Home » Blog » सतलोक आश्रम धनुषामा सन्त गरीबदास महाराजको ३००औँ बोध दिवस सम्पन्न

सतलोक आश्रम धनुषामा सन्त गरीबदास महाराजको ३००औँ बोध दिवस सम्पन्न

Ankushdaily
0 comments 18 views
जनकपुरधाम ।
सन्त गरीबदास महाराजको ३००औँ बोध दिवसको अवसरमा धनुषास्थित सतलोक आश्रममा आयोजित तीन दिवसीय विशेष कार्यक्रम बिहीबार विधिवत् रूपमा सम्पन्न भएको छ। फागुन शुक्ल द्वादशीको अवसर पारेर सन्त रामपाल महाराजको सान्निध्यमा सञ्चालित उक्त कार्यक्रम विभिन्न धार्मिक अनुष्ठान तथा सामाजिक कार्यहरू गर्दै समापन गरिएको हो। समापन समारोहमा अमर ग्रन्थ (सद्ग्रन्थ साहिब) को अखण्ड पाठ, विशाल भण्डारा तथा आरतीसहित हजारौँ भक्तजनको उपस्थिति रहेको थियो।
फागुन १४ गते पाठ प्रकाशबाट सुरु भएको यस महोत्सवको दोस्रो दिन सामाजिक सेवाका कार्यहरूलाई विशेष प्राथमिकता दिइएको थियो। सो क्रममा आयोजना गरिएको रक्तदान शिविरमा ४१ जनाले रक्तदान गरेका थिए। यसैगरी, समाजलाई दाइजोरहित बनाउने सकारात्मक सन्देश दिने उद्देश्यले ६ जोडीको आदर्श विवाह (रमैणी) समेत सम्पन्न गरिएको छ। कुनै पनि प्रकारको तडकभडकबिना जम्मा १७ मिनेटमा सम्पन्न गरिएको उक्त विवाह कार्यक्रमको मुख्य आकर्षण बनेको थियो। महोत्सवको अन्तिम दिन अमर वाणीको पाठ र भण्डारासँगै कबीर साहेब तथा सन्त रामपाललाई समर्पित गर्दै विशेष भोग लगाएर कार्यक्रमको भावपूर्ण समापन गरिएको आयोजकले जनाएको छ।
बोध दिवसको अवसरमा नेपालको धनुषामा मात्र नभई भारतका धनाना, मुन्डका, कुरुक्षेत्रलगायत १३ वटा प्रमुख सतलोक आश्रम र विश्वभर रहेका ५५० भन्दा बढी दीक्षा केन्द्रहरूमा एकैसाथ यस्तै प्रकृतिका कार्यक्रम आयोजना गरिएका थिए। करिब ३०० वर्षअघि फागुन शुक्ल द्वादशीकै दिन सन्त गरीबदासले भारतको हरियाणामा कबीर साहेबबाट मन्त्रदीक्षा प्राप्त गरेको स्मरणमा प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ। समाज सुधार, मानव सेवा र आध्यात्मिक ज्ञानको प्रचारप्रसारमा जोड दिने यस कार्यक्रमलाई भक्तजनहरूले ‘मुक्ति र भक्तिको महोत्सव’ का रूपमा मनाएका छन्।

सम्बन्धित पोस्टहरू