Home » Blog » एउटा पत्र मेयरलाई ।

एउटा पत्र मेयरलाई ।

Ankushdaily
0 comment 61 views
(स्तम्भकार : कुमार रुपाखेती)
दुवा, सलाम ।
मेयर साहेब।
तपाईंको खलिफा स्टाइलको जिउडाल देख्दा कुशल–मंगल नै हुनुहोला भन्ने लागेको छ । तपाईंको बहुप्रचारित रात्रि बजार, गीतामन्दिर अगाडिको तरकारी बजार असफल भएझैँ छपकैया बजार नीति पनि असफलताकै बाटोमा देखिन्छ। वि.पी. उद्यानका व्यापारीहरू, छपकैया होइन, पावरहाउसतर्फ मार्चपास गर्दैछन् । तपाईंका कतिपय बालहठले महानगरमा सधैं कोलाहल र हल्ली–खल्ली मच्चिइरहन्छ । तपाईंको अदुरदर्शी कामको रिजल्ट नै “मच्चियो मच्चियो, थच्चियो” हुन्छ ।
विगतमा अटेर गरेको भन्दै तपाईंले नगदी दण्ड जरिवाना तिराएका बैंकहरूले मायालु पारामा नौ थान कम्प्युटर दान दिएर गुन लगाए छन् कि । वि.पी. उद्यानको बजारबाट बिचरा तपाईंका केही आसपासेहरूले गोजी गरम गर्थे । मेयर साहेब, “आप भला तो जग भला” को नीति अवलम्बन गर्नुस् । तपाईंको व्यवहार नै “आ बैल मुझे मार” स्तरको छ।
तपाईं पालिकाको शक्तिशाली मेयर भए पनि इमानदार वडाध्यक्षहरू तपाईंसंग बिच्किएका छन् रे । दुधारु गाईको लात सहने खालका अध्यक्षहरू नाटकीय रूपमा “जहाँ गुलियो उहीँ रामे भुलियो” स्तरमा तपाईंको वरिपरि छन् रे । यो सत्य नै जस्तो लाग्छ दृश्यमा देखिन्छ । महानगरपालिकाको भुक्तानी प्रणाली किन कमजोर भयो ? कर्मचारीहरूले किन समयमा तलब पाउँदैनन् ? थुप्रै यस्ता कुराहरू छन्, जसको उत्तर शायद तपाईंसित छैन ।
जाबो तरकारीवालाहरुलाई तपाईंले कन्भिनस गर्न र विश्वासमा लिन नसक्दा “राजेशमान मुर्दाबाद” भन्दै दिनदहाडै वीरगञ्ज परिक्रमा गरे । गहवामाई वरपर फलामे खम्बा र तारबार पुनः गर्नुपर्छ भन्ने मलाई तपाईंकै बाङगे भन्ने वडाध्यक्षले चलनचल्तीको बाटो घेर्न पाइँदैन भन्दै अर्ति बुद्धि दिए । विगतमा तारबार गर्न सहमति दिने बाङगेहरू पछि गएर आफैं बाङगो भएका रहेछन् ।
“पत्थर कुँदे मूर्ति,पूजे देवता बन्छ” भन्ने कुरा शायद तपाईंलाई त थाहै होला । एकजनाले अस्ती मलाई भन्थ्यो, भारतीय प्रख्यात जादुगर पि.सि सरकारले त जादुले गिलास, रुमल गायब गरिदिन्छ । अनि मैले मेयर साहेबको पक्षमा वकालत गर्दै भनेँ—राजेशमानले त घर,भवनलाई नै छुमन्तर गायब गरिदिन्छन् । गिलास गायब गर्ने जादुगर ठूलो कि घर–भवन गायब गरिदिने हाम्रो मेयर ठूलो जादुगर ? जादुगर सइयाँ, पकड मेरे बहियाँ” भन्ने थुप्रै छन् ।
कतिपयले तपाईंको आचरण मेयर होइन, सुप्रिमो जस्तो छ रे । यो सुप्रिमो के हो ? अवकाशप्राप्त कर्मचारीलाई धेरै नझलाउनुस् । बकाया भुक्तानी दि दिनुस् । पदबाट विदा भएपछि कतिपय नेताहरूको हाल “कौन पूछे, खेसारी के दाल” जस्तै भयो रे । साहेबले त्यस्तो बदनसीबी भोग्नु नपरोस्।अर्थात्, राजाबाट रंक । दुई चिज छ मेयर साहेब, नेताहरूले कि ताली पाउँछन् कि गाली । तर तपाईंको भागमा तालीको सट्टा गाली नै किन ? छोटा जुत्ता, बडा पैर नगर्नुहोला । वीरगञ्जलाई कोलाहलको महानगर नबनाउनु होला । मेयर भए पनि तपाईं ङिच्च दाँत देखाएर बेताल बत्तिसी देखाउँदा मलाई “अरे वाह” भन्न मन लाग्छ ।खाडी मुलुकझैँ तेल, पेट्रोल, डिजेल खर्च गर्ने तपाईंको रवैया काबिले तारिफ छ । बेचारा सर्फुदिन भाई “खाई न पाई छालाको टोपिलगाई” ।
महानगरपालिका कहिले भर्ती केन्द्र त कहिले कर्मचारी निष्कासन केन्द्र किन ? यो अख्तियारवाला किन यतै मात्रै दौडाहामा रहन्छन ? सम्झाई बुझाइ गर्नुहोला, विरगंज नपठाउनु । अस्ती मेयर साहेबका नयाँ शुभचिन्तकले मलाई सोधे “मेयर साहेब के धन्धा पहिले कथि रहे ? मैले ”रामजाने” भन्दै छुटकारा पाएँ । राम्रो गरे कि नराम्रो गरे, साहेब । अहिले हिन्दीमा ‘धुरन्धर’ भन्ने हिट फिल्म रिलिज भएर धुम मच्चाएको छ ।
मैले त धेरै पहिलेदेखि हाम्रो मेयरलाई ‘धुरन्धर’को ट्याग, तमगा, पदवी दिएको थिएँ।
मेयर साहेबसित इजाजत नलिएर पत्र लेख्ने दुस्साहस गरेको छु । इजाजत पछि दिनु होला । बाप बडा ना भैया सबसे बडा रुपैया । हेर्नुस त सडक भाचेर हेटौंडाबासीलाई सास्ती छ, तपाईंहरूको कृपाले वीरगञ्ज मेनरोडवासीलाई मस्ती छ ।
पहिलो स्थानीय निर्वाचनमा तपाईंलाई हराउने, दोस्रो स्थानीय निर्वाचनमा तपाईंसित पराजय भएका विजय सरावगीसँग अचेल “भरत मिलाप” हुन्छ कि हुँदैन ? बकवास गर्नेहरू त के–के भन्छन् के–के । वीरगञ्जका थुप्रै मेयरहरू इतिहासका पानामा विलिन भए । पशुपति घोष, केसर मानन्धरहरूलाई त वीरगञ्जले बिर्सियो । तपाईंको के बिसात ? हिन्दीमा एउटा किताब पाइन्छ, “करिश्माई मेयर” पढ्नुहोला ।
आजलाई यत्तिकै।
उही, कुमार दाइ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.