Home » Blog » हिजडे के हात में तलवार

हिजडे के हात में तलवार

Ankushdaily
0 comment 43 views

(स्तम्भकार कुमार रुपाखेती)

विज्ञानले जति सुकै विकास गरे पनि हिन्दुहरू ज्योतिष शास्त्रमा खुबै विश्वास गर्छन् । एउटा ज्योतिषीले “एक पल्ट फेरि प्रधानमन्त्री बन्नुहुन्छ” भन्दै देउवाको भविष्यवाणी गरेको कुरा भाउजुले सगर्व बताउने गरेकी थिइन् । कम्युनिष्ट ओली, प्रचण्डहरू समेत प्रधानमन्त्रीको रूपमा बालुवाटार प्रवेश गर्दा कालो बोका भाकल गर्ने, काट्ने र कुर्सीको दीर्घायुकालागि प्रभुको पुकारा गर्थे । यही सन् २०२६ मा नेपालमा प्रतिनिधि सभाको निर्वाचन फागुन २१ गते तोकिएको छ । परिवर्तित राजनीतिक माहौलमा सम्पन्न हुने यो निर्वाचनमा पुराना, रैथाने दलहरूले फलामको च्युरा चपाउनु पर्ने अवस्था छ । कतिपय पुराना दलहरू “सफाचट” नै हुने लक्षण देखिएको छ । कांग्रेस, एमालेकै राजनीतिक अवस्था “खाएके लाई, पादेके मिठाई” स्तरको छ । त्यसैले एकीकरणको नाटक रच्दै छ ।

हाम्रो पर्सा जिल्लामै कतिपय नेताहरूको अंग्रेजी नयाँ वर्षको ग्रह, नक्षत्र, गोचर खराब देखिन्छ । अब पर्साका जन्मजात गाछी छाप अजय द्विवेदीको ग्रह, नक्षत्र समेत नयाँ वर्ष २०२६ मा एकदमै खराब देखिन्छ । कारबाही त फुकुवा भयो तर टिकटको सिफारिसमा कहीँ कतै नामोनिशान छैन । कांग्रेसी महाधिवेशन कुरेर बसेका अनि उनको अवस्था “झर्ला र खाउँला” जस्तै छ । अर्का उम्मेदवारका आकांक्षी प्रदीप यादवको ग्रह, गोचरले समेत नराम्रो संकेत देखाएको छ । उनले सगर्व छाता छापमा फिर्ती भएको घोषणा गर्दासमेत जसपा पार्टी पर्साले प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा उनको नाम गायब छ । “शामको भुला सबेरे घर आए तो उसे भुला नहीं मानते” भन्न जसपा नेपाल तयार देखिँदैन । तर पनि भित्रभित्रै खासखुस र कानेफुसी चल्दैछ । प्रदीप यादवको अवस्था समेत द्विवेदी झै “इन्तु न चिन्तु, इधर जाए कि उधर जाए” जस्तै छ ।

त्यस्तै पर्सा क्षेत्र नं. २ बाट पूर्व सांसद राजेन्द्र बहादुर अमात्य र अजय कुमार चौरसियाबीच टिकटमा घमासान छ । अहिलेसम्म त दुवैको दिन दशा खराबमै देखिन्छ । बेचारा सुरेन्द्र चौधरीको समेत फाटेहाल अवस्था छ । ग्रह नक्षत्र खराब भएकैले होला उनको क्षेत्रमा प्रत्यक्ष उम्मेदवारहरूको हुजुम नै छ । कांग्रेसले आम निर्वाचनपछि महाधिवेशन गर्ने भएपछि धेरैको ग्रह, नक्षत्र झनै बिग्रिएको छ ।

यता रा.प्र.पा. एकीकरणपछि पर्सा क्षेत्र नं. २ मा राजीव पराजुली सम्भावित उम्मेदवार हुने चर्चा छ । विडम्बना हेर्नुस् पर्सा क्षेत्र नं. २ मा कांग्रेसको राम्रो संगठन छ । राजेन्द्र बहादुर अमात्यसँग निर्वाचनमा भिड्ने तागत पनि छ तर टिकट अधरमा लटकिएको छ । उता रा.प्र.पा.को संगठन अलि कमजोर छ तर राजीव पराजुलीले चाहेमा टिकट पाउने पक्कापक्की छ । चुनाव लड्ने तरिका, आँट र जाँगर समेत छ ।

पर्सा जिल्लामा अब उप्रान्त एमाले भनेको “खोदा पहाड निकला चूहा” जस्तै छ । यता मेयर राजेश मान समेत बिलबन्दमा छन् । प्रदीप यादव र राजेश मानको बेमेल जोडीलाई धेरैले “राम रहीम” को जोडी भन्छन् । जताजता प्रदीप यादव उतैउतै राजेश मान रे । जबकि अहिलेसम्म यिनको स्थायी बसेराकै ठेकान छैन । कहिले मुक्का छाप, कहिले जातो र अहिले छाता छापको अस्थायी हल्ला छ ।

बेचारा राजेश मानको राजनीतिक तबियत त सन् २०२५ को अन्त्यदेखि नै शनि ग्रहले पछारेको झै देखिन्छ । छपकैया बजार गुलजार हुनु अघि नै सुनसान बन्यो । विपक्षीहरू “हाय नागरिकता” भन्दै कानुनको ढोका खटखटाउँदै छन् । हिन्दुहरूको तेत्तीस कोटी देवीदेवता भए पनि राजेश मानले मान्ने देवता छुट्टै छन् रे । बेचारा गुरुको मर्नु अघि नै वडा नं. १० सिर्सियातिर समाधि स्थल समेत तयार छ रे ।

ग्रह, दशा खराब भएकाले कतिपय पर्सेली नेताहरूको सांसद, विधायक, मेयर पद “उडायो सपना सबै हुरिले” मा परिणत हुने देखिन्छ । ग्रह दशामा व्यथा लागेकाले पर्सा क्षेत्र नं. १ बाट एकल सिफारिसमा परेका अनिल रुँगटाको सिफारिसमा समेत ग्रहण लाग्ने प्रबल सम्भावना देखिन्छ । संक्षेपमा भन्ने हो भने फागुन २१ को निर्वाचन केहीका लागि “हिजडे के हात में तलवार” सावित हुँदैछ ।

हिन्दु सभ्यता र संस्कार अनुसार ग्रह दशा सुधार्न पण्डित, पुरोहितको शरण पर्ने थालनी समेत पर्सामा भएको छ । ग्रह, गोचर खराब भएकाले पूर्व मेयर विजय सरावगी समेत भविष्यमा एमालेबाट मेयरमा टिकट पाउने नपाउने दोधारमा छन् । फागुन २१ गतेको निर्वाचन परिणामले एमालेको हैसियत थाहा हुन्छ । सरावगीजी एमाले तिमी रहन्छौँ कहाँ, एमाले नै नरहे । शान्ति, शुद्धि, होम, हवन, पूजा–पाठ गर्नु यहाँहरूको हितमा नै होला, सबैको घण्टी बज्दैछ ।

केही दिनदेखि त मैले वीरगञ्जको ग्रह, दशा खराब देख्दैछु । साम्प्रदायिकताको बिगुल फुकेर रोटी सेक्नेहरू सलबलाएको देख्दैछु । अब वीरगञ्जकै ग्रह दशा खराब भएपछि यहाँ बसोबास गर्नेहरूको ग्रह दशा घण्टामा ठीक हुन्छ । हुन त यहाँका केही महानुभावहरू घण्टी घण्टी भन्दै भौतारिरहेको देख्छु । अहिलेसम्म त नेपाली राजनीतिमा कांग्रेस, एमाले, प्रचण्डहरू राजनीतिका शक्तिशाली बिरालो हुन् । अनि मुसाहरूले कसरी बिरालोको घाँटीमा घण्टी बाँध्ने हुन् ? अचम्मको विषय छ यो । इतिहासमा पनि मुसाहरूको समूहले धोरले बिरालोको घाँटीमा घण्टी बाँध्ने भने तर अन्तमा मुसाहरूको भागाभाग भएछ ।

फेरि पनि भन्छु “हिजडे के हात में तलवार ? मिल गया लाठी बन गया हवलदार” अब देउवा, ओलीको नसीबमा छैन । जेनजीहरूले ग्रह दशा बिगारिदिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.