Home » Blog » प्रतिशोध

प्रतिशोध

Ankushdaily
0 comment 98 views
( स्तम्भकार कुमार रुपाखेती )
जेनजी युवाहरूको आन्दोलनले प्रधानमन्त्रीको पद गुमेको र एमालेका युवा नेताहरू एकजुट भएर पार्टी अध्यक्ष पदमा हराईदिने पक्कापक्की भएपछि ओलीको दिनको चैन र रातको निन्द्रा हराम भएको छ।
त्यसैले ओलीले अचेल युवाहरूलाई जानीदुश्मन ठान्न थालेका छन्। पार्टी भित्रका विरोधी युवाहरूलाई तर्साउन र जेनजी युवासँग बदला लिने मौका सिमरा बारामा जुर्‍यो। काठमाडौँबाट सिमरा आउने एमाले नेताहरूको स्वागत गर्न बहाना बनाएर ओलीले झोलेहरूको ठूलो जत्था सिमरा पठाएर निहत्था जेनजीहरू माथि मुक्कालात वर्षाउन लगाए।
स्मरणीय छ, जहाजबाट कुनै पनि एमाले नेता सिमरा आएनन्। यो हल्ला र हौवा त जेनजीलाई कुटपिट गर्न फैलाइएको रहेछ। सिमरा काण्डले मुलुक भरी र खासगरी मधेशमा ओली प्रति “थु थु” को अवस्था छ।
प्रधानमन्त्रीको कुर्सी चट भएको, पार्टी अध्यक्ष कुर्सी समेत असुरक्षित भएको, मधेश सभाबाट प्रदेश सरकार प्रमुख भण्डारी पदच्युत भएको, सभामुख मण्डललाई गलहत्याई निकालिएको र सडकबाट बनाइएका ओलीका झोले मुख्यमन्त्री सरोज यादव पुनः सडकमै पुर्‍याइने निश्चित भएपछि ओली एण्ड कम्पनी मधेश प्रदेशको सिमरा बारामा ताण्डव देखाउँदै जेनजीमाथि जाइलागे। यस्ता कुकृत्यले गर्दा मधेशमा एक्लो परेको एमाले झनै भित्तामा पुगेको छ।
एमालेका इमान्दार कार्यकर्ताहरू समेत छि छि दुर दुरको सिकार बनेका छन्। सिमरा काण्डले, जेनजी माथि अनाहकमा गरिएको आक्रमणले भदौ २३ गतेको जेनजी आन्दोलनमा बर्बर दमन गर्ने–गराउने ओली नै रहेछन् भन्ने पुष्टि भएको देखिन्छ।
अर्को कुरा, आगामी निर्वाचन भाँड्न समेत ओलीले सिमरा काण्ड गरेको प्रष्ट
देखिन्छ। ओलीलाई निर्वाचन अपाच्य र अपच भए पनि “हजमोलाको घूँट” पिलाएर भए पनि सरकारले चुनाव गराउने निश्चित छ। चिकित्सकहरूका अनुसार दुवै किड्नी विग्रिएकाहकले बेला कुबेला यस्ता अकल्पनीय हर्कत मच्चाइरहन्छन्। नियमित किड्नी परीक्षण र दवाईले मात्र यस्तालाई नियन्त्रण गर्न सक्छ रे। अरूको अर्ति उपदेश त ओली जस्ता बिरामीलाई ,”भालू लुलाई पुराण सुनाए सरह” हो।
“के गर्छस मंगले आफ्नै ढंगले” स्तरमा ओली एक एक गर्दै कुर्सी, शक्ति, आफन्त, हितैषी गुमाउँदै गए पनि उनको गुमान घटेको छैन, बरु एमालेको घमण्ड घटेको छ। अभिभावकको भूमिका निर्वाह गर्न नसक्दा रावणलाई राक्षसको श्रेणीमा राखियो अब पालो ओलीको छ।
गणतन्त्रका पूर्व प्रधानमन्त्री उनलाई जेनजी हत्याको जघन्य अपराधको आरोप छ। सुसीला कार्कीको नरमिलाई ओलीले कमजोरी ठानेका छन्। देर सबेर अपराधी सरह कठघरामा उभिएर बयान दिनु पर्ने थाहा पाएका ओली “जो चोर उसकै ठूलो स्वर”, गर्दै “चोर मचाए शोर” शोर अर्थात चोर झै खुट्टा लुकाएर आफु दोषी भएको छनक दिएका छन्।
नेपालमा दर्जनौँ प्रधानमन्त्रीहरू अझै जीवितै छन् तर ओली जस्तो कानै थुन्नु पर्ने चिरबिर–चिरबिर कसैले गरेको छैन। अरूको त कुरै छाडौँ, ओलीलाई त आजकाल एमालेले नै पत्याउन छाडेको र कर्के नजरले हेर्न थालेका छन्। आर्यघाट कुर्नुपर्ने ओलीले झर्ला र खाउला झैँ अझै पार्टी अध्यक्ष र प्रधानमन्त्री पद ताकेको देख्दा दुनियाँ तिनछक्क छ। ओलीको हर्कतले “हग्ने लाई भन्दा देखिने लाई लाज” भइसकेको छ।
सिमरा काण्ड अर्थात जेनजी माथि गरिएको बर्बर आक्रमणको सजायको भागी झोलेहरूलाई बनाउनै पर्छ। अन्यथा ओली र झोलेहरूले षड्यन्त्रको तानाबाना बुनिरहने, प्रदेश र मुलुकलाई अस्थिर बनाइरहने र निर्वाचनमा ठूला फसाद गराउने, अन्यत्र सिमरा काण्ड दोहर्‍याउने र जेनजीलाई निशानामा पार्ने सम्भावना देखिन्छ।
वृद्धाश्रममा शरण लिनुपर्ने उमेरका ओलीलाई आगामी महाधिवेशनबाट एमालेबाट वृद्धाश्रम सार्नु पर्ने हुन्छ। ओलीको शासनमा रोजगारी नभएर नेपाली युवाहरू विदेशिन विवश बनाईए। युवाहरू, युवा विद्यार्थीहरू देशका मेरुदण्ड हुन भन्ने कुरा ओलीले चटक्कै बिर्सिए। ओलीको यस्तै तानाशाही रवैयाले भविष्यमा एमाले युवाविहिन पार्टीमा परिणत हुनेछ। महेश बस्नेत युवाको नाममा कलंक हो।
मुलुकमा युवाहरू र एमालेबीच सम्बन्ध बिगार्ने, दुश्मन झै आमने सामने खडा गर्ने श्रेय ओली र बस्नेतलाई दिनुपर्छ। क्याबात ।
के एमालेलाई युवा विरोधी मोर्चा बनाएर विदेशीको पाउ मल्न खोजेको हो ओलीजी?
विदेशीको चाकडी धेरै भयो ओली जी कम से कम अब नेपाली युवाहरूको दर्दमा मलम लगाउँदै हमदर्द बन्नुस्। तर “हम नहि सुध्रेंगे” भन्ने ओली प्रवृत्तिसित म वाकिफ छु।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.