Home » Blog » वीरगञ्जलाई ग्रहणबाट मुक्त गर्नुपर्छ : अनिल रुंगटा

वीरगञ्जलाई ग्रहणबाट मुक्त गर्नुपर्छ : अनिल रुंगटा

Ankushdaily
0 comments 49 views

विरगंज ।

रोटरी क्लब अफ वीरगञ्जले पर्सा निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार एवं क्लबका पूर्व अध्यक्ष रोटेरियन अनिल रुंगटाको उम्मेदवारीलाई बलियो समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ। वीरगञ्जस्थित पुजन होटेलमा आयोजित एक विशेष भेलाबीच क्लबले रुंगटालाई जनसेवा र सामुदायिक विकासमा समर्पित एक योग्य तथा दूरदर्शी नेताका रूपमा अघि सारेको हो । रोटरी अभियानमा उहाँको दशकौं लामो योगदान र मानवीय मूल्यमान्यताप्रतिको निष्ठालाई उच्च मूल्यांकन गर्दै संस्थाले उहाँको राजनीतिक यात्रा र वीरगञ्ज रूपान्तरणको एजेन्डामा पूर्ण साथ दिने घोषणा गरेको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार रुंगटाले रोटरी संस्थाकै कारण आफूभित्र नेतृत्वदायी क्षमता र उत्तरदायित्वको भावना विकास भएको स्मरण गर्नुभयो। आफ्नो प्यारो सहर वीरगञ्ज हाल ‘ग्रहण लागेको’ अवस्थामा रहेको मार्मिक टिप्पणी गर्दै उहाँले यसलाई चिर्न आर्थिक तथा सामाजिक क्षेत्रमा तत्काल विस्तृत र रूपान्तरणकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो। वीरगञ्जलाई शान्त, सुरक्षित र विकसित सहरमा रूपान्तरण गर्न सके मात्र आफ्नो जीवन सफल भएको मान्ने उहाँको भनाइ थियो। वर्तमान जटिल परिस्थितिमा राजनीतिक ‘परीक्षण’ (एक्सपेरिमेन्ट) गर्ने छुट कसैलाई नभएको प्रष्ट पार्दै उहाँले परिणाममुखी र कर्मठ नेतृत्व छनोट गर्न मतदाताहरूलाई आफ्नो विवेक प्रयोग गर्न आग्रह गर्नुभयो ।

सो अवसरमा रोटरीका अगुवाहरूले रुंगटाको असाधारण नेतृत्व क्षमता र विगतका सफल ट्र्याक रेकर्डको खुलेर प्रशंसा गरेका थिए । राष्ट्रिय अर्थतन्त्रदेखि लिएर वीरगञ्जको शैक्षिक विकास र ठूला अन्तर्राष्ट्रिय कार्यक्रमहरूको सफल व्यवस्थापनमा उहाँले पुर्‍याएको योगदानको चर्चा गर्दै वक्ताहरूले पर्सा जिल्लालाई अहिले ‘सुरक्षित अवतरण’ (सेफ ल्यान्डिङ) को नितान्त आवश्यकता रहेको बताए । यसका लागि रुंगटाजस्ता प्रमाणित उम्मेदवारको विकल्प नभएको उनीहरूको दाबी थियो।

रुंगटाको यस दूरदर्शी सोचलाई यथार्थमा बदल्न कार्यक्रममा उपस्थित वक्ताहरूले रोटरी नेटवर्कभन्दा बाहिर गएर आम नागरिकसम्म पुग्ने गरी आक्रामक र रणनीतिक चुनावी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। एक भोटलाई दश भोटमा परिणत गर्ने गरी सक्रियता बढाउन सहभागीहरूलाई प्रेरित गरिएको थियो। पुजन होटेलमा देखिएको यो एकताबद्ध र उच्च मनोबलसहितको उपस्थितिबाट रोटरी क्लबले अनिल रुंगटालाई वीरगञ्जलाई वर्तमान संकटबाट मुक्त गरी समृद्ध भविष्यतर्फ डोर्‍याउन सक्ने सबैभन्दा सशक्त र भरपर्दो नेताका रूपमा स्वीकार गरेको स्पष्ट सन्देश प्रवाह भएको छ ।

उक्त कार्यक्रममा रोटरी र रोट्रयाक्ट क्लबसँग आबद्ध विभिन्न विशिष्ट पदाधिकारी तथा सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा रोटरी क्लब अफ वीरगञ्जका पूर्व अध्यक्ष दीपक तुलस्यान, चार्टर सदस्य तथा पूर्व अध्यक्ष सज्जन घिरैया र पूर्व अध्यक्ष डा. आनन्द कुमार झाले आ-आफ्नो मन्तव्य राख्दै अनिल रुंगटाको उम्मेदवारीको औचित्यमाथि प्रकाश पार्नुभएको थियो।

त्यसैगरी, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका पूर्व अध्यक्ष सञ्जय शाह र वर्तमान अध्यक्ष सञ्जय जोशी, रोट्रयाक्ट क्लब अफ वीरगञ्जका पूर्व अध्यक्ष अभिषेक चौधरी,आयुष गुप्ता तथा रोटरी क्लब अफ वीरगञ्जका निर्वाचित अध्यक्ष (प्रेसिडेन्ट इलेक्ट) राकेश मिश्रालगायतका व्यक्तित्वहरूले पनि कार्यक्रममा सम्बोधन गर्दै यस चुनावी अभियानलाई सफल बनाउन आ-आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

सम्बन्धित पोस्टहरू