिक प्रश्न

Ankushdaily
0 comments 109 views
विरगंज ।
‘जान्नेलाई छान्ने’ र सुशासनको नारा दिएर नेपाली राजनीतिमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि टिकट बाँडफाँडमा गम्भीर आर्थिक चलखेल भएको तथ्य बाहिरिएको छ। पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दामा कानुनी घेरामा रहेकै समयमा पार्टीका जिम्मेवार नेताहरूबीच टिकट खरिदबिक्रीका विषयमा भएको भनिएको टेलिफोन संवाद सार्वजनिक भएपछि राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको हो। विशेषगरी रास्वपाको समानुपातिक सूचीको खस–आर्य क्लस्टरमा रहेका सिन्धुपाल्चोकका नेता प्रमोद न्यौपाने र मधेश प्रदेशका नेता दिनेश साहुबीच फागुन २१ गते हुने भनिएको निर्वाचनको टिकटलाई लिएर भएको संवादले पार्टीको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएको छ। न्यौपाने नेकपा (एमाले) का पूर्व नेता हुन् भने लामिछाने गृहमन्त्री हुँदा उनका प्रेस संयोजकका रूपमा समेत कार्यरत थिए।
उक्त सार्वजनिक अडियो संवादमा धनुषा क्षेत्र नम्बर २ का आकांक्षी दिनेश साहुले पार्टीले निष्ठावान् कार्यकर्तालाई पन्छाएर डेढ करोड रुपैयाँमा टिकट बिक्री गरेको गम्भीर आरोप लगाएका छन्। साहुका अनुसार धनुषा क्षेत्र नम्बर ३ का उम्मेदवार मनिष झाले आर्थिक लेनदेनको मध्यस्थता गर्दै सदस्यता लिएकै दिन आपराधिक पृष्ठभूमि भएका र भर्खरै कारागारबाट मुक्त भएका रामविनोद यादवलाई टिकट थमाएका हुन्। साहुले उक्त अडियोमा मनिष झाले सर्लाही क्षेत्र नम्बर ४ का अमरेशकुमार सिंह, सिराहा क्षेत्र नम्बर ४ का तपेश्वर यादव र समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवसँग समेत मोटो रकम लिएर टिकट दिलाएको दाबी गरेका छन्। साथै, स्वतन्त्र उम्मेदवारी दिन आफूलाई दबाब दिइएको र बालेन शाहको आफन्त भएकै कारण धनुषा क्षेत्र नम्बर १ मा किशोरी साहलाई अवसर दिइएको जस्ता विषयहरू पनि संवादमा उल्लेख छन्।
यस घटनाको अर्को गम्भीर पक्ष के छ भने, सभापति लामिछानेका निकट मानिने प्रमोद न्यौपानेले पनि टिकट बाँडफाँडमा आर्थिक चलखेल भएको कुरालाई घुमाउरो पाराले स्वीकार गरेको सुनिन्छ। उनले साहुलाई फकाउँदै हालका लागि अन्य क्षेत्रमा गएर पार्टीका उम्मेदवार जिताउन आग्रह गरेको र बाँकी ‘हिसाबकिताब’ पछि मिलाउने आश्वासन दिएको अडियोमा सुनिन्छ। बारा, सप्तरी र धनुषालगायतका जिल्लाहरूमा पनि यस्तै किसिमको आर्थिक सौदाबाजी भएको संकेत मिलेको छ। यद्यपि, यस विषयमा थप स्पष्ट पार्न खोज्दा दिनेश साहुले हाललाई केही नबोल्ने प्रतिक्रिया दिएका छन्। सुशासन र शुद्धीकरणको चर्को वकालत गर्ने रास्वपाभित्रै ‘पैसा हुनेलाई छान्ने’ प्रवृत्ति हाबी भएको यो घटनाले पार्टीको नैतिक धरातल र चुनावी प्रतिबद्धतामाथि ठूलो धक्का पुर्‍याएको देखिन्छ।

अडियो सहित

रास्वपाभित्र निर्वाचनको टिकट खरिदबिक्री भएको सनसनीपूर्ण अडियो सार्वजनिक, सुशासनको नारामाथि नैतिक प्रश्न (अडियो साहित)

सम्बन्धित पोस्टहरू