Home » Blog » हैजा संक्रमित बढ्दै, प्रशासन सतर्क

हैजा संक्रमित बढ्दै, प्रशासन सतर्क

Ankushdaily
0 comment 43 views
वीरगञ्ज ।
पर्सा जिल्लामा झाडापखाला र हैजा (कोलेरा) को प्रकोप बढ्दै गएसँगै हालसम्म तराई हस्पिटलमा १४ जना, नारायणी हस्पिटलमा १५ जना, नेशनल हस्पिटलमा ४ जना, भवानी हस्पिटलमा २ जना, अली अर्थो ट्रमा सेन्टरमा २ जना र नारायणी सेन्ट्रल हस्पिटलमा २ जना गरी दर्जनौँ संक्रमित बिरामी उपचाररत रहेका छन्। यसैबीच रोग नियन्त्रणका लागि जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिले शनिबार महत्त्वपूर्ण निर्णयहरू गरेको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, पर्सामा बसेको समितिको बैठकले स्वास्थ्य संकटलाई सम्बोधन गर्न व्यापक र समन्वयात्मक रणनीति तय गरेको हो।
बैठकले सबै सरोकारवालाहरूसँग सहकार्यमा घरदैलो जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, पर्सास्थित सबै अस्पतालहरूलाई प्रभावित बिरामीलाई प्राथमिकतामा राखी समयमै यथोचित तथा प्रभावकारी उपचार उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, सङ्क्रमण बढेमा अस्पतालहरूले Dedicated Bed छुट्याई थप जनशक्ति परिचालन गर्दै पूर्ण तयारी अवस्थामा रहनुपर्ने निर्णय पनि गरिएको छ।
त्यसैगरी, स्वास्थ्य कार्यालय पर्साले उपचारका लागि आवश्यक औषधि र परीक्षण किटको पर्याप्त व्यवस्था गर्ने र वीरगञ्ज महानगरपालिकाले स्वास्थ्यकर्मी तथा स्वयंसेविकाको परिचालनमार्फत सरसफाइ प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने निर्णय बैठकले गरेको छ।
यस्तै, हैजा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकाय, स्थानीय तह, राजनीतिक दल, पेशागत संघ–संस्था, नेपाल रेडक्रस सोसाइटी, गैरसरकारी संस्था, सञ्चारकर्मी तथा दातृ निकायहरूसँग सहकार्य गरी सचेतना अभियान सञ्चालन गर्ने तयारी पनि बैठकले गरेको छ।
जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समितिको अर्को बैठक भोलि (२०८२ भदौ ८ गते) दिउँसो ३ बजे जिल्ला प्रशासन कार्यालय, पर्सामा बस्ने गरी तय गरिएको छ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.