Home » Blog » दशैं २०८२

दशैं २०८२

Ankushdaily
0 comment 11 views

(स्तम्भकार कुमार रुपाखेती)

दशैं २०८२ धेरैका लागि रोचक र घोचक रह्यो। जेनजी आन्दोलनले कुना पस्न विवश ओली, प्रचण्ड, देउवाको दशैं प्रवासकाल झै उदासिन रह्यो।
यिन्कोमा न कोही टिका थाप्न गयो, न यिनिहरु नै मान्यजनकोमा टिका थाप्न गए। रहलपहल मिठो मसिनो चाहिँ खाए। यता जेनजी आन्दोलनको बलमा सत्तामा पुगेकाहरूले समेत जेनजीको बलिदानलाई सम्मान गर्दै सामान्य दशैं मनाए। पूर्वराजा समेतले दशैंमा भीडभाडलाई परहेज गरे। बाढीपहिरोले यस पटक धेरै ज्यान गयो ।
महँगाईको असर समेत यसपटकको दशैंमा देखियो। मलिन अनुहारका साथ यसपटक अधिकांश नेपालीले वडा दशैं मनाए। बाटो घाटो वर्षाले बन्द भएकाले आफन्तजनकोमा टाढाटाढा टिका थाप्न जाने रहर यसपालि अधुरै रह्यो। जो जहाँ जुन अवस्थामा थिए, त्यही गच्छे अनुसार दशैं मनाए। यसपालि माँ दुर्गाको शक्तिपीठमा खसी, बोका, परेवा चढाउनेहरू समेत न्यून देखिए। बजारमा समेत चहलपहल थिएन। लुगा फाटोको व्यापार समेत राम्रो भएन। तर मिलावट, महँगाई र कालोबजारी खुबै चम्केको देखियो।
हाम्रो वीरगंजमा समेत यस पटक दशैंको रौनक न्यून देखियो। अष्टमी मेलाका दिन परेको पानीले मेला खल्लो भयो। फूलपाती भित्र्याउँदा समेत उत्साह थिएन। मालबाट सेना, प्रहरी सहित गाजाबाजाका साथ फूलपाती गहवा माईमा भित्र्याइयो। तर पुनः मालमा फिर्ता हुदाँ  परम्परागत झै डोलिका साथ सेना प्रहरी थिएन। लुरुलुरु माल (मालपोत)मा डोलि फर्काइयो।
यसबारे बिर्ता–४ निवासी पुराना पोपुलर फुटबलर लक्ष्मण श्रेष्ठ (लक्षु दाइ) का अनुसार विगतमा मालबाट सेना, प्रहरी सहितको लावालस्कर सहित फूलपाती लिएर गहवामाई पुग्ने र फिर्तिमा समेत सेना, प्रहरीको डफ्फा पुर्‍याउन आउने चलन थियो। तर यस पटक यो परम्परा टोडिएकोमा लक्षु दाइ दुखित थिए। लक्षु दाइका अनुसार उनले होस सम्हालेदेखि नै फूलपाती ल्याउने, लैजाने क्रममा सेना र प्रहरी तैनाथ, शोभायमान रहन्थे तर यस पटक नजाने किन हो त्यो परम्परा निर्वाह भएन। स्मरणीय छ लक्षु दाइ धार्मिक कार्यक्रम, वडा दशैं र फुटबल भनेपछि अझै हुरुक्क हुन्छन्। जेनजी आन्दोलनको नाममा लुटपाट र आगजनीले पीडित अधिकांश बिरगंजे, पर्सेली नेताहरूको दशैंमा समेत यस पटक तामझाम थिएन। यिन्को घरमा विगतमा झै कार्यकर्ताहरूको आतेजाते पनि थिएन।
बिरगंजे नेताहरूले शंसयमा दशैं बिताए। वडा दशैंको भोलिपल्ट देखिएको अविरल वर्षाले वीरगंजका अधिकांश वडाहरू डुबानमा परे। जाम नालाको पानी घरघरमा छिर्‍यो। हाम्रो महानगर वास्तवमा गाउँपालिकामा परिणत भयो। “आफैं त महादेव उत्तानो टाँङ” भनेझैँ कार्यालय र घर जलाइएका, लुटिएका मेयर साहेबले गर्नै नै के सक्थे र ?
वीरगंजमा दशैं, होली र निर्वाचनका बेला निकै मासु खपत हुन्छ। तर यस पटकको दशैंमा मासु, मिठो मसिनोको खपत भएन। पूर्वमुख्यमन्त्री लालबाबु राउत, पूर्वमन्त्री अजयकुमार चौरसिया, प्रदीप यादव, मेयर राजेशमान र अनिल रुँगटा आदि जेनजी आन्दोलनको नाममा उपद्रवको शिकार भएको सत्य तथ्य हो। वीरगंजमा यी विभिन्न दलका नेताहरूको थोर बहुत रुतवा छ। तर यिनिहरू स्वयं पीडित, उद्वेलित भएकाले यिन्का अगुवा पछुवाको दशैं समेत खल्लो रह्यो। बड़ा दशैंमा यस पटक जुवा खेल्ने तासको बिक्री पनि घट्यो रे। नेपाल राष्ट्र बैंकले नयाँ नोट दिन आनाकानी गर्नाले बजारमा नयाँ नोट समेत देखिएन। लत्ता कपडा, जुवा तास, माछा, मासु, तडकभडक नभएको यो दशैं २०८२ लाई कमजोर दशैं भन्न सकिन्छ।
माँ दुर्गाले सबैको कल्याण गरुन्।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.