Home » Blog » जाए तो जाए कहाँ।

जाए तो जाए कहाँ।

Ankushdaily
0 comment 32 views

(स्तम्भकार कुमार रुपाखेती)

ओलि अहिले सबैको आँखाको कसिङ्गर बनेका छन्। उनी जेनजीको मुख्य निशानामा छन्। सुसिला कार्कीको सरकारले ओलिलाई काठमाडौं छाड्न र मुलुक बाहिर जान बन्देज लगाएको छ। नवगठित नेपाली कम्युनिष्ट पार्टिका प्रचण्ड, माधव नेपालहरू सदाबहार रूपमा ओलिलाई गरियाई रहन्छन्। सरोज यादवलाई बलजफ्ती मुख्यमन्त्री बनाएपछि मधेसमा समेत ओलिको विरोधमा आवाज चर्को भएको छ। मंसिरमा हुने एमालेको विशेष महाधिवेशनमा ओलिलाई हराउन एमाले भित्रै दाउपेच चलिरहेको छ। नेपाली कांग्रेसमा पनि ओलिको खलनायकी विरुद्ध आवाज बुलन्द भएको छ।
जेनजीको एउटा उग्र समूहले ओलिलाई तत्काल गिरफ्तार गर्ने पक्षमा छ। गल्ली नुक्कडका चिया पसलमा समेत ओलिका कर्तुतहरू वर्णन गर्ने थुप्रै छन्। जेनजीको २३ गते भदौको घटनामा ओलि नै दोषी र हत्यारा भन्ने जमात पनि छ। अनि एमाले भित्रै ओलि विहिन एमालेको सपना देखिने पनि थुप्रै छन्। कर्मचारीतन्त्र र कतिपय प्रशासकहरू समेत ओलिलाई आधुनिक समाजको तानाशाह भन्दछन्। अरु त अरु वर्तमान प्रधानमन्त्री सुसिला कार्की पनि ओलिको नाम सुन्‍न र ओलिसित कुरा गर्न आनाकानी गरिन्।
तर यस्ता कुराहरूले अनभिज्ञ ओलि अझै आफ्नै रफ्तारमा बरबराइ रहन्छन्। उनले आफ्नो आचरण र बडबोलापनमा अंकुश लगाएका छैनन्। सम्पूर्ण मुलुक निर्वाचन तर्फ लम्के पनि ओलि घिसापिटा संसद स्थापना भन्दै हिँडेका छन्। निर्वाचन भाँड्न सक्रिय छन्। जतिसुकै ताते पनि एउटा चनाले भाँडाफोडन सक्दैन भन्ने हेक्का ओलिलाई छैन।
“एक्लो बृहस्पति झुठा” भन्ने त चलन नै छ। विपक्षमा बस्न नसक्नु ओलिको कमजोरी हो। भगवानको शासनमा पो इन्द्रदेव सधैँ महाराज, राजा हुन्छन्। ओलिको चाहना देवो के देव महादेव जस्तै छ। दोस्रो दल भए पनि देउवाको कृपाले प्रधानमन्त्री बने। भस्मासुर झै आफैले आफैँलाई खरानी बनाएपछि कस्को बाउको के लाग्छ। जेनजी नामक अरिङ्गालको गोला बिच्कियो, ओलिको शासन खरानीमा परिणत भयो। एमाले भित्रको घरझगडा मिलाउन नसक्ने ओलिले मुलुक र अन्य शक्तिलाई रिझाउन सक्ने कुरै भएन। “भाइ फुटे गँवार लुटे” भन्ने हेक्का पनि ओलिलाई छैन। अनि त “ओरालो लागेको मृग(हरिण) लाई बाच्छाले पनि खेद्छ” भनेझैँ सबै ओलिकै पीछा परेका छन्। हिजो चमचा, बेल्चाले घेरिएका ओलि अहिले विरोधीको घेराबन्दीमा छन्। ओलिको अवस्था अहिले चक्रव्यूहमा फसेको अभिमन्युभन्दा गईलगुजरल छ। जुम्राले समेत मरेको शरीर त्यागे झै ओलिका आसेपासे समेत विपक्षीको खेमा गुलजार गर्न थालेका छन्। सेना विना सेनापति‌मा परिणत हुँदा समेत ओलिको जुवान बेलगाम छ। अस्ती उपचार गरेर देउवा नेपाल फर्क, तर उनले पनि ओलिलाई ठेंगा देखाइदिए। भनिन्छ उनको रक्षादलका प्रमुख महेश बस्नेत समेत ओलिसित आजित छन्। उखानै छ “एकदिनको पाहुना, मिठो मिठो खा…  धेरै दिनको पाहुना जतासुकै जा।” तर बिचरा ओलिको अवस्था “जाए तो जाए कहाँ” जस्तै छ। भनिन्छ सुधारका लागि मान्छेले पहिला आफैँमा सुधार गर्नु पर्छ रे। तर “बाँदरले आफ्नो घर पनि बनाउँदैन, अर्काको घर पनि बिगार्छ” नीतिका ओलि फोस्रो ध्वाँस दिन्छन् “ओलि टूटेगा, नहि झुकेगा रे।” ओलि झै मधेसका भोले मुख्यमन्त्री सरोज यादवले ओलि स्तरमा भारतलाई बिचकाउन थालेकाले सतर्क हुनुपर्छ, सावधान।
नानीदेखि लागेका अल्लारे प्रवृत्तिका ओलिमा सुधारको कुनै लक्षण देखिँदैन। अहिले ओलिको एक शुत्रिय अभियान नै “आफैँ राँड, देशै भाँड” स्तरको छ। मेरो सल्लाह छ— ओलिजी, जुन गोरुको सिँग छैन, उसको नाम तिखे नगर्नुस्। तपाईंको सिँग त जेनजीले उखेलिदिए। अब मर्खाहा बेल नबन्नुस्।
वीरगंजका मेयर राजेशमान तकले मधेस प्रदेशको हर्कत अब देखेर “थुईक्क नेताज्यू” भने। ओलिजी सँग टिका थापेर कुनै बेला शिशु कामरेड बनेका राजेशमानलाई फेरि एमाले इन्ट्री बन्द र प्रवेश निषेध गर्नुभो कि कसो। कि उपेन्द्र यादव झै तपाईं पनि राजेशमानको नाम सुनेर नाक–मुख खुम्च्याउने, कान थुन्न थाल्नु भयो ? त्यसैले हाम्रो मेयरको हकिकत पनि “जाए तो जाए कहाँ” उस्तै छ। मेरो आग्रह छ— प्लीज, हाम्रो साहेव (राजेशमान) लाई शिशु कामरेडको बिल्ला भिराइदिनुस्। कसैले पनि कसैलाई पनि… “घरके न घाटके” बनाउनु हुँदैन। बेचारा शिशु कामरेड।
ओलिले जे निर्णय गरे पनि हाम्रा मेयर मेरा भाइ राजेशमानलाई मैले “शिशु कामरेड, शिशु मेयर” भनी सम्बोधन गर्न थालिसकेको छु। शिशु मतलब अबोध बालक। अबोध शिशु, बालकहरू यताउता उछलकुद गरिरहन्छन् नि, ओलिजी। यो उनको बाल सुलभ अधिकारमा अंकुश लगाउनु हुँदैन। “सूर्य छेक्न छाता अनि छाता छेक्न सूर्य” ।
वाह शिशु कामरेड, शिशु मेयर।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.