Home » Blog » ३०४ औं पृथ्वी जयन्ती र वीरगञ्ज

३०४ औं पृथ्वी जयन्ती र वीरगञ्ज

Ankushdaily
0 comment 32 views
(स्तम्भकार कुमार रुपाखेती)
नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाहको ३०४ औं जन्मजयन्ती वीरगञ्जमा समेत विभिन्न राजावादी समूहहरूले अलग अलग,टुक्रा टुक्रामा बाँडिएर मनाएको देखियो । गणतन्त्र नेपालका ठूला दल कांग्रेस, एमाले, माओवादीहरूले आफ्नै दलभित्रका सदस्यहरूलाई सन्तुष्ट राख्न नसक्दा दलहरू टुट्ने फुट्नेक्रम जोरशोरमा छ । टुटफुट र गुटमा सीमित वर्तमान नेपालमा पृथ्वी नारायण शाहको नेपाल एकिकरणले छुटै सन्देश दिएको छ ।
चौबीसे राज्यमा विभाजित क्षेत्रलाई एकीकरणले गर्दै नेपाल बनाउने पृथ्वी नारायण शाह वास्तवमै महानायक हुन । उनका दिव्य उपदेशले मुलुकले अझै पनि मार्गनिर्देशन पाएको मानिन्छ । केही समय अघि चर्चित पत्रकार भुषण दाहालले पृथ्वी नारायणबारे सोधखोज गरिरहेका यक्ष अधिकारीसँग लिएको अन्तर्वार्ता अहिले नेपालभरि चर्चामा छ । पृथ्वी नारायण शाहका दिव्य उपदेशको यक्ष अधिकारीले अब्बल व्याख्या गर्नुका साथै पृथ्वी नारायणसम्बन्धी सनसनी खेजकुराहरू पनि वर्णन गरे । नेपालका शाहवंशीय राजाहरूमा पृथ्वी नारायण शाहको छुट्टै गरिमा र सर्वोच्चता छ । त्यसैले त ३०४ वर्ष पनि यी राजमहर्षिलाई नेपाली समाजले छुट्टै पहिचान, सम्मान दिएको छ । राजाहरूका राजा महाराजा थिए पृथ्वी नारायण शाह ।
तर उदेकलाग्दो कुरा त के भने वीरगञ्जमा पृथ्वी नारायण शाहलाई सम्झिनेहरूले स–साना टुक्रे समूहमा उनको बखान गरेको देख्दा राजावादीहरू छिन्नभिन्न र खिन्न छन् भन्ने सन्देश गएको छ । रा.प्र.पा. हलो छाप, राष्ट्रवादी समूह, हरि वडा चन्द्रको होटल सम्झनाबाट आएको अलि ठुलै जुलुस, जनक साह आदिले छुट्टाछुट्टै कार्यक्रम गरेर पृथ्वी नारायण शाहको नेपाल एकीकरणको खिल्ली उडाएको र उनको दिव्य उपदेशको मजाक उडाएको महसुस भयो ।
२०३७ सालको जनमत संग्रहमा सुधारिएको पञ्चायतको पहेलो रंगले पर्सा जिल्लामा बम्पर भोट ल्याएर बहुदलको हरियो रंगलाई पराजित गरेको थियो । तर बम्पर भोट ल्याउने पहेलो रंग अहिले पर्सामा खुइलिएको अनुभव भयो । एकै सरहको ढाका टोपी लगाएर, राष्ट्रिय झण्डा हल्लाउँदै, पञ्चे बाजा बजाउँदै, पृथ्वी नारायण शाहको आदमकद तस्वीर अगाडि राखेर प्रदर्शन गरिएको जुलुसले सहभागीहरू अनुशासित, मर्यादित भएको सन्देश त दियो । तर सहभागी संख्या न्यून भएकाले खल्लो महसुस भयो । राजेन्द्र लिङ्देन, कमल थापाको रा.प्र.पा. नेपाल, राष्ट्रिय झण्डा, चुनाव चिन्ह हलोको साथ पुराना नेता पूर्व मेयर प्रदीप सुवेदी, अरुण श्रेष्ठ, किरण डंगोल, अंगदजी आदि उपस्थित थिए । तर अलग–अलग कार्यक्रम देखेर पूर्व मेयर प्रदीप सुवेदी आगबबुला भए । तपाईंहरू सबै मिलेर एउटै झण्डामुनि किन जम्मा नभएको, किन स-साना जुलुस अलग्गै गरेको भन्दै आयोजकहरूसित जंगाीदै थिए । रा.प्र.पा.का अर्का नेता अरुण श्रेष्ठको चाहना पनि एक भई मनाउने रहेछ । रा.प्र.पा.का ईनागिना चुनावबाहेक नवप्रवेशी नन्दु श्रीवास्तवहरू कतै सहभागी देखिएनन् । टुटफुट र गुटको तरिकाले रा.प्र.पाले वीरगञ्ज पर्सामा कसरी निर्वाचनमा आफ्नो बीउ जोगाउला भन्ने प्रश्न उठेको छ । पौष २८ गतेको जुलुस सामूहिक रूपमा निकालिएको भए पर्सामा एउटा राजनैतिक चुनौतीको सन्देश जान्थ्यौ । यसमा राजावादीहरू चुके।
मुलुकभरि नै राजावादीहरूले राजनैतिक रूपमा अपमान र चुनौती सामना गर्दै आएका छन् । २०४६ सालको आन्दोलनपछि बहुदलवादीहरूले राजावादीहरूलाई पञ्चे, मण्डले, कुण्डले भन्दै राजनैतिक संस्कारहीन व्यवहार गर्दै आएका थिए । रा.प्र.पा.ले क्रमशः यस्ता भ्रमहरू तोड्दै राष्ट्रिय राजनीतिमा आफ्नो पहिचान स्थापित गरिरहेको छ । टुटफुट र गुटको राजनीतिले राजावादीहरू उभोलाग्न नसक्ने, जमाएको विरासतसमेत गुम्न सक्ने भएकाले नेपाल एकीकरणका नायक पृथ्वी नारायण शाह समर्थकहरूले एकढिक्का हुनु जरुरी छ । बडा महाराजाधिराज पनि भनिन्छ, पृथ्वीलाई ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.