Home » Blog » पर्साका चारवटै क्षेत्र कांग्रेसले जित्छः सभापति गगन थापा

पर्साका चारवटै क्षेत्र कांग्रेसले जित्छः सभापति गगन थापा

Ankushdaily
0 comments 33 views
वीरगञ्ज ।
नेपाली कांग्रेसका सभापति गगन थापाले मधेस प्रदेशमा पार्टीको चुनावी अभियानलाई तीव्र पार्दै शनिबार वीरगञ्जमा आयोजित ‘मधेस प्रतिज्ञासभा’ मार्फत १० बुँदे प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ।
पार्टीको प्रारम्भिक आकलनअनुसार पर्साका चारवटै निर्वाचन क्षेत्रमा कांग्रेसले जित हासिल गर्ने उहाँले दाबी गर्नुभयो। मधेसले कांग्रेसलाई सधैँ ठूलो गुन लगाएको र पार्टीले बहुमत प्राप्त गर्दा मधेसबाटै सबैभन्दा बढी शक्ति आर्जन गर्ने उहाँको निष्कर्ष छ। मधेसको सोही ऋण तिर्न र विकासका एजेन्डालाई उच्च प्राथमिकतामा राख्न कांग्रेसले आफूलाई सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनाएको सभापति थापाले बताउनुभयो।
सभालाई सम्बोधन गर्दै थापाले मधेससँग आफ्नो भावनात्मक सम्बन्ध रहेको प्रस्ट पार्नुभयो। उहाँले भन्नुभयो, “मेरो शरीरमा कुनै मधेसी आमाको रगत नबगेको हुन सक्छ, तर एउटी मधेसी आमाले देखेको सपना पूरा गर्ने सङ्कल्प बोकेर म उहाँहरूकै छोरा बनेर आएको छु।” देशले नयाँ परिवर्तन र गति चाहेको उल्लेख गर्दै उहाँले आफू प्रधानमन्त्री बनेपछि परम्परागत रूपमा वार्षिक नभई हरेक महिना आफ्नो कार्यसम्पादन र आगामी योजनासहित नागरिकलाई सम्बोधन गर्ने घोषणा गर्नुभयो। आफू सर्लाहीबाट उम्मेदवार बने पनि आफ्नो पहिलो प्राथमिकता समग्र मुलुकको विकास र सुशासन रहने उहाँले प्रस्ट पार्नुभयो।
घरदैलो अभियानका क्रममा मधेसको वास्तविक समस्या नजिकबाट नियालेको बताउँदै उहाँले दलित समुदायले झुपडीमा कष्टकर जीवन बिताउनुपर्ने बाध्यताको अन्त्य गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, किसानले मलखाद, बीउबिजन, सिँचाइ र उत्पादित कृषि उपजको मूल्यका लागि भौँतारिनुपर्ने अवस्थाको अन्त्य गर्न सबै सुविधायुक्त ‘किसान कार्ड’ को व्यवस्था गरिने उहाँको भनाइ छ।
चुनावको समयमा विभिन्न भ्रामक सूचना र अफवाह फैलिन सक्ने भन्दै उहाँले मतदाताको घरघरमा पुगेर सत्यतथ्य उजागर गर्न पार्टीका नेता तथा शुभेच्छुकहरूलाई निर्देशन दिनुभयो। देश बनाउने एजेन्डा बोकेका दलहरू नयाँ वा पुरानो नहुने तर्क गर्दै उहाँले संयमित भई मुलुक, जनता र समाजको हितमा काम गर्ने शक्तिलाई मात्र मतदान गर्न आम नागरिकलाई आग्रह गर्नुभयो। तीव्र गतिमा देशलाई अगाडि बढाउन, पूर्वाधार विकास गर्न तथा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरू सिर्जना गर्न कांग्रेस नेतृत्वको सरकार अपरिहार्य रहेको भन्दै सभापति थापाले आफ्नो पार्टीलाई बहुमतसहित विजयी गराउन अपिल गर्नुभयो।

सम्बन्धित पोस्टहरू