Home » Blog » वीरगन्जमा लामखुट्टेको आतंक: नेपाली कांग्रेसका युवा नेता झाद्वारा चिन्ता व्यक्त, महानगरलाई ठोस कदम चाल्न आग्रह

वीरगन्जमा लामखुट्टेको आतंक: नेपाली कांग्रेसका युवा नेता झाद्वारा चिन्ता व्यक्त, महानगरलाई ठोस कदम चाल्न आग्रह

Ankushdaily
0 comments 41 views
वीरगन्ज ।
नेपाली कांग्रेस पर्साका युवा नेता कञ्चन झाले वीरगन्ज महानगरपालिका क्षेत्रमा हरेक वर्ष बढ्दै गएको लामखुट्टेको आतंकप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता झाले लामखुट्टेको प्रकोप अहिले गम्भीर जनस्वास्थ्यको समस्या बनिसक्दा पनि सम्बन्धित निकायको चरम लापरवाही र ढिलासुस्ती देखिएको बताएका हुन्। विगतका वर्षहरूको अनुभव र यस समस्याबारे पहिले नै जानकारी हुँदाहुँदै पनि हरेक वर्ष महानगरबाट ‘औषधि नआएको’ वा ‘औषधि छर्किने तयारी पूरा नभएको’ जस्ता गैरजिम्मेवार बहाना मात्र सुन्नुपर्ने अवस्था अत्यन्तै खेदजनक रहेको उनले औंल्याएका छन्।
हरेक वर्ष एउटै स्थिति दोहोरिइरहँदा यस समस्याको स्थायी र प्रभावकारी समाधान कहिले खोजिन्छ भन्दै उनले महानगरपालिकाको कार्यशैलीमाथि गम्भीर प्रश्नसमेत उठाएका छन्। यो कुनै एक व्यक्तिको मात्र गुनासो नभई सम्पूर्ण वीरगन्जवासीको साझा चासो र पिरलो भएको नेता झाको भनाइ छ। नेता तथा जनप्रतिनिधिहरूले विभिन्न उद्घाटन कार्यक्रम र चुनावी गतिविधिमा जस्तो तत्परता र उत्साह देखाउँछन्, त्यस्तै प्राथमिकता लामखुट्टे नियन्त्रणजस्ता जनस्वास्थ्यसँग जोडिएका संवेदनशील मुद्दामा पनि दिएको खण्डमा आम नागरिकले ठूलो राहत पाउन सक्ने उनले स्पष्ट पारेका छन्।
वीरगन्जवासीले अब महानगरबाट कुनै पनि प्रकारको बहानाबाजी नभई जनस्वास्थ्यको रक्षाका लागि तत्काल ठोस कदम र प्रभावकारी समाधानको अपेक्षा गरेको कुरामा नेता झाले जोड दिएका छन्।

सम्बन्धित पोस्टहरू