Home » Blog » विरगंजमा कहिले ?

विरगंजमा कहिले ?

Ankushdaily
0 comment 36 views
(स्तम्भकार कुमार रुपाखेती)
रक्सौल शहरलाई जाम र अतिक्रमणबाट जोगाउन रक्सौल नगरपरिषद प्रशासनले सशक्त र जोरदार अभियान चलाएको छ । रक्सौलको मेनरोड, कौड़ीहार चौक, डंकन रोड, कोइरीया टोल, रेलवे रोड आदि सबै क्षेत्र जाम र अतिक्रमित रहेकोले सधैं भागदौड र धमाचौकड़ी रहन्थ्यो । तर अस्ती शुक्रबारदेखि प्रभावशाली, कठोर कदम चालेर रक्सौल नगरपरिषदले २४ घण्टामै जाम र अतिक्रमणलाई सफाचट गरेर रक्सौललाई चिटिक्क परेको साफसुथरा शहरमा परिणत गरेको छ ।
रक्सौलमा धेरै पहिले देखि नै फुटपाथ र सडक कब्जा गरेर व्यापार गर्ने, ठेला खोम्चा लगाउने, जथाभावि पार्किङ गर्ने चलन थियो । प्रशासनकै मिलिभगतमा त्यहाँ सडकमा अवैध सटही काउन्टर, अस्थायी फुटपाथ पसल, खानेपिने सामानको ठेला र सडकमै हाट बजार लाग्नाले शहर कुरूप र फोहोर देखिन्थ्यो । स्थायी पसलेहरूले समेत फुटपाथसम्म पसल बढाएर धडल्ले, निर्धक्क खरिद बिक्री गर्थे । यसअघि समेत रक्सौल नगरपरिषदले देखावटी कदम चाल्ने र नाटकीयरुपमा तत्काल अतिक्रमण भइरहन्थ्यो ।
अहिले पनि बिहारका उपमुख्यमन्त्री सम्राट चौधरी रक्सौल भ्रमणमा आउने भएकाले मन्त्रीलाई काम देखाउन, स्याबासी पाउन तदारुकता देखाइएको चर्चा छ । ठूला नेताहरूको रक्सौल आगमनको चर्चा चलेपछि त्यहाँको प्रशासन चलायमान हुने र ठूला नेता फर्किएपछि टाँय–टाँय फिस्स ।
वास्तवमा रक्सौल जाने जो–कोहीलाई पनि नर्कमा आएजस्तो हुने, निस्सासिने, लुगाभरि धुलो लाग्ने र थकान महसुस हुने गर्दछ । रक्सौल–विरगंजको दूरी तिन किलोमिटर भए पनि जाममा फस्दा त्यहाँबाट यहाँ आउन घण्टौ लाग्छ । काठमाडौं, हेटौडा, नारायणघाट, पोखराबाट विरगंज आउनेहरू रक्सौल अवश्य पुग्छन् । झन् नेपाली महिलाहरूको पहिलो रोजाइ रक्सौल बजार अनिवार्य हुन्छ । कतिपय नेपालीहरू त रेलगाडी हेर्न, टाँङगा, घोडागाडी हेर्नसमेत रक्सौल भ्रमण गर्दछन् । बिहारका उपमुख्यमन्त्री रक्सौल एयरपोर्टको निरीक्षण गर्न र अन्य कार्यका लागि रक्सौल आउने चर्चा थियो तर कार्यक्रम स्थगित भयो ।
रक्सौलबासीहरू रक्सौलको फेरिएको मुहार देखेर हर्षित छन् । सधैं यस्तै साफसुथरा रहोस् भन्ने चाहन्छन् । शायद रक्सौल बिहारसित टास्सिएकोले हाम्रो विरगंजमा समेत पान–गुट्खा खाएर जथाभावि थुक्ने, सार्वजनिक स्थानमा चुरोटको धुवाँ उडाउने, जथाभावि शहरमा सडकमा फोहोर फाल्ने, फुटपाथलाई बपौती सम्पत्ति ठान्ने, जथाभावि पार्किङ गर्ने, निर्माण सामग्री सडकमा जम्मा गर्ने, मनपर्दा मलमूत्र त्याग गर्ने, फुटपाथमा बसेर धन्दा चलाउने, अस्थायी पसल चलाउने, धन्दा बेरोकटोक चालु छ ।
वीरगंजको घण्टाघर, मिना बजार, माईस्थान चौक र मेनरोडमा समेत स्थायी पसलेहरुले फुटपाथसम्म पसल पसारेर व्यापार गर्दा पनि महानगरपालिकाले अनदेखा गरेको बुझिन्छ । आफ्नै स्वामित्वको बी.पी. उद्यान कब्जामुक्त गर्न हम्मे–हम्मे परेको महानगरपालिकाले सार्वजनिक सडक, फुटपाथमा हुने अवैध कारोबार बन्द गराएर सार्वजनिक सडक, फुटपाथलाई कब्जा मुक्त र अतिक्रमणकारीहरु संग जोगाउन सक्ला जस्तो लाग्दैन ।
रक्सौल नगरपालिकाले २४ घण्टामै जाम र अतिक्रमण साफ गरिदियो । तर ठीक यसको विपरीत विरगंज महानगरमा मेनरोडमै फुटपाथ मिचेर व्यापार गर्ने चलन बढ्दो छ । आफ्नो कार्यकालको सुरुआतमा मेयर राजेशमान सिंहले “जोशमे होश नहि” अथवा “नयकि घोडी चाल देखावे“ स्तरमा फोहोर जथाभावि फाल्नेलाई नगद जरिवाना गर्ने, फुटपाथ र सडकलाई अतिक्रमणबाट जोगाउने आदि ईत्यादि राम्रो,नराम्रो सबै काम गरे । प्रारम्भमा स्याबासी पनि कमाए । तर अहिले उनको जोश ठण्डा भएको देखिन्छ ।
मेयर साहेब ठण्डाएपछि व्यापारीहरू सडक फुटपाथमै व्यापार गर्न जोशिएका छन् । सडक जाम र फुटपाथ कब्जा भएपछि सडकबाट हिँड्न विवश महानगरवासी दुर्घटनाको शिकार भएका छन् । तर कही नभएको जात्रा हाँडी गाउँमा भनेझैं ठाउँ–ठाउँमा ‘वैभव विरगंज’ भन्दै मेयरको फोटो तस्विरसहितको प्रचार बोर्डहरू अवैध कारोबारीहरूले जिस्क्याइरहेको देखिन्छ । भनिन्छ साहेब मौनव्रतमा छन् । तै चुप मै चुप छन् ।
त्यसैले त म भन्छु विरगंजमा कहिले ? रक्सौलले विरगंजलाई उछिन्दा लाज लाग्ला है । खरायो र कछुवाको रेसमा झै उल्टो परिणाम नआओस् । “वाह वाह रक्सौल, छ्या विरगंज” भन्न नपरोस् साहेब । रक्सौलको वास्तविक नाम फलेयरगंज थियो । उता फलेयरगंज यता विरगंज । पत्याउनुहोस् न पत्याउनुहोस् अहिले यो जाडोमा विरगंजमा लामखुट्टेको बिगबिगी बढेको छ । रक्सौलमा लामखुट्टे घटेको छ । बढ्दो लामखुट्टे, झिँगा र हैजाको प्रकोपले हाम्रो सरसफाइ र प्रदूषणको पोल खोलेको छ । सफा हराभरा विरगंज, वैभव वीरगंज “दूरके ढोल सुहावन“ जस्तै हो यार । गया गया गया तो गया हि रह गया । यसको जवाफ साहेबलाई पनि शायद थाहा छैन होला ?
“छपराके छतमे छ दिन से छ, छुछुन्दर छछुवा रहा था।” यसको मतलब के हो साहेब ?

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.