Home » Blog » पर्साका सीमानाका ७२ घण्टाका लागि बन्द

पर्साका सीमानाका ७२ घण्टाका लागि बन्द

Ankushdaily
0 comments 7 views
वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सीमानाका ७२ घण्टाका लागि बन्द गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी विनोदकुमार पोखरेलका अनुसार सोमबार मध्यरात (फागुन १८ गते) देखि फागुन २१ गते राति १२ बजेसम्मका लागि नेपाल-भारत सीमा सिल गरिएको हो। भारतको विहार राज्यस्थित पूर्वी र पश्चिम चम्पारण जिल्लासँग जोडिएका नाकाहरूबाट हुने आवतजावतलाई निर्वाचन सुरक्षाका कारण पूर्ण रूपमा रोक लगाइएको छ। निर्वाचनको समयमा सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै दुवै मुलुकले आपसी समन्वयमा ७२ घण्टा नाका बन्द गर्ने परम्परा अनुसार नै यो निर्णय लिइएको प्रशासनले जनाएको छ।
सीमा बन्दसँगै प्रशासनले फागुन १९ गते मनाइने होली पर्वलाई पनि मर्यादित र निर्वाचनमैत्री बनाउन विशेष आग्रह गरेको छ। पर्वका नाममा सार्वजनिक स्थलमा भीडभाड गर्ने, मदिरा सेवन गरी होहल्ला गर्ने, इच्छाविपरीत रङ दल्ने र सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न प्रशासनले सचेत गराएको छ। विशेषगरी निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनाव चिह्न अंकित पहिरन वा सामग्री प्रयोग गरेर होली मनाउन निषेध गरिएको छ। पर्वको समयमा हुनसक्ने सम्भावित सवारी दुर्घटना न्यूनीकरणका लागि फागुन २० गते मोटरसाइकल चलाउन समेत रोक लगाइएको सूचनामा उल्लेख छ।
यसैगरी, फागुन १९ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्मका लागि जिल्लाभर हुने राजनीतिक प्रचारप्रसार र सभा-जुलुसमा पनि कडाइ गरिएको छ। धार्मिक, सांस्कृतिक वा सामाजिक कार्यक्रमका नाममा डिजे लगायतका चर्को ध्वनि उत्पन्न गर्ने उपकरण प्रयोग गर्न प्रशासनले पूर्ण प्रतिबन्ध लगाएको छ। निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउनका लागि प्रशासनले जारी गरेका यी नियमहरूको पूर्ण पालना गर्न आग्रह गर्दै उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।

सम्बन्धित पोस्टहरू