13
वीरगञ्ज ।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि सुरु भएको छ। उद्घाटन सत्रसँगै सुरु भएको प्रतिनिधि दर्ता प्रक्रियामा देशभरबाट आएका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रह्यो।
नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन २०८२को सचिवालयद्धारा जारी विज्ञप्ति अनुसार आइतबार राती ९ बजेसम्म २६ सय ६२ प्रतिनिधिहरुको नामावली दर्ता भएको हो । यो संख्या कुल महाधिवेशन प्रतिनिधिको ५६.१२ प्रतिशत हो, जसले पहिलो दिनमै उत्साहजनक उपस्थितिलाई पुष्टि गरेको छ।
प्रादेशिक विवरण अनुसार सबैभन्दा बढी मधेश प्रदेशबाट ४४६ जना प्रतिनिधि दर्ता भएका छन्। यस्तै बागमती प्रदेशबाट ४३२, कोशीबाट ४२५, लुम्बिनीबाट ३९८ र गण्डकीबाट २९६ जना सहभागी भएका छन्। काठमाडौं उपत्यकाबाट १७८, सुदूरपश्चिमबाट १५८, कर्णालीबाट १३४ तथा भातृ एवं शुभेच्छुक संस्थाहरूबाट १९५ जनाले दर्ता गराएको सचिवालयले जनाएको छ।
सचिवालयकातर्फबाट युवराज पाण्डेले जारी गरेको सो विज्ञप्ति अनुसार सोमबारसमेत प्रतिनिधिहरुको नाम दर्ता हुनेछ। सोमबार विहान ८ बजेबाट नाम दर्ता हुने तथा बनदशत्र विहान १० बजेबाट हुने जनाइएको छ।
