Home » Blog » कुकुरको पुच्छर, लौरो न हतियार

कुकुरको पुच्छर, लौरो न हतियार

Ankushdaily
0 comment 17 views
(स्तम्भकार कुमार रुपाखेती)
अहिले ठूला राजनीतिक दल भनिनेहरूको हविगत “कुकुरको पुच्छर, लौरो न हतियार” जस्तै छ । गैरसांसदहरूको बलियो सरकार छ, कांग्रेस,एमालेलाई झुकाएर आम निर्वाचन गर्दैछ । ठूला दलका ठूला नेतालाई फकिर साबित गरिएको छ, जेनजी आन्दोलनकारीलाई निम्ता दिँदा ठूला दललाई बाँयकाँट गरिएको छ । ठूला दल पनि “जति ढुङ्गोमा राखे पनि कुकुरको पुच्छर टेढो” जस्तै छन् । बेवास्तामा पर्दा समेत ओलीले सुसिला कार्कीलाई प्रधानमन्त्री नमान्ने, गौरी प्रधानको जाँचबुझ आयोगमा बयान दिन जान्न भन्दैछन् । अझ देउवासँग गलामा गला मिलाएर “संसद पुनर्स्थापना” रे । ओली र देउवा प्रवृत्तिको शासन र सरकारबाट बिच्किएका, निराश भएका जनताहरु आजकाल देउवा–ओलीको बयानबाजीभन्दा सुसिला कार्की सरकारका कुराहरूलाई ध्यानपुर्वक सुन्ने, विश्वास गरेको देखिन्छ । तलमाथि गरेर पुनःएमालेका अध्यक्ष बनेका ओलीप्रति आम जनतामा झनै आक्रोश बढेको महसुस हुन्छ । ओलीको लहलहैमा बग्ने देउवासित समेत आम जनता रुष्ट छन् । यही पर्सा जिल्लामा अस्ति होलसेलमा एमालेका नेताहरू प्रचण्डकोमा प्रवेश गरे, जसले गर्दा निर्वाचनको मुखमा एमाले पर्सालाई ठूलो झड्का लागेको छ । त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छनोटमा काखापाखा भएको भन्दै कांग्रेसको एउटा ठूलो जमात विद्रोहको बिगुल फुक्दैछ । युवा अवस्थामै अजय द्विवेदी जस्ता कार्यकर्ताहरूलाई आराम गर्न आदेश दिएको बुझिन्छ । विरगंजमा बिगतमा मेयर र सांसद पदले “दही दे दही” स्तरमा कांग्रेसले लिलाम गराएको पर्साली राजनीतिमा अझै पनि गहमागहमीको विषय रहेको छ ।
ओलीले गणतन्त्रकै सर्वनाश गर्दा समेत देउवा अझै उनैसँग हातेमालो गर्दै रमाएको विचित्र दृश्य देखिन्छ । ओली प्रधानमन्त्रीबाट हटेपछि “झर्ला र खाउला” भन्दै वेटिङ प्राई मिनिस्टर कुनै सम्भावना नहुँदा समेत ओलीले देउवालाई डोर्‍याएर एकतीरले “दो निशाना” गर्दैछन रे । पहिलो कुरा त के भने संसद पुनर्स्थापना भए देउवालाई प्रधानमन्त्रीको आश्वासन, दोस्रो ओलीतिर सोझिएको जनआक्रोशको तारो देउवा र कांग्रेसतिर सारेर एमालेलाई कम क्षति गर्ने वा बचाउने ।
सबैलाई थाहै छ, ओलीसँग सरकारले बयान न लिई “डामेको साँढे झै छुट्टा छोड्यो” भनि ओली र एमालेले निर्धक्क चुनाव प्रचार गर्ने अवस्था छैन । ओलीहरूलाई देख्नेबित्तिकै गारमाउने जमात बढेको छ । अनि कांग्रेसलाई समेत जनआक्रोशको सिकार बनाउन ओलि पटक–पटक देउवा निवास पुगेर “देउवा–ओली भाइ–भाइ” भन्ने चुनाव भाँड्ने रणनीतिमा छन् । उता झर्ला र खाउला भन्ने बानी लागेका देउवा पुनर्स्थापना भए प्रधानमन्त्री पदको र्‍याल चुहाउँदैछन् । कदाचित संसद पुनर्स्थापना भयो भने देउवा होइन मेरो पालो बाँकी छ भन्दै ओली नै प्रधानमन्त्री बन्ने दाउपेच छ । तर संसद पुनर्स्थापना “बिरबलको खिचडी” मै असम्भव नै छ । “ना नौ मन तोरी होई, ना राधा नाची” । कांग्रेस र एमालेभित्रै संसद पुनर्स्थापनाको विरोध र ताजा जनादेश अर्थात् आम निर्वाचनको चाहना देखाउनेहरू तलदेखि माथिसम्म प्रकट हुन थालेको छ । आफ्नो सिट ह्वात्त घट्ने देखेपछि ओलीले देउवासित देखावटी मितेरी साइनो जोड्न खोजेको कुरा न देउवाले बुझेका छन्, न कार्यकर्ताले बुझाउन सकेका छन् । ओलीहरू त अहिले कुहिरोको काग बनेका छन् । महाधिवेशनपछि एकता होइन अनेकतामा विभाजित छ एमाले । यो अनेकतालाई सम्हाल्न सक्ने क्षमता ओलीमा छैन । एमाले अब टुक्रे एमालेमा परिणत भएको छ । त्यसले देउवालाई समेत सति लाने रणनीति ओलीको छ । टुक्रे एमाले सिंगो कांग्रेसलाई नचाउँदैछ । यस्तो दुर्लभ दृश्य नेपालमा हुन्छ ।
जहाँसम्म पर्सा जिल्लाको कुरा छ, यहाँ मेयर, सांसद, विधायक जस्ता पदहरूमा जसपा नेपाल हावी छ । यो बेग्लै कुरा हो कि जसपा नेपालको एउटा सांसद, महानगरको दुई थान मेयर गण्डा-अण्डा साबित भए । यि तीनै जनाले आफैँलाई पार्टी गन्ने भूल गरे । विडम्बना हेर्नुहोस्, यी बिगडैल, कमजोर भगौडाहरू जसपा नेपालमा प्रवेश पाउन विन्ती बिसाउँदै “नगरे नगरे,द्वारे द्वारे” भौतारिँदैछन् । द्वारपाल र अठपहरियाहरूलाई पठाएर “दे दे राम, दिला दे राम” को माला जप्दैछन् । बरु अन्य दलका प्रभावशाली नेता आए टिकट दिने तर पार्टी भडुवाहरूलाई प्रवेश निषेध गर्ने उपेन्द्र यादव र लालबाबु राउतहरूले कासम नै खाएका छन् रे । “कसम पैदा करने वाले कि” भन्दै जसपा नेपालका कार्यकर्ताहरू पनि पुरानो राजनैतिक विरासत जोगाउन सक्रिय छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.