Home » Blog » गाडीमा शंकास्पद वस्तु फेला परेपछि पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना प्रहरी नियन्त्रणमा

गाडीमा शंकास्पद वस्तु फेला परेपछि पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना प्रहरी नियन्त्रणमा

Ankushdaily
0 comments 73 views
वीरगञ्ज ।
गाडीमा शंकास्पद वस्तु फेला परेपछि पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति पर्सागढी नगरपालिका–३ बड्नियार चोकमा सुरक्षा जाँच गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मनोजकुमार चौधरी सवार गाडीमा उक्त शंकास्पद वस्तु भेटिएको हो। वस्तु फेला परेलगत्तै प्रहरीले गाडीसहित त्यसमा सवार सबैलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
पर्साका प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार राति करिब ११ बजेतिर गाडीको डिक्की जाँच गर्दा बमजस्तो देखिने वस्तु फेला परेको थियो। उक्त वस्तुलाई हाल नेपाली सेनाको बम डिस्पोजल टोलीको निगरानीमा राखिएको छ र त्यसलाई निष्क्रिय (डिस्पोज) पार्ने तयारी भइरहेको छ।
सो गाडीमा उम्मेदवार चौधरीका साथै नेकपाका नेताहरू सत्यनारायण चौधरी, रामेश्वर मण्डल र सुरज कार्की पनि सवार थिए। त्यसैगरी, गाडी चालक वीरगञ्ज छपकैयाका मुन्ना अन्सारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। हाल उनीहरू सबैलाई प्रहरीले आफ्नै नियन्त्रणमा राखेर घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ।

सम्बन्धित पोस्टहरू