Home » Blog » बिचरा आयाराम–गयारामहरू

बिचरा आयाराम–गयारामहरू

Ankushdaily
0 comment 111 views
(स्तम्भकार कुमार रुपाखेती)
राम्रो होस् अथवा नराम्रो, नाम होस् अथवा बदनाम होस्, पर्सा जिल्लामा अहिले प्रदीप यादवको चर्चा छ । एमालेको वडा तह, नगर तह, जिल्ला तह अथवा केन्द्रीय तह कसैले पनि प्रदीप यादवलाई एमालेमा आउने निम्ता नदिए पनि एमालेले बोलाएको हाउगुजी देखाएर प्रदीप यादवले एकपल्ट फेरि मरेको मुर्दामा ज्यान फुक्ने प्रयास गरेको देखिन्छ । आफैँ बोक्सी आफैँ झाँक्रि बन्दै अहिले
एमालेमा नजाने भन्ने प्रचार गराइरहेको देखिन्छ । एमालेका “बिना बुलावट मेहमान” प्रदीप यादव वास्तवमा छाता छापमै घुस्रिन उपेन्द्र, लालबाबु राउतहरूलाई बन्दरघुर्की देखाइरहेको प्रष्ट बुझिन्छ । आफ्नो प्रधानमन्त्रीको कुर्सी जोगाउन एमालेका ओलीले जसपा नेपाल फोडेर मुतको न्यानो खोज्न गएका प्रदीप यादवलाई शरण दिएर मन्त्री बनाएको सबैलाई थाहै छ । त्यतिखेर पनि प्रदीपलाई ओलीले अवसर होइन, प्रयोग गरेको हो । एमालेले “प्रयोग र फाल” को रणनीतिअन्तर्गत “बाबाजीके बेल हाते–हाते गेल” भन्दै मन्त्री पद दिएको थियो । वर्तमान भागदौडको राजनैतिक माहोलमा व्यर्थमा प्रदीपलाई भित्र्याएर एमालेले पर्सामा किन माथापच्ची गर्थ्यो । पर्सा र मुलुक भरि नै खस्ताहालतमा पुगेको एमालेले प्रदीप यादवलाई ल्याएर अर्को कलंकको टीका किन लगाउँथ्यो । विजय सरावगी अहिले पनि प्रदीप यादव भन्ने बित्तिकै नाक, मुख खुम्च्याउँछन् । प्रचण्ड र ओली मिलेर जसपा नेपाल फोडेको आरोप उपेन्द्र यादव हाकाहाकी लगाउँछन् । ज.स.पा. नेपालले त प्रदीप यादवलाई सुमसुम्याएर, माया गरेरै पालेको थियो । प्रदीप आफै उन्मताई लागेर अशोक राईको घुमुवा बने । आज चारैतिर “इन्ट्री” बन्द भएपछि “इधर जाए कि उधर जाए” भएका छन् । टिकट नपाएपछि विगतमा कांग्रेसका अजय द्विवेदी झै स्वतन्त्र लड्ने आँट पनि हुनुपर्‍यो । यसैलाई नेपालीमा “माछा–माछा भ्यागुतो” भनिन्छ । बिचरा झर्ला र खाउला भनेर बस्नु सिवाय विकल्प नै छैन । आफ्नो कर्मले मान्छे ख्याति वा कुख्याति हुन्छ । सपना भुलाई सारा आसु पिएर जाउ … । यता जसपा नेपालले पर्सा क्षेत्र नं. १ बाट जिल्ला अध्यक्ष रामनरेश यादवलाई टिकट दिने पक्कापक्की छ ।
मधेसका प्रथम मुख्यमन्त्री लालबाबु राउतको पहिलो रोजाइ समेत रामनरेश यादव नै भन्ने हल्ला छ । जसपा नेपालबाट प्रदीप यादव पलायन भएपछि पर्सा जसपा नेपाललाई जोगाउने श्रेय लालबाबु राउत र रामनरेशलाई जान्छ । जसपा नेपालको वर्चस्व जोगाउन लालबाबु र रामनरेशले ठूलो त्याग र मेहनत गरेको देखिन्छ । पर्सामा जसपा नेपाल कमजोर भएको भए पुनः प्रवेश गर्न प्रदीप यादवले किन मरिहत्ते गर्थे ? पर्सा जसपा नेपाल छाताछाप बलियो भएकाले नै पुराना भगौडाहरू फेरि फर्किएर प्रवेश गर्न खोजेको सत्य तथ्य हो । तर जसपा नेपाल प्रवेश गर्न अब त्यति सजिलो छैन । अब उ जवाना नईखे हो भइया ।
रामनरेश यादव पर्साका संघर्षशील, मेहनती, इमानदार नेता हुन् । विगतमा शिक्षण पेशामा समेत उनले राम्रो नाम कमाएका छन् । जसपा नेपालको नीति र पर्साको नियम, नियम र मार्गदर्शनमा हिँड्ने रामनरेश मृदुभाषी नेता हुन् । जसपा र पर्साको माटोसित उनलाई अपार माया छ । उपेन्द्र र लालबाबुको सहयोगमा रामनरेशले पर्सा क्षेत्र नं. १ मा थुप्रै विकास–निर्माणका काम गराएका छन् । लालबाबु मुख्यमन्त्री रहँदा रामनरेशले थुप्रै स्मरणयोग्य काम गराएका छन् ।पर्सा क्षेत्र नं. १ को राजनैतिक, आर्थिक र सांस्कृतिक समस्याबारे रामनरेश भलिभाति परिचित छन्। ज.स.पा. नेपाल छाताछापबाट पर्सा क्षेत्र नं. १ बाट उनी सांसदको उम्मेदवार हुने चर्चाले यस क्षेत्रका कार्यकर्ता उत्साहित छन् भने विपक्षी दलका उम्मेदवारहरूको कान ठाडो भएको छ । जसपा नेपालका रामनरेश बाहेक अन्य राजनीतिक दलहरूले आधिकारिक उम्मेदवार घोषणा गर्न टालमटौल गरिरहेको देखिन्छ । एउटा मित्रको नाताले तथा यसै क्षेत्रको सक्रिय मतदाता भएकाले रामनरेशलाई मेरो अग्रिम बधाई तथा शुभकामना छ । विगतका निर्वाचनमा हाम्रो क्षेत्र पर्सा १ बाट छाताछापले निरन्तर विजय पताका फहराउँदै आएको सर्वविदितै छ । त्यसैले को कस्को टाँङमुनि छिर्दैछ भन्दा पनि पर्सा संसदीय क्षेत्र नं. १ ले योग्य उम्मेदवार पाएको भन्दै सबै क्षेत्र र तप्कामा जागरुकता देखिएको छ । विगतको विरासत जोगाउन सिङ्गो जसपा नेपाल एकढिक्का देखिन्छ ।
आयाराम–गयारामहरूको विजोग छ। धन्यवाद ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.