Home » Blog » भीषण गर्मीले प्याक-प्याक

भीषण गर्मीले प्याक-प्याक

Ankushdaily
0 comment 100 views

(स्तम्भकार कुमार रुपाखेती)

नेपालको तराई क्षेत्रमा डरलाग्दो गर्मी बढेको छ । ‘लु’ चलेको छ । पर्सा जिल्लाको सदरमुकाम वीरगञ्जमा बिहानैदेखि विभिन्न जिल्लाबाट मान्छेहरूको आगमन सुरु हुन्छ । किनमेल गर्नेहरू ग्रामीण क्षेत्रबाट वीरगञ्ज आउन थाल्छन् ।
तर कंक्रिटको सहर वीरगञ्जमा प्रवेश गर्नेबित्तिकै दिउँसोको टन्टलापुर घामले आकुल-व्याकुल बनाउँछ । तर यो महानगरमा आगन्तुकहरूलाई नि:शुल्क चिसो पानीको कतै व्यवस्था छैन । सबैले बोतलको पानी किनेर खान सक्दैनन् । पैसा नहुने ग्रामीणहरू काकाकुल भएर चिसो नि:शुल्क पानी खोज्दै भौतारिरहन्छन् । तर यो महानगरमा नि:शुल्क चिसो पानी पाउनु र मरुभूमिमा पानी खोज्नु उस्तै-उस्तै कुरा हो । त्यसो त यो महानगरमा पानीको जोहो गर्न थुप्रै डिप बोरिङ जडान गरे पनि घण्टाघरको बजार क्षेत्र, बीर्ता हाटबजार क्षेत्र, नगवा हाटबजारमा नि:शुल्क चिसो पानीको व्यवस्था नभएकाले हुनेखानेले पसलबाट बोतलको पानी किनेर खाने र प्रयोगपछि जथाभाबी बोतल फाल्ने गर्दा महानगरमा फोहर, प्रदूषण र नाला जामको समस्या बढ्दा समेत महानगरपालिकाले यात्रुहरूलाई चिसो र शुद्ध पानीको व्यवस्था गर्न सकेको छैन ।
त्यस्तै, बसपार्क, भानुचोक र आदर्शनगरजस्ता मुख्य-चल्तीका क्षेत्रमा समेत आगन्तुकहरू बोतलको बन्द पानी किनेर खान विवश छन् । पैसा नहुने गरिबहरूका लागि वीरगञ्जमा पानी “आकाशको फल,आँखा तरी मर” जस्तै भएको छ । “बाहर बडका-बडका धोती- घरमे मसुरीके रोटी” भनेकै यहि हो ।
खानेपानी मन्त्री प्रदीप यादवले वीरगञ्जमा खानेपानी समस्या समाधान गर्न मेयर राजेशमान सिंहसँग जोडी बनाएको कुरा सबैलाई थाहै छ। तर पर्सा जिल्लाकै मुटु प्रवेशद्वार वीरगञ्जमा आम जनताले शुद्ध पेयजल निःशुल्क चिसो पानी खान नपाएर प्याक-प्याक भएका छन्।
यहाँ सार्वजनिक रूपमा शीतल पेयजल नपाइने भएकोले गर्मीमा वीरगञ्ज बजार गर्न, किनमेल गर्न मान्छे चाहँदैनन्, जसले गर्दा यहाँको व्यापार घाटा भइरहेको छ। भारतको बिहारका बस स्ट्यान्ड, रेल्वे स्टेसनहरूमा आम गरिबलाई गर्मीमा राहत पाउन, प्यास बुझाउन चिसो पानीसहितको प्याउ जडान गरिएको पाइन्छ। यस्ता प्याउहरूमा निःशुल्क चिसो, शुद्ध, पेयजल पाइनाले यात्रुहरूले राहत महसुस गर्छन् अनि स्थानीय सरकारलाई धन्यवाद दिन्छन्। हाम्रामा त शुद्ध पेयजलबारे ठूला-ठूला कुरा गरिन्छ, मोटो बजेट रकम निकासा हुन्छ। तर यो गर्मीमा वीरगञ्ज आउनेले कहीँ कतै निःशुल्क शुद्ध जल पिउन पाउँदैनन्।
प्रदेश र स्थानीय सरकार तथा अन्य केहीले भोटर/मतदाता रिझाउन झाडातिरुवा किसिमले डिप बोरिङको नाममा पानीको दुरुपयोग गर्दै वाहवाही कमाएको भ्रममा छन्। तर वीरगञ्जका मीना बजार, मेन रोड घण्टाघर बजार जस्ता स्थानमा गरिब क्षेत्रका गरिब जनता आवतजावत गरिरहने भीडभाडवाला क्षेत्रमा न कतै प्याउ जडान छ न कतै निःशुल्क शुद्ध खानेपानीको व्यवस्था नै छ। पानीको मुहान संरक्षण गर्न नसक्नेले कसरी शुद्ध पानी देला? पानीका लागि होटल, चिया पसल, सतु पसलमा शरण पर्न हामी विवश भएका छौँ।
यहाँ जनताको समस्या सुनाउनु भनेको भालुलाई पुराण सुनाएजस्तै हो। पानीको स्रोत पोखरा नदीको हविगत वीरगञ्जमा सबैलाई थाहै छ। ए महाराज, पानी त कट्टर दुश्मनलाई पनि दिइन्छ। यो उखरमाउलो गर्मीमा महानगरका बटुवाहरूलाई चिसो, निशुल्क, शुद्ध पानी उपलब्ध गराउन महानगरपालिकाले किन कन्जुस्याइँ गरेको हो, बुझिनसक्नु पहेली बनेको छ। सरकारहरूले किन नबुझेको? पसलहरूबाट चिसो पेय पदार्थ पानी, कोक, फेन्टा खरिद गरेर खाने हामी अधिकांशको बुता बाहिरको कुरा हो।
वीरशमशेरको वीरगञ्ज नाकै काटे बा। वीरगञ्जमा गर्मी छल्न बटुवाहरूका लागि ओत लाग्न, सुस्ताउन न कुनै ठूलो अजङ्गको रुख नै छ, न निशुल्क पानी। तैपनि शहरलाई हराभरा बनाउने नाममा रूख, बिरुवा खरिदमा विगतमा लाखौँ खर्च भएको तथा शुद्ध पानीका लागि बेतहासा खर्च गरिएको रेकर्ड महानगरमा पाइन्छ। घरमा पाहुना आउँदा केही नभए पनि एक गिलास चिसो पानी दिइन्छ। तर धनकुबेर भनिने वीरगञ्ज महानगरपालिकाले वीरगञ्ज आउने आगन्तुकहरूलाई भोकै/प्यासे बिदा गर्न थालेको देख्दा आश्चर्य लागेको छ। आखिर यसो किन?

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.