Home » Blog » फुर्सदमा सोचौँ

फुर्सदमा सोचौँ

Ankushdaily
0 comments 14 views

(स्तम्भकार कुमार रुपाखेती)

जेनजी आन्दोलनले “नौ दो ग्यारह” भएको कांग्रेस–एमालेको मिलिजुली सरकारको अब कुनै अस्तित्व छैन। सरकार र पार्टीमा कब्जा जमाएपछि जे पनि मनलाग्दी गर्न पाइन्छ भन्ने ओली र देउवालाई “जोडका झडका धिरेसे” लागेको हो।
२७ घण्टाको आन्दोलनले फुटपाथमा पुर्‍याउँछ भन्ने कल्पना समेत यिन्ले गरेका थिएनन्। पार्लियामेन्ट हठाट भंग होला भन्ने यिनले सपनामा पनि चिताएका थिएनन्। तर यिनलाई जेनजी आन्दोलनले “दिउँसै सपना” देखाइदियो। सरकारबाट “नौ दो ग्यारह” भए पनि पार्टीबाट बाहिरिन नपरोस् भन्दै यिनिहरू “हात–पाउँ मार्दै” डुबतेको तिनका सहारा झैँ आफ्ना आसेपासेलाई सक्रिय बनाउन थालेका देखिन्छ। “हिजो मास्टर्स भ्वाइस” लिएर यिन्का अरैटे–भरौटेहरू लुकिछिपी कानेफुसी गर्न सक्रिय छन्।
आन्दोलनकारीहरूले हत्या अभियुक्त भन्दै ओली र लेखकको यथाशीघ्र गिरफ्तारी आन्दोलन चलाएपछि खासगरी ओली ईन्तु नचिन्तु भयभीत देखिन्छन्। ओलीको बालहाठले सम्पूर्ण एमालेलाई भड्खालोमा पारेको सत्य कसैसित छिपेको छैन। एमालेलाई “बलिको बकरा” बनाएर,गणतन्त्रको खुल्लमखुल्ला उपहास गरेर पदलोलुप ओली पटक–पटक प्रधानमन्त्री बने र लुटलाई छुट दिए। अहिले बिजोगलाग्दो राजनीतिक माहोलमा समेत ओली एमालेको खोल ओढी केस रफादफा गर्ने–गराउने चक्करमा छन्। यी सबै कुरा चाल पाएका एमालेका युवा केन्द्रीय सदस्यहरूले एकै स्वरमा ओलीमुक्त एमालेको चाहना देखाएका छन्। तर “चमडी जाय, दमदी न जाय” प्रवृत्तिका ओली अझै पार्टी अध्यक्ष बन्ने रहर प्रदर्शन गर्दैछन। बाइज्जत पार्टी अध्यक्षबाट राजीनामा दिनुको सट्टा बेइज्जत भएर पाखा लाग्ने सनक ओलीमा देखिनु दुर्भाग्यपूर्ण छ। “नङगा क्या नहाएगा क्या निचोड़ेगाको हविगत छ, ओलीको।”
उता कुनै चमत्कारले पार्टी सभापति पद आफ्नै पोल्टामा पर्छ कि भन्दै “पटके प्रधानमन्त्री देउवा” रुन्चे अनुहार लिएर यताउता चहारिरहेको देखिन्छ। आफत–बिपतको यो अकल्पनीय घडीमा “बेचारा” भन्दै देउवाका चाकडिबाजहरू पनि सल्बलाएको देखिन्छ। उता बिचरी भाउजुलाई छोरा जयवीरको हरिबिजोगको चिन्ता छ। यता मुलुकको धमाचौकडी र अन्यौलको फाइदा उठाउँदै जेनजीहरू समेत “सुपरम्यान” झैँ यो गर, यसो गर भन्दै सरकारलाई आफ्नो फरमाइश र उर्दी लाद्न खोज्नाले सरकार “कुहिरोको काग” झैँ टुक्रुक्क, शिथिल बसेको देखिन्छ। जेनजीमा एउटा होइन, थुप्रै मास्टरहरू देखिएका छन्।
“ज्यादा जोगी, मठ उजाडको” अवस्था छ। भ्रष्टाचार यिनको प्रमुख मुद्दा भए पनि अचेल माथि उठेर, कानुन विपरीत “यसलाई निलम्बन गर, उसलाई बरखास्त गर, पक्राउ गर” धोक्रे ठ्याक लगाउ भन्दै थरिथरिका बेमौसमी बाजा बजाएर हलुका हुन थालेका छन्।
बहुदल आउँदा कांग्रेस–एमालेका कार्यकर्ता नाङगो बिजुलीका तार झै, छोए कि झट्का लाग्ने । छुन र  बोल्नै नहुने । यिनलाई कस्ले छुने? अहिले जेनजीलाई समेत त्यही बहुदले कार्यकर्ताको रोग लागेको छ — रामबाण छोडी हाल्छन्।
सबैलाई थाहै छ, जेनजीको गत भदौ २३ र २४ को आन्दोलनमा सरकार पक्षबाट ज्यादति, घोर थिचोमिचो र हत्या समेत भएको छ। कानुनसम्मत कारवाही हुनै पर्छ। आन्दोलनको नाममा आगजनी, लुटपाट पनि भएको छ। आन्दोलनको आडमा जथाभावी गर्नेहरूलाई समेत कारवाही हुनुपर्छ भन्ने माग छ। त्यसैले सबैले संयम देखाएर सरकारलाई काम गर्न माहोल र आम निर्वाचन सफल गर्ने वातावरण बनाउनुपर्छ र शुसिला कार्किले समेत यो ओली,त्यो लेखक भन्ने परिचयका साथ होइन, आन्दोलन दबाउने अत्याचारीको रूपमा कठघरामा प्रमाणसहित खडा गर्नुपर्छ। यस्तो नभए “अजब नेपाल गजब” कामयाब हुनेछ।
फुर्सदमा सोचौँ । “नौ दो ग्यारह” भएकाहरू पुनः उदाउन सक्छन्। सबैमा हेक्का रहोस्।

सम्बन्धित पोस्टहरू