Home » Blog » विशेष महाधिवेशन कि निषेध महाधिवेशन

विशेष महाधिवेशन कि निषेध महाधिवेशन

Ankushdaily
0 comment 18 views
(स्तम्भकार कुमार रुपाखेती)
आठ दशक अघि स्थापना भएको कांग्रेस अहिले किचलोमा फसेको छ । एकथरी विशेष महाधिवेशन सफल पारौँ भन्छन् अर्को थरी कांग्रेसीहरू निषेध गर्ने चक्करमा छन् ।
वि.सं. २०१२ साल माघ ९ गतेदेखि १३ गतेसम्म वीरगञ्जमा नेपाली कांग्रेसको छैठौँ महाधिवेशन भएको इतिहास छ । महामानव वि.पी. कोइरालाले सभापतिमा नलडेपछि सभापति पदमा सुवर्ण शमशेर राणा र सर्वोच्च नेता गणेशमान सिंह भिडे । सुवर्ण शमशेरले जिते, गणेशमान हारे । त्यतिखेर वि.पी.ले गणेशमानलाई सघाएका थिए । यसै विवादलाई लिएर वि.सं. २०१४ साल जेठ १० गते कांग्रेसको विशेष अधिवेशन विराटनगरमा सम्पन्न भयो । यही विशेष महाधिवेशनले बि.पी. कोइरालालाई सर्वसम्मत सभापति चयन गर्‍यो । त्यतिखेर मुलुकमा श्री ५ महेन्द्रको विगविगी थियो ।
अहिले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले विशेष महाधिवेशन आह्वान गर्दैछन् तर महेन्द्र पुत्र ज्ञानेन्द्रको सोधखोज गर्न कोही छैन । सबैलाई थाहै छ कांग्रेसले आन्तरिक कलह व्यवस्थापन गर्न नसक्दा विशेष महाधिवेशन र नियमित महाधिवेशनको च्याँखे दाउ थापिएको छ । आम निर्वाचनको संघारमा प्रकट कांग्रेसी कलहले अन्ततः कांग्रेसलाई नै घाटा पुग्ने देखिन्छ । विशेष महाधिवेशन र निषेधको चक्करमा फसेका कांग्रेसीहरूबीच कित्ताकाट भइसकेको छ । यसको दुष्परिणाम फागुन २१ गतेको आम निर्वाचनमा देखिने पक्कापक्की भए पनि दुवै पक्ष गलेका छैनन् । विगतमा समेत पर्सा जिल्लामा कांग्रेसी कलहले पर्सा क्षेत्र नं. १ को सांसद पद र महानगरको मेयर पद गुमाएको थियो ।
कांग्रेसका केही हस्तीबाहेक एमालेका ओलीले समेत देउवालाई चनाको झाडमा चढाउँदै आएको आरोप छ । कदाचित कांग्रेस एक भएनन् भने धेरै हदसम्म एमालेलाई फाइदा हुन्छ भन्ने कुरा कांग्रेसी मित्रहरूले बुझ्न जरुरी छ । जय नेपाल ।
कहिले ओलीकोमा, अहिले प्रहरीमा ?
आफ्नो गल्ती कमजोरीको बीच बचाव गर्न नेताहरू विभिन्न शक्तिकेन्द्रहरूमा डिन्च्च दाँत देखाउँदै दर्शन भेटमा जाने पुरानै परम्परा हो । विरगञ्जका मेयर राजेशमान बलेको आगो ताप्न खप्पिस छन् । उनले सानो ठूलो, भयंकर के गल्ती, अपराध गरेका छन् त्यो त मलाई डिटेल थाहा भएन । तर उनले कुनै न कुनै कसुर गरेकोमा म विश्वस्त छु । आगो नलागी धुवाँ आउँदैन । गल्ती नगरे शक्तिकेन्द्र धाउनु पर्दैन । चोरको खुट्टा काट भन्दा खुट्टा तान्नु पर्दैन ।
कसुरदार नभएको भए कहिले ओलीको चाकडीको तस्बिर त कहिले प्रहरीमा लेफ्ट राईट गरेको तस्बिर फेसबुकमा किन राख्थे ? के यस्ता हावादारी फेसबुके तस्बिरले कसुरदारलाई बेकसुर साबित गर्न सक्छ ? बुद्धिमा वीर्को लागेपछि के गर्ने । उहिले उहिले “न्याय नपाए गोर्खा जानु” भन्थे । अचेल सायद गोर्खाको परिभाषा चेन्ज भएछ क्यारे । आफ्ना मातहतका जुनियरहरूसित आफू “स्पष्ट र निडर मान्छे” भन्दै आफ्नो बडप्पन आफैँ बघार्ने मेयर शक्तिकेन्द्रका सामु भिजेको बिरालो झैँ प्रस्तुत हुन्छन् । असफल र आधा अधुरा काम गर्न वीरगञ्जका मेयर नामुद मानिन्छन् । गानिमत छ वीरगञ्जका ढुलमुले कांग्रेसीहरूले साहेबलाई भितरिया राजनैतिक सहयोग गरेकै छन् । मद्दत गर्न होइन, मद्दत लिन साहेब उस्ताद नै छन् । उनको मोहजालमा फस्ने कांग्रेसी थुप्रै छन् । यस्ता कांग्रेसीहरूलाई मेरा पनि “जय नेपाल” छ । बहुरुपियाहरुले नाजायज कर्तुत पर्दाफास हुन दिँदैनन् । कांग्रेसीहरू तमासा देखाउन त्यसै पनि घुरन्धर हुन्छन् ।
“नायक नहि, खलनायक है तू” भन्ने क्षमता नभएकाले पर्सामा कांग्रेसले जनविश्वास गुमाएको पनि छ । राजेशमान र केही कांग्रेसीहरूको गठजोड “किन र कसरी” मेरो भेजामा घुसेको छैन । अब देख्नु भएन १९ वर्षअगाडिको गौर हत्याकाण्डको फाइल फेरि खोलिएको छ । २०६३ सालमा राजनीतिको आवरणमा गौरमा ठूलो नरसंहार भयो । हाउगुजी बनेर यो घटनाले धेरैलाई तर्साउँदैछ । विभत्स गौर हत्याकाण्डको उपेन्द्र यादवले भर्त्सना पनि गरे ।
तर पनि तिर उनीतिर सोझिएको छ । गाडा मुर्दा उखाड्न सकिन्छ भन्ने यो जवलन्त नमुना हो । त्यसैले “सैयाँ भए कोतवाल, अब डर काहेका” भन्ने माहौल छैन । मेयर साहेबलाई चेतना भया कि भया । सबै समस्याको उपचार, समाधान रुपैयाँ पैसाले हुँदैन, त्यसो हुने भए राजाहरूले किन गद्दी त्याग्थे ? “बाप बडा ना भैया, सबसे बडा रुपैयाँ” सिनेमाको स्क्रिनमा मात्र प्रभावशाली लाग्छ । रियल लाइफ र रिल लाइफको फरक यही हो । नेपाल कानुनी राज्य हो, सबैले कानुनमा विश्वास गरौँ । भगवान के घर मे देर है अंधेर नहि।
गधा पच्चिसी
उमेर २५ वर्ष पुगेपछि मान्छेको बुद्धिबंगारा पलाउँछ रे । उमेर १५ लाई गधा पच्चिसी पनि भनिन्छ । अहिले मुलुकमा बुद्धिबंगारा भरखर पलाएको र दाँत सबै झरेर थोते भएका वृद्ध नेताहरूबीच घमासान छ ।
गधा पच्चिसीहरूले होस्टै हैसे भन्दै एकैरातमा ओली,देउवा जस्ता वृद्धहरूको सरकारलाई उखाड फ्याँकेपछि भिडन्त झन् रोचक घोचक बनेको छ । गधा पच्चिसी उमेरकालाई आधुनिक भाषामा जेनजी भनिन्छ भने ओली, देउवा, प्रचण्डहरूलाई ज्येष्ठ नागरिक (आराम गर्ने उमेरका) भनिन्छ । हिजो ओली,देउवा जस्ता वृद्धहरूले धमाचौकडी मच्चाए अहिले एकाएक गधा पच्चिसी जेनजीको हल्लाबोल छ । सुशीला कार्कीसमेत गधा पच्चिसी जेनजीहरुको आदेश तामेल गर्न विवश छिन् । आम नागरिकसमेत वृद्ध नेताहरूको सट्टा गधा पच्चिसीहरूको गफमा रमाउन थालेका छन् । गधा पच्चिसीहरूबाट खेदिएका, डराएका ओलीसमेत सुशीला कार्कीलाई “वैध” भन्दै भेटघाट गर्न बाध्य भएका छन् ।
आयोगमा बयान दिन्न, सुशीलालाई प्रधानमन्त्री मान्दिनँ, जेनजीहरू अराजक समूह भन्दै आएका ओली एकाएक सरेन्डर गर्दै गधा पच्चिसीहरूलाई रिझाउन खोजेको देखिन्छ । जेनजी आन्दोलनपछि उखानटुक्का सम्राट ओलीले उखान टुक्का फलाक्नै बिर्सिए । अब त यस्तो लाग्न थाल्यो कि “आसमान से गिरा खजुरमे अटका” भनेझैँ थोते बुढाहरूको उत्पीडनपछि नेपाल र नेपालीले गधा पच्चिसीहरूसँग माथापच्ची गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.