Home » Blog » लालबाबु, गुलाम बाबु, सलाम बाबु – धत्तेरिका ।

लालबाबु, गुलाम बाबु, सलाम बाबु – धत्तेरिका ।

Ankushdaily
0 comment 89 views

(स्तम्भकार कुमार रुपाखेती)

ज.स.पा. नेपाल पर्सामा घुमन्ते राजनीति गर्नेहरूले एकपल्ट फेरि हायतौबाको सायरन बजाउन थालेका छन् । पर्सा जिल्लामा विगतका निर्वाचनहरूमा अव्वल प्रदर्शन गर्दै ज.स.पा. नेपालले पटक–पटक महानगरको मेयर, विधायक, सांसद पदमा शानदार विजय हासिल गर्दै आएको हो ।

“कुकुरलाई घ्यु नपचे” झै आफूलाई होनहार भन्दै कतिपयले विजयमाला पहिरिएपछि ज.स.पा. नेपाललाई टाटा बाइबाइ गर्दै अन्य दलहरूलाई अँगालो हाल्न पुगे । दल बदलका लागि बदनाम अनुहारहरू अहिले कतै शरण नपाएपछि पुनः ज.स.पा. नेपालको दरवाजा खटखटाउन सक्रिय भएका छन् । घुमन्ते राजनीति गर्ने उस्तादहरू अहिले ज.स.पा. नेपालको केन्द्रीय कार्यालय काठमाडौंमा भेला भएर “जय मधेस” भनेको दृश्यले “हग्नेलाई भन्दा देख्नेलाई लाज” लाग्न थालेको छ । मधेसको होइन, आफ्नै अस्तित्व (विरासत) समाप्त हुने चाल पाएपछि यस्ताहरू फेरि एकपल्ट उपेन्द्र यादव, लालबाबु राउतलाई माइ–बाप मान्न रेडी तैयार देखिन्छन् । पार्टी तोडुवा यिनीहरूले लालबाबुको नाम गुलाम बाबु राखेका थिए । तर तिनै गुलाम बाबु अहिले यिन्को मसिहा बनेका छन् । तर जथाभावी मात्तिने, पात्तिने यस्ताहरूलाई ज.स.पा. नेपालले “दर दरको ठोकर” खुवाउने नीति लिएको देखिन्छ । लालबाबु, गुलाम बाबु अहिले सलाम बाबु—धत्तेरिका।

केही अघि सम्म मुक्का छाप भन्दै प्रदीप यादव, राजेशमान कुर्लेर हिँड्थे । ज.स.पा. नेपाल परित्याग गरेपछि अस्तित्वविहीन बनेका यिनीहरूले देर सबेर, अबेर, आफूहरू राजनीतिको फुटपाथमा पुगेको आभास गरे । अनि “मरता क्या नहि करता” स्तरमा काठमाडौंमा जमघट लगाएका छन् । “आव देखा न ताव” शैलीमा काम गर्नेहरूको हैसियत वास्तवमा “घरको न घाटको” हुने इतिहास नै छ । व्यक्तिवादी, हैकमवादी राजनीति गर्न पल्केकाहरू “चार दिनकी चाँदनी, फिर अँधेरी अँधेरी रात” झै अँध्यारोमा विलिन हुँदै जान्छन् ।

ज.स.पा. नेपाल छाता छापको मधेसमा अच्छा पकड छ भन्ने कुरा यहाँका बच्चा–बच्चालाई थाहा छ । छाता छापका राजेशमानले सूर्य छापका विजय सरावगीलाई मेयर पदमा फराकिलो मतले हराउनुमा छाता चिन्हको महत्वपूर्ण भूमिका थियो । छातामा नभएको भए राजेशमानको राजनैतिक औकात नै के थियो र ? छाता चिन्हबाहेक मेयर पदमा पुनः जितेर मर्दानगी देखाउने हैसियत राजेशमा छ र ? “हाय घोटाला–हाय घोटाला” गर्दै समेत विगतमा छाताको छायाँले बाँचेका मेयर राजेशमान अहिले “ओरालो लागेको मृगलाई बाच्छोले पनि खेदछ” को अवस्थामा छन् । गैईल–गुजरल तरिकाले राजनीति गर्ने, आफैं बसेको रुखको हाँगा काट्ने यस्ता कालिदासहरूलाई मैले के सम्झाउने । ज.स.पा. बाट पटक–पटक सांसद, मन्त्री बन्ने सौभाग्य पाएका प्रदीप यादवबारे मैले किन बोल्नु पर्यो । फेसबुकमा कमेन्ट हेर्नुहोस् र प्रदीप यादवको हरिविजोगबारे जानकार बन्नुहोस् । राजेशमान, प्रदीप यादवले ज.स.पा. नेपाल परित्याग गर्दा पार्टी कमजोर हुन्छ भन्ने भ्रममा थिए । तर स्वयं कमजोर, लाचार भए । ज.स.पा. रुपी समुद्रको एक लोटा पानी पनि साबित भएनन। जसपा नेपाल त्यागेका जयप्रकाश गुप्ता, विजय गच्छेदारजस्ता हस्तीहरू समेत इतिहासको पानामा विलाए । अनि टुप्पोबाट पलाएकाहरू ……को हैसियत कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ ।

अहिले निर्वाचनको सिजन हो । एकता, गठबन्धन, घरफिर्ती सवारी, पार्टी परिवर्तन, नयाँ पार्टीको सिलसिला बेरोकटोक घडल्लेले चालु छ ।मतदाताहरूमा पुराना दल कांग्रेस, कम्युनिस्टप्रति भडासको वातावरण छ । “नयाँ नौ दिन, पुराना सौ दिन” भन्ने जमाना रहेन । राजनैतिक विचार, सिद्धान्त र निति आदर्शलाई “बकवास” बनाइएपछि पुराना राजनैतिक दलहरूप्रति वितृष्णा बढेको छ । त्यसै “मिल गया लाठी, बन गया हवल्दार” पारामा काम गर्न प्रदीप, राजेशजस्ता पात्रहरूले गर्दा समेत पर्सेली राजनीतिमा उल्टो हावा बग्न थालेको छ । तर तराई र पर्साकै यो शीतलहरीमा समेत जसपा नेपालको नयाँ भर्ती र निष्कासनको हल्लाले गल्ली कुनाकाप्चाको चिया अड्डाको गरमागरम बहसको विषय बनेको छ । नयाँ भर्ती हात लाग्यो शून्यमा हुन सक्छ भन्दै चियागफ गरेको पनि सुनियो । हाय रे घुमन्ते राजनिति । नयाँ भर्ती र सुनको गहनाको जर्ती उस्तै उस्तै हो रे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.